सिनेमा

यो साल नेपाली चलचित्रका नयाँ अनुहार : भुटानी अभिनेत्रीदेखि गुम्बाका लामासम्म

इकागज |
असोज १३, २०७९ बिहीबार १३:३३ बजे

काठमाडौँ- डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायतका कलाकारको दबदबा थियो । उनीहरुको पोस्टर देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै यी कलाकार विस्थापित भएका छन् भने उनीहरुको ठाउँ नयाँपुस्ताले लिन थालेका छन् ।  उनीहरुको उपस्थितिले मात्र पनि निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँपुस्ताको उपस्थिति बढिरहेको छ । अनमोल केसी, प्रदीप खड्का, धीरज मगरलगायत सर्वाधिक खोजिने अभिनेता बनेसँगै नयाँपुस्ताले चलचित्रमा काम गर्ने इच्छा देखाएको पाइन्छ ।

यो साल धेरै नयाँ अनुहार नेपाली चलचित्रमा देखिएका छन् । यीमध्ये धेरैको उपस्थितिले भविष्यको नेपाली चलचित्र सुन्दर हुने अपेक्षा बढाएको छ । व्यावसायिक रेकर्ड राख्न सफल फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ मार्फत गौमाया गुरुङले डेब्यु गरिन् । बेलायतमा बसोबास गर्ने अभिनेत्री गुरुङले कलाकारितामा आफ्नो भविष्य देखेर नै नेपाल आएर अभिनय गरेकी हुन् । उनले अभिनय गरेको ‘गोर्खा : विनिथ द ब्रेभरी’ समेत प्रदर्शन भइसकेको छ । युट्युब र सामाजिक सञ्जालमा ट्राभल ब्लग बनाउने गुरुङ नोटिस भएपछि फिल्म खेल्ने अवसर पाएकी हुन् ।  


उनले भनिन्  'नेपाली भाषा र संस्कृतिमा काम गर्दा आनन्द आउँछ । म नेपाली चलचित्रमै आफ्नो भविष्य देख्छु । अवसर आएसम्म सदुपयोग गर्नेछु ।' भारतमा मोडलिङ गरिरहेकी  श्रद्धा क्षेत्रीले ‘कृष्ण लीला’ मार्फत डेब्यु गरिन् । यस अगाडि ‘हृदय भरी’ नामक चलचित्रमा काम गरे पनि निर्माण पूरा नभएपछि ‘कृष्ण लीला’ नै उनको पहिलो चलचित्र बनेको छ । क्षेत्री भन्छिन्, 'नेपाली चलचित्रमा काम गर्ने रहर थियो । यहाँ दर्शकमार्फत पाइने माया भिन्नै छ ।'

रङ्गमञ्चमा काम गरिरहेकी रेणु योगीले ‘प्रकाश’ मार्फत डेब्यू गरेकी हुन् । अडिसनबाट फिल्मको हिस्सा बन्न पुगेकी रेनुले फिल्ममा जुम्ली युवतीको भूमिका निर्वाह गरेकी छिन् । 'रङ्गमञ्चमा काम गरेपछि अडिसन दिएर चलचित्रमा अभिनय गरेकी हुँ । ठूलोपर्दाले मलाई थप अनुभव दिएको छ' उनको अनुभव छ । यसैगरी ‘सम्हालिन्छ कहिले मन’ मार्फत सोनाम तोप्देन गायकबाट अभिनेता बनेका छन् ।

कभर गीतमार्फत गायक बनेका तोप्देनले डेब्यू चलचित्रबाटै तारिफ पाए । उनले चलचित्र आफ्नो लागि नौलो अनुभव रहेको उल्लेख गर्दै गायन र अभिनयसँगै अगाडि बढाउने योजना रहेको सुनाए । सोनम कुनै समय गुम्बा बसेका लामा हुन् ।

यसैगरी ‘प्रेम गीत ३’ मार्फत अभिनेत्री क्रिस्टिना गुरुङको  पदार्पण भएको छ। उनी पनि अडिसनमार्फत छानिएकी हुन् । यसैगरी यही फिल्मबाट मनीष राउतले पनि अभिनय यात्रा थाल्दैछन् । 

दसैँमा प्रदर्शन हुने चलचित्र ‘बाबरी’ बाट प्रसिद्ध कलाकार तृप्ति नाडकरका छोरा धीरजले डेब्यू गर्दै छन् । भारतमै रहेर केही टेलिशृङ्खलामा समेत काम गरेका धीरज नेपाली फिल्ममा आमाले जत्तिकै माया पाउने आशमा छन् ।  “मैले नेपालमा पाएको माया अद्भुत छ । मेरो आमाझैँ मलाई पनि स्वीकार्नु हुन्छ भन्नेमा विश्वस्त छु । मैले इमान्दार भएर काम गरेको छु' उनको भनाइ छ । ‘दुई नम्बरी’ चलचित्र मार्फत भुटानी अभिनेत्री उगेन छोदेनले डेब्यू गर्दै छिन् । 'नेपाली कलाकारको सहयोगले डेब्यू राम्रो भयो । म आउँदो दिनमा पनि चलचित्रमा अभिनय गर्नेछु', उनको भनाइ छ ।

तिहारमा प्रदर्शन हुन लागेको ‘महापुरुष’ चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यू गर्दैछन्  । दुवै जना अडिसन दिएर छानिएका हुन् । । अरुणले ‘आइएम ट्वान्टी वान’ चलचित्रमा अभिनय गरेका छन् भने अञ्जना मोडलिङ गरिरहेकी थिइन् ।  ‘परदेशी २’ बाट गायक प्रकाश सपुत, ‘लन्डन टु पेरिस’बाट गरिमा शर्मा र निश्चल खड्का, ‘वर एण्ड वधु’ बाट विवेक कर्माचार्यलगायतका कलाकार पनि यो साल पर्दामा देखिनेछन् ।

मेकिङ शैलीमा परिवर्तन आएसँगै हलमा नयाँपुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ । यसमा कोही पढेर आएका छन् त कोही परेर । तर जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली फिल्म क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक प्रदीप भट्टराई बताउँछन् ।  “नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्यन गरेर आउनुले चलचित्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । उनीहरुको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ ।” रासस


Author

थप समाचार
x