सिनेमा

बलिउडले अहिले फिल्म होइन, प्रोजेक्ट बनाइरहेको छ

सामीप्यराज तिमल्सेना |
मंसिर २२, २०७९ बिहीबार १३:२९ बजे

बलिउडमा अहिले सन्नाटा छ । संसारमा सबैभन्दा धेरै फिल्म बनाउने भारतको सबैभन्दा ठूलो उद्योगमा अहिले बक्स अफिसबाट फिल्मको लगानी उठाउनु बाघको मुखको शिकार छिन्नु जस्तै भएको छ । व्यावसायिक धारका फिल्म बनाएर विश्वभर पैसा कुम्ल्याइरहेको बलिउडमा के साना, के ठूला सबै स्टारका फिल्म असफल साबित भइरहेका छन् । 

यही बलिउडमा फरक शैलीका व्यावसायिक फिल्म बनाएर बेग्लै पहिचान बनाएका प्रकाश झाले भने बलिउडले पछिल्लो समय फिल्म नै नबनाइरहेको टिप्पणी गरेका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु हुन गइरहेको काठमाडौँ माउन्टेल फिल्म फेस्टिभल (किम्फ)मा प्रमुख वक्ताका रुपमा सहभागी हुन काठमाडौँ आएका झाले इकागजसँग कुरा गर्दै बलिउडको यो अधोगति अवश्यम्भावी भएको बताएका छन् । उनले भने, ‘बलिउडले पछिल्लो समय फिल्म हैन, प्रोजेक्ट बनाइरहेको थियो । ती प्रोजेक्ट असफल भइरहेका हुन् । जसले फिल्म बनाइरहेको छ, ती अझ पनि चलिरहेका छन् र चल्छन् ।’


‘गंगाजल’, ‘राजनीति’ जस्ता फिल्म बनाएका प्रकाश झाले बलिउडले कथामा सिनेमा बनाउन छाड्दा यो समस्या आएको पनि बताए ।‘हिजोको दिनमा ऋषिकेस मुखर्जी, बासु भट्टाचार्य, श्याम बेनेगल आदिले कथामा फिल्म बनाएका थिए । त्यसैले ती फिल्म सफल भए । तर आज बलिउडमा हेर्नुभयो भने सब जना रिमेकको पछि छन् । अनि पहिले हेरिसकेको कथा दोहो¥याएर हेर्नुपर्ने जरुरी के छ ?’ उनको प्रश्न छ । 

आजका दिनमा हिरोको डेटअनुसार फिल्म बन्ने गरेको र यसले फिल्म निर्माणको सारा शैली ध्वस्त पारेको टिप्पणी गरे । ‘आजका दिनमा स्टुडियोलाई एक दिन अचानक हिरोले भन्दिन्छ, म फलानो समय खाली छु । केही छ भने गरौँ । स्टुडियोसँग कथा त हुन्न । हुन्छ त उही फिल्मको रिमेक । यसरी फिल्म बनाएर तपाईं कसरी दर्शक कमाउने आश गर्नु सक्नुहुन्छ,’ उनको भनाइ थियो । 

पछिल्लो समय निर्देशन छाडेर अभिनयमा रत्तिन थालेका झाले ‘मट्टो कि साइकिल’, ‘साँढ कि आँख’ जस्ता फिल्ममा अभिनय गरेका छन् । उनले कतिपय कथालाई आफूले पनि न्याय गर्नु सक्छु भन्ने लागेकाले अभिनय गर्न राजी हुने गरेको अनुभव सुनाए । अनि निर्देशन नि ? प्रकाश झाका अनुसार उनले आउँदो वर्ष निर्देशन गर्ने गरी दुई फिल्मको पटकथा लेखिसकेका छन्, ‘जनादेश’ र ‘धर्मक्षेत्र’ । ‘जनादेश’मा उनले लोकतन्त्र र यसको केन्द्रमा रहेका जनतालाई विषय बनाएको जानकारी गराए भने ‘धर्मक्षेत्र’ ‘राजनीति’झैँ मिथमा आधारित रहने संकेत गरे ।

कुनै समय बिहारबाट तीन पटक सांसदको चुनाव लडेर तीनै पटक पराजित भएका फिल्ममा बिहार र यसको राजनीति अटाउने गरेको विश्लेषण रहने गरेको छ । तर उनले राजनीतिमा फिल्म बनाएको नभई कहानीमा राजनीति आएको हुनसक्ने तर्क प्रस्तुत गरे । 

