सिनेमा

चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणवद्ध आन्दोलन गर्ने

इकागज |
पुस ७, २०७९ बिहीबार १२:३५ बजे

काठमाडौँ - चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । चलचित्र संघको बुधबार बसेको भेलाले विकास बोर्ड हल व्यवसायप्रति पूर्वाग्रही भएको निष्कर्ष निकाल्दै बोर्डविरुद्ध आन्दोलनमा जाने घोषणा गरेको हो । यसका लागि संघले चरणवद्ध कार्यक्रमको घोषणा गरेको छ । 

संघले पहिलो चरणमा १२ गते सञ्चार मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, १७ गतेसम्म कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने जनाएको छ । संघले बोर्डमा धर्ना दिने र तालाबन्दी लगाउने कार्यक्रम पनि तय गरेको जनाएको छ तर यी दुई कार्यक्रम गर्ने मिति भने पछि निक्र्यौल गर्ने जनाएको छ । 


यसैगरी संघले नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति पनि गठन गरेको छ । ८ बजेपछि सो समय राख्न बोर्डसँग अनुमति लिनुपर्ने नियमपछि हल व्यवसायी विकास बोर्डसँग रुष्ट भएका थिए । तर बोर्डले सेन्सरका लागि हप्ता दिनअघि कागजपत्र बुझाउनुपर्ने नियम जारी गरेपछि वितरकहरूसमेत सदस्य रहेको चलचित्र संघ आन्दोलनको तहमा पुगेको हो । यो नियमका कारण विदेशी फिल्म नेपाल ल्याउन कठिन भएपछि वितरकहरू विकास बोर्डको यो नियम हटाउनुपर्ने मागमा छन् । 


Author

थप समाचार
x