सिनेमा

जगदम्बाश्री दुर्गा : उदयका सम्पादक, आमाका लेखक

सामीप्यराज तिमल्सेना |
भदौ ३०, २०७९ १५:५१ बजे

नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा गरेको अनवरत योगदानको सम्मान गर्दै मदन पुरस्कार गुठीले केही समयअघि दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री सम्मान प्रदान गर्ने घोषणा गर्यो । महामारीले बिथोलेको समय छाडेर गुठीले यो सम्मान घटस्थापनाका दिन मदन पुरस्कारसँगै प्रदान गर्दैछ । बनारसमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित दुर्गाप्रसाद श्रेष्ठले पिता काशीबहादुर श्रेष्ठले चलाउँदै आएको ‘उदय’ पत्रिकाको सम्पादन गर्दै आइरहेका छन् भने उनले ‘सम्झनाका बादल’, ‘सेनिया’, ‘चण्डी घोष स्ट्रिट’, ‘बाग्मती साक्षी’, ‘उसको अन्त्यहीन कथाहरू’ कथा संग्रह, ‘कोसेली’ उपन्यास र ‘देश–देशान्तर’ नियात्रा संग्रह लेखेका छन् । 

सेलिब्रेटी साहित्यकारको समेत मनपर्ने किताबको सूचीमा पर्ने ‘योगीको आत्मकथा’ पनि उनै दुर्गाप्रसाद श्रेष्ठले अनुवाद गरेका हुन् । उनले ‘सत्तारे मौसी’ शीर्षकमा हिन्दी भाषामा पनि एउटा कथा संग्रह प्रकाशित गरेका छन् । 


यसरी साहित्यमा ठोस योगदान गरेका दुर्गाप्रसाद श्रेष्ठको नेपाली चलचित्रमा दुर्लभ योगदान छ । धेरैलाई थाहा नहुन सक्छ, नेपालमा बनेको पहिलो फिल्म मानिँदै आएको ‘आमा’मा लेखक तथा सहायक निर्देशकका रूपमा आउने नाम दुर्गाप्रसाद श्रेष्ठ अरु कोही होइन, यिनै साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठ हुन् । शिवशंकर मानन्धर र भुवन थापाको मुख्य भूमिका रहेको सो फिल्मलाई देहरादुनका हीरासिंह खत्रीले निर्देशन गरेका थिए । यो फिल्ममा लेखनसँगै श्रेष्ठले एउटा भूमिकामा पनि अभिनय गरेका छन् ।

२०१८ सालमा आफ्नी चेलीको वैवाहिक समारोहमा बनारसबाट काठमाडौँ आएका दुर्गाप्रसाद श्रेष्ठलाई उसबेलाका सूचना विभागका निर्देशक नारायणप्रसाद बास्कोटाले आफू मातहत रहेर काम गर्न प्रस्ताव गरे । बनारसमा एमए पढ्ने तरखरमा रहेका दुर्गाप्रसाद श्रेष्ठलाई सरकारको सिन्दूर लगाउने कुरा मनासिब नै लाग्यो । भएन उसबेला सरकारले दुर्गाप्रसादलाई किताब छाप्ने पैसा दिएर दरबारले पनि गुन लगाएको थियो । दुर्गाप्रसादका अनुसार उनले २०१८ सालमा छापेको कथा संग्रह ‘सम्झनाका बादल’ दरबारले दिएको पैसाले छापिएको थियो । 

‘२०१८ सालमा बुबालाई दरबारले डाकेको सूचना आयो । बुबाले उसबेला उदय पत्रिका प्रकाशन गर्नुहुन्थ्यो । दरबारले के गर्नुपर्यो तपाईँलाई भनेर डाकेको रैछ । बुबाले उदयलाई त केही पर्दैन बरु छोराले कथाहरू लेखेको छ त्यो छाप्न सहयोग पाए हुन्थ्यो,’ केही दिनपछि हुने समारोहमा सम्मान थाप्न काठमाडौँ आइपुगेका श्रेष्ठले विगत सम्झिँदै भने, ‘ल न त भनेर दरबारले पैसा दियो । त्यसैबाट मैले पहिलो कथा संग्रह थापेँ ।’

