सिनेमा

के ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ हलमा एकै दिन रिलिज हुन्छन् ?

इकागज |
मंसिर १८, २०७९ आइतवार १३:५४ बजे

काठमाडौँ -  चुनावका कारण ठप्प रहेको फिल्मी गतिविधिले विस्तारै लय समात्दै छ । जाडो सकिएसँगै सुटिङमा निस्कन तयार फिल्मको पूर्व तयारी जोडतोडले सुरु भएको छ भने फागुनदेखि नयाँ वर्षसम्मको रिलिज क्यालेन्डर पनि प्याक छ । नयाँ वर्षका लागि तीन फिल्मले आफ्नो नाम दर्ता गराइसकेका छन् भने फागुनमा त फिल्मको वर्षात् नै छ ।

पहिला घोषणा गरेका फिल्मले खुट्टा नकमाउने हो भने कम्तिमा दर्जन बढी फिल्म यही महिना मात्र रिलिज हुँदैछन् । चर्चित फिल्मको भिडन्तको समाचारले यो महिना फिल्मकर्मीबीच चासोको विषय बनेको छ । तर यसमा पनि धेरैलाई चासो छ, फागुन २५ को । यो मितिमा ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि यो मितिलाई लिएर धेरैका कान ठाडा भएका छन् । 


‘छक्का पञ्जा ’ को शृंखला ‘छक्का पञ्जा ४’ बक्स अफिसमा रेकर्डधारी फिल्म हो । यसका तीन भागले बक्स अफिसमा अनेक रेकर्ड राखेका छन् । ‘छड्के’ पनि कुनै समय रेकर्डधारी फिल्म हो । कुनै समय यो फिल्मले पनि पहिलो दिन सर्वाधिक दर्शक पाएको थियो । तर अपेक्षालाई पूरा गर्न नसक्दा यो फिल्मले दोस्रो दिनदेखि नराम्ररी झट्का खानु परेको थियो । तर यो इतिहास बनेको धेरै वर्षपछि यसका निर्देशक निगम श्रेष्ठले यो फ्रेन्चाइजमा अनमोल केसीलाई थपेर अघिल्लो शृंखलाको कसर पूरा गर्ने सोच राखेका छन् । फिल्मको पोस्टर तथा अनमोलको लुक्सले राम्रै चर्चा पाएको छ ।

अनमोललाई अहिले पनि बक्स अफिसमा दर्शक जम्मा गर्न सक्ने अभिनेता मानिन्छ । यही कारण पनि यी दुई फिल्मको भिडन्तलाई लिएर दर्शकमा पनि चासो छ । तर यही बीचमा दुईमध्ये एउटा फिल्म सर्ने चर्चा पनि उत्तिकै छ । तर ‘छड्के’का वितरक सुनिल मानन्धर आफूहरू कुनै हालतमा पनि त्यो ठाउँ नछाड्ने बताउँछन् । उनले निर्मातासँगको १० चोटिको छलफलपछि सो मिति लक गरिएको र अब सर्ने सम्भावना नरहेको इकागजलाई बताए ।

‘मैले पहिला नै निर्मातालाई यो मितिमा छक्का पञ्जा छ । के गर्ने भनेर सोधेको हुँ तर उहाँहरूले यही मितिमा रिलिज गर्ने भनेपछि हामीले यो मिति छानेका हौँ । हामी दायाँबायाँ गर्ने सोचमा छैनौँ,’ मानन्धरले इकागजसँग भने । उनको बोलीलाई गम्भीरतापूर्वक लिनसकिन्छ किनकि चर्चानुसार मानन्धरले यो फिल्मको प्रदर्शन अधिकार १ करोड ५० लाखमा लिएका छन् । उनले यो चर्चालाई अन्यथा नभएको पुष्टि गरे । 

तर मानन्धरले दायाँबायाँ नगर्ने भने पनि अनमोल केसी भने ‘छक्का पञ्जा ४’ त्यही मितिमा आउने सन्दर्भमा सर्ने विकल्प बारे छलफलमा रहेको खबर छ । यसका लागि उनले नयाँ वर्ष ताकेको र यसका लागि नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गरेका फिल्मका निर्मातासँग छलफल थालेका छन् ।

उता ‘छक्का पञ्जा’ आफैँ भने त्यो मितिमा आउने नआउने सम्बन्धमा अन्यौलमा छ । एउटा गीत बाँकी राख्दै सुटिङ सकेको भए पनि सम्पादनका क्रममा ती दृश्य चित्त नबुझे पछि टिम फेरि सुटिङमा निस्कने तयारीमा छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले ४० प्रतिशत सुटिङ बाँकी रहेको र यो अवधिमा सुटिङ सकाएमा पूर्व निर्धारित मितिमा रिलिज हुने अन्यथा नयाँ मितिमा जाने बताउने गरेका छन् । इतिहास हेर्ने हो भने चाहिँ ‘छक्का पञ्जा’ले विदा माया मारेर पनि एक्लै रिलिज हुने बाटो रोज्ने गरेको छ । यो पटक के हुन्छ त्यो चाहिँ केही दिनमै स्पष्ट हुनेछ । 


Author

थप समाचार
x