सिनेमा

छैटौं निफ चैत २ देखि ६ गतेसम्म, छानिएका फिल्म क्युएफएक्सका हलहरुमा

इकागज |
माघ १२, २०७९ बिहीबार ९:३० बजे

काठमाडौँ-  छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०)सम्म आयोजना हुने  भएको छ । बुधबार होटल अरन्या बुटिकमा एक समारोहकाबीच फेस्टिभलको मिति घोषणा गरिएको हो ।  

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा अतिथिहरु नीर शाह, नवराज केसी, गौरी मल्ल, ऋषि धमला, दीपाश्री निरौला, निर्मल शर्मा, प्रसंसा पाण्डे, रेजीना उप्रेती, सरिता गिरी, गोविन्द गौतम र इन्द्र बलामी रहनु भएको थियो । ‘निफ २०२३’ घोषणा सभा पत्रकार सम्मेलनमा परिणत भएको थियो । 


‘प्रतिस्पर्धामा आएका चलचित्रको वाढीले भने हामीलाई उत्साहित बनाएको छ । ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाँङबाट ३५ देशका ९५ चलचित्र छनौट गरिएको छ’– वितरित प्रेस विज्ञप्तिमा भनिएको छ । विगतमा झैं यस पटकपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । 

यस पटकबाट निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गरिने छ । क्युएफएक्ससँगको सम्झौताअनुसार काठमाडौंका छायाँ सेन्टर र सिभिल मल, ललितपुरको लविम मल र भक्तपुरको क्युएफएक्स हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन् ।  कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले 

निफलाई सुरुदेखि नै चलचित्र विकास बोर्डले सहयोग गर्दै आएको बताउँदै फेस्टिभल संसारका फिल्म हेर्ने उत्सवको रुपमा रहने धारणा राखेका थिए । कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै अभिनेता नीर शाहले फेस्टिभलाई सरकारले सहयोग गर्नुपर्ने बताएका थिए । ‘ निफमा अन्तर्राष्ट्रिय गुणस्तरका फिल्म हेर्न पाइन्छ । यो सामान्य कुरा होइन । यो ‘इभेन्ट’ मात्र होइन ‘ग्रान्ड इभेन्ट’ हो । यस्तो कार्यक्रमलाई नेपाल सरकारले सहयोग गर्नुपर्छ । विकास वोर्डका अध्यक्ष (भुवन केसी)लाई म अनुरोध गर्छु, कि यस कार्यक्रमलाई सहयोग गर्न सरकारसँग प्रस्ताव राखिदिनुहोस्,’ उनको भनाइ थियो । शाहले मन्त्रीहरूका लागि वर्षेनी किनिने एउटा गाडी नकिनेर यस्ता फेस्टिभललाई सहयोग गर्ने हो भने यस्तो प्रभाव अत्यन्त फराकिलो हुने विचार राखेका थिए । 
कार्यक्रममा अभिनेत्री गौरी मल्ल, दीपाश्री निरौला आदिले पनि मन्तव्य राखेका थिए । 
 


Author

थप समाचार
x