सिनेमा

‘पठान’द्वारा कीर्तिमानको ओइरो, पहिलो दिन नै कमायो १ सय ६ करोड

इकागज |
माघ १२, २०७९ बिहिवार १८:१० बजे

मुम्बई - ‘बायकट ट्रेन्ड’ र शाहरुख खानको खस्कँदो स्टारडमबीच रिलिज भएको ‘पठान’ले कस्तो व्यापार गर्ला भन्ने धेरैलाई उत्सुकता थियो । तर विवादको चुलीका बीच रिलिज भएको फिल्मले व्यापार पनि सोही अनुपातमा गरेको छ । सिनेमाको व्यापारका बारेमा लेखिरहने तरन आदर्शले पहिलो दिन मात्र शाहरुख खानको यो फिल्मले विश्वभरबाट १ सय ६ करोड कमाइ गरेको आँकडा प्रस्तुत गरेका छन् ।

पहिलो दिननै सय करोड बढीको व्यापार गर्ने क्रममा फिल्मले भारतमा नयाँ कीर्तिमान पनि बनाएको छ । ‘पठान’ले पहिलो दिन नै ५५ करोड हाराहारी व्यापार गर्दै पहिलो दिनको कमाइमा रेकर्ड राखेको हो । यसअघि यो रेकर्ड ‘केजीएफ २’को नाममा थियो । ‘केजीएफ २’ले पहिलो दिन ५३ करोड कमाएको थियो । अझ ‘पठान’ले बिदा विनाको रिलिजमा यो अनुपातमा कमाइ गरेको हो ।


कीर्तिमान बनाउने क्रममा ‘पठान’ले पहिलो दिन विदेशबाट मात्र ३७ करोड हाराहारी कमाइ गरेको बताइएको छ । फिल्मले दर्शकसँगै समीक्षकबाट पनि तारिफ पाएको छ । बनेको विधामा फिल्म इमान्दार रहेको र दर्शकलाई मनोरञ्जन दिलाउन सफल भएको समीक्षकको टिप्पणी रहेको छ । फिल्ममा शाहरुखसँगै जोन अब्राहम र दीपिका पादुकोन पनि मुख्य भूमिकामा रहेका छन् । 
 


Author

थप समाचार
x