तर यही सम्बन्ध उनको नेपाल बसाइका कारण पनि बन्यो । कथा संग्रह प्रकाशन लगत्तै उनलाई सूचना विभागमा काम गर्ने अवसर आयो । पञ्चायतको प्रवद्र्धन हुने गरी नारा लेख्ने, प्याम्प्लेट बनाउने र लेखहरू लेख्ने गरी उनलाई राजपत्रांकित तृतीय श्रेणीको जागिर दिइयो । हिन्दी र नेपाली दुवै भाषामा दख्खल राख्ने भएका कारण पनि श्रेष्ठ बास्कोटाको नजरमा परेका थिए । 

यसरी २०१८ सालदेखि २०२८ सालसम्म पञ्चायतलाई रामराज्यझैँ प्रचार गर्ने गरी धेरै नारा लेखे, प्याम्प्लेट बनाए अनि लेखेहरू लेखे । यसो गर्दा गर्दै एक दिन उनलाई नेपालको ऐतिहासिक फिल्म ‘आमा’मा लेखक बन्ने मौका आइलाग्यो । 

विं.सं २०२० सालको एक दिन नारायणप्रसाद बास्कोटाले उनलाई आफ्नो च्याम्बरमा डाके र राजाबाट फिल्म बनाउने इच्छा जाहेर भएको कुरा बताए । बास्कोटाले नै फिल्मका लागि निर्देशक तयार रहेको र उनलाई श्रेष्ठले सहयोग गर्नुपर्ने आदेश दिए । 

बनारसमा छँदा दिलीपकुमार र वैजयन्तीमालाका फ्यान उनले दुवै अभीनित थुप्रै फिल्म हेरेका थिए । नेपालमा पनि फिल्म बन्ने कुराले उनलाई खुसी नलाग्ने कुरै भएन । उनले सहर्ष आदेश शिरोपर गर्ने जवाफ दिए । यसको केही दिनपछि अहिलेको गोरखापत्र भएकै ठाउँमा हीरासिंह खत्रीसँग उनको पहिलो भेट भयो ।

दुर्गाप्रसाद श्रेष्ठले नेपाल आमालाई कसरी सुखी बनाउने भन्ने सन्देशलाई केन्द्रमा राखेर एकसरो कथा तयार गरे । उनले यसका लागि फिल्मको मुख्य चरित्र लाहुरबाट फर्कने र गाउँको अवस्था देखेपछि देशमै बसेर विकासको काममा लाग्ने कथानक तयार गरे

देहरादून निवासी हीरासिंह खत्री मुम्बईमा बसेर चलचित्रकर्ममा संलग्न थिए । राजा महेन्द्र भ्रमणका क्रमा मुम्बई पुग्दा उनीसँग भेट भएपछि राजाले नै उनलाई नेपाल बोलाएका थिए । उनले विं.सं २०१९ तिरै ‘राजाको बयालिसौँ जन्मोत्सव’ शीर्षकमा डकुमेन्ट्री बनाइसकेका थिए । राजाले नेपालमा फिल्म बनाउने काम पनि हीरासिंह खत्रीलाई नै सुम्पेका थिए । 

तर श्रेष्ठका अनुसार राजाले हीरासिंह खत्रीलाई विश्वास गर्नमा उनको काम मात्र जिम्मेवार थिएन । राजा महेन्द्रका एडीसी शेरबहादुर मल्ल र हीरासिंह खत्री देहरादुनमा सहपाठी थिए । दुवैबीच घनिष्ठ मित्रता थियो । शेरबहादुरकै कारण हीरासिंह खत्री दरबारका पनि प्रिय थिए । 

यसरी फिल्म बनाउने भनेर निर्णय गरे पनि के विषयमा बनाउने र कसरी बनाउने भन्नेमा स्पष्ट निर्देशन केही थिएन । खाली चलचित्रको माध्यमबाट पनि पञ्चायतको प्रचार गर्नुपर्ने उद्देश्य मात्र बताइएको थियो । यही कुरालाई आधार मानेर छलफल गरिरहँदा दुर्गाप्रसाद श्रेष्ठ र हीरासिंह खत्री निर्क्याेलमा पुगे, ‘जे जसरी गरे पनि चलचित्रमा पञ्चायतको नाम चाहिँ नलिने । घुमाएर यसका सकारात्मक पक्ष देखाउने ।’ 