‘मैले कहिल्यै पनि राजनीतिमा फिल्म बनाएको छैन । मैले कहानी भनेको हो । यसमा तपाईँहरूले राजनीतिको गुण देख्नुभयो भने त्यो मेरा लागि आश्चर्यको कुरा हो,’ उनले थपे, ‘हो मेरा फिल्ममा दर्शकले मैले सोच्दा पनि नसोचेको कुरा पाएको कुरा गर्नुहुन्छ । कथावाचकका रुपमा मलाई यो कुराले खुसी दिन्छ ।’

फरक फरक विषयमा उत्तिकै प्रभावशाली फिल्म दिएकै कारण प्रकाश झाले बलिउडमा उम्दा निर्देशकको परिचय बनाएका छन् । के झासँग यस्ता कथा टिप्ने र प्रस्तुत गर्ने कुनै खास शैली छ ? इकागजको जिज्ञासामा झाको जवाफ थियो, ‘हो छ । त्यो के भने म बिहानी पहेँलो गोली खान्छु र बेलुका निलो ।’ 

जिस्कँदै उनले थपे, ‘सायद कसैसँग पनि फिल्म लेखन वा निर्देशनमा यस्तो कुनै शैली हुन्छ जस्तो लाग्दैन । म कुनै कुरा देख्छु । देखेको कुरामा अरु अनुभव पनि थपिँदै गएर दिमाग भरिएपछि बल्ल यो कथा भन्नुपर्छ भन्ने निष्कर्षमा पुग्छु । तर यसका लागि एकाध महिना वा वर्षौँ वर्ष पनि लाग्छ सक्छ ।’ 

यही सन्दर्भमा झाले उनको व्यावसायिक रुपमा सबैभन्दा सफल फिल्म ‘गंगाजल’ आठ वर्ष लगाएर लेखेको स्मरण गरे । आफूले फिल्म लेख्दा कम्प्युटर वा ल्यापटपको प्रयोग आजसम्म पनि नगरेको बताउँदै आठ वर्षमा धेरै पटक लेखिसकेपछि बल्ल ‘गंगाजल’ सुटिङमा गएको बताए ।

बुधबार साँझ प्रकाशको सम्मानमा नेपाल–भारत मैत्री संघले रात्रिभोजको आयोजना गरेको थियो । संघका पदाधिकारीले झालाई स्वागत गर्दागर्दै नेपाली कथामा पनि फिल्म बनाउन आग्रह गरेका थिए । प्रकाश झाले नेपाली कथामा कुनै नेपालीले नै फिल्म बनाउनु बरु त्यसका लागि सहयोग चाहिए आफू सहयोग गर्न तयार रहेको बताएका थिए । 

‘म तपाईँहरूलाई कुनै झुटा आश्वासन दिने मुडमा छैन । नेपाली कथामा मैले किन फिल्म बनाउने ? कोही नेपालीले नै बनाउने हो । तर यदि मेरो सहयोग कसैले चाहान्छ भने म त्यो सहयोग गर्न चाहिँ तयार छु,’ उनले भने । 
उनले भित्रभित्रै केही कथामा काम भइरहेको भने इन्कार गरेनन् । उनले केही कन्सेप्टमा काम भइरहेका तर त्यसले आकार लिन समय लाग्न सक्ने संकेत गरे । 

प्रकाश झा आज उद्घाटन हुने किम्फमा प्रमुख वक्ताका रुपमा सहभागी हुँदैछन् । बिहीबार नै प्रकाश झाको निर्माण तथा अभिनय रहेको ‘मट्टो कि साइकिल’ प्रदर्शन हुँदै छ । उनले ‘मट्टो कि साइकिल’लाई शुद्ध सिनेमाका रुपमा व्याख्या गर्दै फिल्मप्रेमी सबैलाई यो फिल्म हेर्न आग्रह गरे ।

‘मट्टो कि साइकिल’ एउटा प्योर सिनेमा हो । यसमा तपाईँले भारत वा नेपाल मात्र हैन, दक्षिण एसियाका निम्न मध्यमवर्गीय मानिसको कथा देख्न सक्नुहुन्छ । म चाहन्छु यो सिनेमा तपाईँ पनि हेर्नुहोस् र अरुलाई पनि हेर्न अभिप्रेरित गर्नुस्,’ उनले भने । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x