सिनेमा

‘इच्छुक हलले विश्वकप देखाउँछन्’ : महासचिव नरेन्द्र महर्जन

इकागज |
मंसिर २३, २०७९ शुक्रबार २०:२९ बजे

फाइल फोटो

काठमाडौँ - कतारमा जारी विश्वकप फुटबल सिनेमाघरमा देखाउने विषयमा विवाद उत्पन्न भएको छ । सिनेमाघरले विश्वकप देखाउने तयारी थालेपछि चलचित्र विकास बोर्डले पत्राचार गर्दै सचेत गराएको थियो ।

बोर्ड अध्यक्ष भुवन केसीले आज सम्बन्धित हलहरूलाई पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गरे कारबाही गरिने चेतावनी दिँदै विज्ञप्ति जारी गरे । 


चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तबमोजिम फिल्ममात्र प्रदर्शन गर्न गरिएको बोर्ड अध्यक्ष केसीको आग्रहमा नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । संघका महासचिव नरेन्द्र महर्जनले बोर्डकै तर्फबाट विश्वकप देखाउन अनुमति पाएपछि तयारी थालिएको बताए । 

बोर्डको बक्स अफिस विभागका सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरूलाई बोर्डकै आधिकारिक इमेलबाट फुटबल खेललाई फिल्मसरह प्रदर्शन गर्नका लागि कोडसहितको मेल गरेका थिए । जहाँ पाण्डेले विश्वकप देखाउन इच्छुक हललाई वितरण र मुभीकोड प्रयोग गर्न आग्रह गरेका छन् । 

`बोर्डले विकास शुल्क तिरेर विश्कप फुटबल देखाउन पाइने बताएपछि हामीले स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर तयारी गर्‍यौं`, महासचिव महर्जनले भने, `बोर्डको यस्तो निर्णयले हामी व्यवसायीलाई नै असर गरिरहेको छ, बोर्ड सच्चिनु जरुरी छ ।` उनले पूर्वनिर्धारित कार्यक्रमअनुसार इच्छुक हललाई विश्वकप देखाउन भभनेका छन् । संघले आवश्यक सम्पूर्ण स्वीकृति लिएको उनले जानकारी दिए । रासस


Author

थप समाचार
x