सिनेमा

एना डे आरमसका फ्यानलाई ‘एस्टर्डे’ मुद्दा अगाडि बढाउन अदालतको अनुमति

इकागज |
पुस १०, २०७९ आइतवार ११:२१ बजे

लसएन्जल्स - ट्रेलरमा देखिएर फिल्ममा नदेखिएको भन्दै अभिनेत्री एना डे आरमसलाई उनकै दुई फ्यानले हालेको मुद्दालाई अदालतले अगाडि बढाउन सकिने आदेश दिएको छ । निर्माण कम्पनी युनिभर्सल पिक्चरले दुई फ्यानले हालेको मुद्दालाई खारेज गर्न माग गरेको थियो । एक वर्षअघि  मेरिल्यान्डमा बस्ने ३७ वर्षीय कोनर वालफ र साउन डिएगो काउन्टी बस्ने ४४ वर्षीय पिटर माइकल रोजाले भाडामा ‘एस्टर्डे’ हेर्दा ठगिएको भन्दै उजुरी दर्ता गराएका थिए । उनीहरूले अमेजन प्राइममा ३.९९ डलर तिरेर फिल्म हेरेको तर फिल्ममा एना डे आरमसलाई नपाएको भन्दै मुद्दा दर्ता गराएका हुन् । उनीहरूले ठगिएका उपभोक्तालाई राहत दिनुपर्ने भन्दै ५० लाख क्षतिपूर्ति माग गरेका छन् । 



एना डे आरमसलाई  फिल्म ‘एस्टर्डे’को ट्रेलरमा देखाइएको थियो । तर फिल्ममा उनको एक दृश्य पनि थिएन । पहिले सुटिङ गरिएको भए पनि सम्पादनमा उनको भूमिकामा कैंची चलेको थियो । लेखकले अन्तिम सम्पादनमा यो दृश्य हटाउन माग गरेका थिए । हिमेश मलिकको मुख्य भूमिका रहेको यो फिल्ममा उनले यस्तो चरित्र निर्वाह गरेका छन् जसले बिटल्सलाई देख्छ र उनका गीतलाई आफ्नो भनेर दाबी गर्छ । फिल्ममा एनाले हिमेशकै छोटो समयकी प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन् ।

यसअघि ‘ड्राइभ’माथि पनि यस्तै मुद्दा परेको छ । एक जना दर्शकले फिल्मको नामले हाइस्पिड एक्सन ड्रामाको झल्को दिने भएकाले सोही कुरा सोचेर फिल्म हेर्न गएको तर फिल्म व्यक्तिगत घटनामा अल्झिएको भन्दै निर्माताविरुद्ध मुद्दा हालेका थिए ।

युनिभर्सलले फिल्मको ट्रेलर कलात्मक अभिव्यक्तिको अंग भएको र यसलाई व्यवसायिक दायराभित्र राख्न नमिल्ने जवाफ दिएको थियो । तर क्यालिफोर्नियाका जिल्ला न्यायाधीश स्टिफन विल्सनले युनिभर्सलको माग खारेज गर्दै मुद्दा अगाडि बढाउन सकिने बताएका छन् ।  

युनिभर्सलले यदि यो मुद्दा अगाडि बढाउने हो भने हरेक असन्तुष्ट दर्शकले कम्पनीविरुद्ध मुद्दा हाल्न सक्ने र यसले गलत परम्परा बसाल्ने जिकिर गरेको थियो ।


Author

थप समाचार
x