‘हामीले भनेको कुरामा त हामी अडिग रह्यौँ । तर कताकताबाट लक्ष्मण लोहनीको ‘पञ्चै हो यो देश बनाइदेऊ’ भन्ने गीत छिरिहाल्यो । त्यसबाहेक हामीले कतै पनि पञ्चायतको नाम लिएनौँ,’ दुर्गाप्रसादले इकागजसँगको कुराकानीमा भने । 

छलफल गर्दागर्दै दुर्गाप्रसाद श्रेष्ठले नेपाल आमालाई कसरी सुखी बनाउने भन्ने सन्देशलाई केन्द्रमा राखेर एकसरो कथा तयार गरे । उनले यसका लागि फिल्मको मुख्य चरित्र लाहुरबाट फर्कने र गाउँको अवस्था देखेपछि देशमै बसेर विकासको काममा लाग्ने कथानक तयार गरे । श्रेष्ठका अनुसार बाहिरको कोही आएर देश बनाउँदैन आफ्नो देश आफैँ बनाउनुपर्छ भन्ने सन्देश पनि कथामा समावेश गरिएको स्मरण गरे । यसरी एकसरो कथा तयार भएपछि कलाकार र संगीत आदि बनाउने काम भयो । 

फिल्ममा कलाकार छान्न कुनै सकस परेन । यही सूचना विभागअन्तर्गत सांस्कृतिक विभाग पनि थियो जसमा कलाकार जागिरे थिए । शिवशंकर मानन्धर, भुवन थापा, उत्तम नेपाली आदि यही विभागमा जागिरे थिए । यहीँबाट हीरासिंह खत्रीले कलाकार छाने र संगीतको काम पनि भयो । तर प्राविधिक कामका लागि भने हीरासिंह खत्री भारतीय प्राविधिकको भर परेका थिए । ‘क्यामरामेनदेखि ड्रेसमेन’सम्म भारतबाटै आएका थिए । यसरी सबै कुराको चाँजोपाँचो मिलेपछि टोलीले रक्सौलबाट ऐतिहासिक फिल्मको सुटिङ थाल्यो । 

पहिलो दिन वीरगञ्जपारिको रक्सौलबाट सुटिङ सुरु भएको सम्झन्छन्, दुर्गाप्रसाद श्रेष्ठ । रक्सौलको बोर्डरमा शिवशंकर मानन्धर लाहुरेको भेषमा फर्किएको ‘आमा’को पहिलो दिनको सुटिङ थियो । यही दिन दुर्गाप्रसाद श्रेष्ठले पनि शिवशंकरसँगै अभिनय गरेका थिए । जम्मा एउटा दृश्यमा देखिने दुर्गाप्रसादले शिवशंकरलाई देश फर्किएर ठीक गरेको र देशमै बसेर सेवा गर्न प्रेरित गर्ने सन्देश छ । आफैँले लेखेको संवाद बोल्न उनलाई चारचोटि कोसिस गर्नुपरेको थियो । दुर्गाप्रसादलाई सुटिङको आद्योपान्त यसकारण पनि थाहा थियो कि उनी फिल्ममा हीरासिंह खत्रीका मुख्य सहायक निर्देशक पनि थिए । अर्थात् ‘आमा’मा दुर्गाप्रसाद श्रेष्ठ लेखक, कलाकारसँगै सहायक निर्देशकको तेहरो भूमिकामा थिए । 

रक्सौलको सुटिङपछि भने फिल्मको सुटिङ ककनीको आर्मी क्याम्पमा भएको दुर्गाप्रसाद स्मरण गर्छन् । 

‘खासमा यो सुटिङ नेपाली सेनाले सहयोग नगरेको भए सम्भव नै हुने थिएन । ककनीमा सुटिङ हुँदा पनि सुटिङ युनिट सेनाकै मेसमा खाना खान्थ्यो र अरु सहयोग पनि लिन्थ्यो,’ दुर्गाप्रसादले भने । 

यसरी ककनीमा महिना दिन सुटिङ गरेपछि ‘आमा’को टोली कलकत्ताको टलिगञ्ज उत्रेको थियो । यहाँ फिल्ममा देखिने इन्डोर दृश्य डेढ महिना लगाएर सुटिङ गरिएको दुर्गाप्रसाद बताउँछन् । 

कलकत्तामा भएको सुटिङमा दुर्गाप्रसाद दुइटा कुरा सम्झन्छन् । एउटा भैरवबहादुर थापाले दश टेक खाएको अनि भुवन थापालाई फिल्म हेर्न लिएर गएकोमा हीरासिंहको गाली खाएको ।

