सिनेमा

‘ऐना झ्यालको पुतली’ र ‘लोरी’ अस्करको दौडबाट बाहिर : भारत र पाकिस्तान अन्तिम १५ मा

इकागज |
पुस ७, २०७९ बिहीबार १०:५४ बजे

काठमाडौँ - २२ वर्षयता एकेडेमी अवार्ड (अस्कर) को खडेरीले यो साल पनि निरन्तरता पाएको छ । यो साल नेपालबाट ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र ‘लाइभ एक्सन सर्ट फिल्म’ विधामा मनोनयन पाउन प्रयास गरेको ‘लोरी’ दुवै प्रारम्भिक मनोनयनमा अटाएनन् । बिहीबार यी दुई विधासँगै थप ८ विधामा एकेडेमी अवार्डले प्रारम्भिक सूची (सर्ट लिस्ट)सार्वजनिक गरेको छ । ‘लोरी’लाई चर्चित फेसन डिजाइनर प्रबल गुरुङले कार्यकारी निर्माताको रुपमा मनोनयनका लागि लबिङ गरेका थिए ।

२२ वर्षअघि एरिक भ्याली निर्देशित ‘क्याराभान’ अस्करमा अन्तिम मनोनयनमा पर्न सफल भएको थियो । त्यसयता अस्कर अवार्डमा नेपालको सहभागिता फिल्म पठाउनमा मात्र सीमित रहँदै आएको छ । यो साल छिमेकी देश भारत र पाकिस्तानले भने ऐतिहासिक सफलता हात पारेका छन् । प्रारम्भिक मनोनयनमा पनि ठाउँ बनाउन नसकेको भन्दै सबैभन्दा धेरै फिल्म बनाउने भारत आलोचकको निशानामा पर्ने गरेको थियो । तर विवाद नै विवादका बीच ‘लास्ट फिल्म सो’ छानिएको थियो ।


तर ‘आरआरआर’ले पनि इतिहास रच्दै प्रारम्भिक मनोनयनमा ठाउँ पाएको छ । गोल्डेन ग्लोबमा ‘नाटु नाटु’ गीतबाट ‘ओर्जिनल सङ’मा मनोनयन पाउन सफल यो गीतले अस्करमा पनि यही विधामा अन्तिम १५ मा सूचीकृत हुन  सफल भएको छ । 

फिल्म हेर्ने अम्मलका विषयमा बनेको यो गुजराती फिल्मले विश्वभर चर्चा कमाउने सफल ‘आरआरआर’लाई उछिन्दै भारतबाट एकेडेमी अवार्डमा सिफारिस पाउन सफल भएको थियो । ‘आरआरआर’को साटो ‘लास्ट फिल्म सो’लाई छानेपछि धेरैले भारतले अस्करमा मनोनयन पाउने सम्भावना सकिएको टिप्पणी गरेका थिए ।
अर्कोतिर भारतकै छिमेकी देश पाकिस्तानबाट अस्करमा सिफारिस ‘जोयल्यान्ड’ले पनि झन्डै मनोनयन गुमाएको थियो । प्रर्दशनको अघिल्लो हप्ता पाकिस्तान सरकारले यो फिल्मलाई प्रदर्शनमा रोक लगाएपछि यसको मनोनयन सम्भावना झिनो भएको थियो ।

अस्करमा मनोनयन पाउन अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका फिल्मले अमेरिकाबाहेकका देशमा कम्तिमा १ हप्ता हलमा प्रदर्शन हुनैपर्ने नियम छ । तर रिलिजको संघारमा यो फिल्मलाई पाकिस्तान सरकारले प्रतिबन्धको घोषणा गरेको थियो । तर अन्तर्राष्ट्रिय दबाबपछि यो फिल्म काँटछाँटसहित पाकिस्तानमा प्रतिबन्धमा परेको थियो । 

एकेडेमी अवार्डको ९५ औँ संस्करणका लागि अस्करले बिहीबार १० विधाको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । यसमा डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म, इन्टरनेसनल फिचर फिल्म, मेकअप एन्ड हेयरस्टाइलिङ, ओर्जिनल स्कोर (म्युजिक), म्युजिक( ओर्जिनल सङ), एनिमेटेड सर्ट फिल्म, लाइभ एक्सन सर्ट फिल्म, साउन्ड र भिज्युवल इफेक्ट्स गरी १० विधा समावेश छन् । अस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको हो ।


Author

थप समाचार
x