सिनेमा

सिड्नीका नेपालीका कथामा ‘सिड्नी’

इकागज |
माघ २, २०७९ सोमबार १०:६ बजे

काठमाडौँ - नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो सहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी वैशाख छेकोबाट छायांकन सुरु हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी बाँधिनेछ ।

ओ माई गड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । छायांकनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । फिल्मले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ । मुलतः फिल्म अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नेपर्ने संघर्षको कथामाथि निर्माण हुनेछ ।


अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने फिल्म स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए । फिल्मको कथावस्तु राम्रो रहेको उनको दाबी छ ।

कार्यक्रममा सविनले आफू एक्सन भूमिकामा देखिने संकेत गरे । उनले भने, ‘हुन त मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर, यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि पृथक लाग्न सक्छ ।’ त्यस्तै, रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक फिल्ममा स्क्रिन सेयर गर्न उनी उत्साहित देखिएकी छन् ।

 

 


Author

थप समाचार
x