सिनेमा

‘दुई नम्बरी’ ट्रेलर : हास्य शैलीमा दुई सिकारी मित्रको कथा

इकागज |
असोज १३, २०७९ बिहीबार १२:२३ बजे

काठमाडौँ -टिजरबाट हँसाउन सफल दीपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’ले ट्रेलरमा पनि त्यही लय कायम गरेको छ । मंगलबार सार्वजनिक ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई  सौगात मल्ल, बुद्धि तामाङ र उपासनासिंह ठकुरीले फिल्म कमेडीको परिधि भित्र रहेर मित्रता र अवैध सिकारको कथा प्रस्तुत गरेको छनक दिन्छन् । तीन मिनेट लामो ट्रेलरमा सौगात मल्ल बाँकीमाथि हाबी देखिएका छन् । 

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक लामाले आफूले मनोरञ्जनसँगै कथा पनि भन्ने अभिप्रायले ‘दुई नम्बरी’ तयार गरेको बताएका छन् । ‘यसमा मनोरञ्जन छ जुन तपाईँले टिजर र ट्रेलरमा पनि देखिसक्नु भएको छ । यसमा कथा पनि छ जुन हेर्न तपाईँले हल जानुपर्ने छ । फेस्टिभलमा हामी जुन मुडमा हुन्छौँ त्यही कुरा सेलिब्रेसन गर्न सुहाउने फिल्म बनेको छ, दुई नम्बरी,’ लेखकसमेत रहेका निर्देशक लामाले भने ।


कार्यक्रममा बोल्दै दयाहाङ राईले पनि निर्देशक लामाकै लाइन पछ्याउँदै ‘दुई नम्बरी’ कमेडी र कन्टेन्ट दुवै रहेको बताए । ‘दुई नम्बर’ दर्शकको रुचि अनुसार बनेको पनि उनको भनाइ थियो । कार्यक्रममा सहभागी हुन भुटानबाट अभिनेत्री उगेन छोदेन पनि आएकी थिइन् । उनले नेपाली फिल्मको प्राविधिक स्तर भुटानी फिल्मकोभन्दा माथि रहेको बताउँदै पहिलो नेपाली फिल्मको अनुभव सुखद रहेको प्रतिक्रिया दिएकी थिइन् । फिल्ममा उगेनले दयाहाङको जोडी रुपमा अभिनय गरेकी छिन् । 

असोज २१ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई किरण नेपालीले  दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठसँग मिलेर बनाएका हुन् ।  सरोज नेपाली कार्यकारी निर्माता रहेको यस फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि अभिनय रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइबाको संगीत छ ।

 


 


Author

थप समाचार
x