‘कलकत्ताको टलिगञ्जमा भैरवबहादुर थापाले जमिनदार बनेका उत्तम नेपालीलाई तँ जमिनदार भएर यस्तो गर्ने भन्ने संवाद थियो । यसका लागि निर्देशकले दश टेक लिए । अर्को चाहिँ हरेक आइतबार त्यतिबेला सुटिङ छुट्टी गर्ने चलन थियो । भुवनले एक आइतबार चाहिँ फिल्म हेर्न जाऊँ न भन्यो । लिएर गएको फर्केर आउँदा हीरासिंहको गाली खाइयो,’ दुर्गाप्रसादले सम्झना गरे, ‘काम गर्ने मान्छेलाई अनावश्यक लिफ्ट दिनुहुँदैन भन्ने उहाँको मान्यता थियो । त्यो फिल्मको सुटिङ अवधिभर उहाँले मबाहेक कसैलाई आफ्नो कोठामा छिराउनु भएन । धेरै नजिक बनायो भने म यसको मान्छे हो भन्ठानेर मान्छेले काम गर्दैन भन्ने उहाँको सोच थियो ।’

राजारानीले फिल्म मात्र मन पराएनन् तुरुन्तै दुई हजार बक्सिस दिने घोषणा गरे । फिल्मको टोली जय नेपाल हलबाट निस्कँदा काम फत्ते भएको सन्तुष्टि मात्र थिएन गोजीमा दुई हजारको गह्रुँगो थैली पनि थियो

उसबेला नेपाल रिलिजको समयमा हाउसफुल व्यापार गरेको ‘आमा’ आजभोलि जस्तो पहिला नै स्क्रिप्ट तयार गरेर बनाइएको थिएन । निर्देशक र लेखक मिलेर एक दिन सुटिङ हुने प्लट र संवादको छलफल गर्थे र सुटिङ सकिएपछि भोलिपल्टको सिनको बारेमा छलफल हुन्थ्यो । त्यही कारण आज आफूसँग ‘आमा’को केही पनि नरहेको दुर्गाप्रसाद बताउँछन् ।

‘फिल्म कहाँ सुरु गरेर कसरी अन्त्य गर्ने भन्ने थियो । तर बीच बीचमा के गर्ने भन्ने थिएन । अघिल्लो दिनको सुटिङ सकिएपछि के के गर्ने छलफल हुन्थ्यो । यही छलफलअनुसार म लेख्थेँ र त्यही सुटिङ हुन्थ्यो,’ उनले सुनाए ।

यसरी साढे दुई महिना सुटिङ गरेपछि कलकत्तामा नै फिल्मको प्राविधिक काम भयो र झण्डै एक वर्षपछि प्रदर्शनका लागि तयार भयो । तर हलमा सर्वसाधारणका लागि प्रदर्शन हुनुअघि राजारानीसहित दरबारले यो फिल्म हेर्यो । जयनेपाल सिनेमा घरमा भएको यो प्रदर्शनमा राजारानी, राजदरबारका उच्चपदस्थ कर्मचारी र फिल्मका कलाकार तथा प्राविधिकले फिल्म हेरेका थिए । फिल्म नसकिउन्जेलसम्म लेखक निर्देशकसँगै कलाकारको ओठतालु सुकेको थियो— राजपरिवारले के भन्ने हो भनेर । तर राजारानीले फिल्म मात्र मन पराएनन् तुरुन्तै दुई हजार बक्सिस दिने घोषणा गरे । फिल्मको टोली जय नेपाल हलबाट निस्कँदा काम फत्ते भएको सन्तुष्टि मात्र थिएन गोजीमा दुई हजारको गह्रुँगो थैली पनि थियो । उसबेलाको दुई हजारले काठमाडौँमा धेरै कुरा किन्न सकिन्थ्यो । 

२०२२ असोज १ गते यो फिल्मको सार्वजनिक प्रदर्शन भयो । अरुतिर के कसो भयो थाहा भएन तर जय नेपाल हलमा भने १ हप्तासम्म यो फिल्मको टिकट पाउन मुस्किल थियो । यही फिल्मका कारण दुर्गाप्रसादलाई पछिसम्म पनि जय नेपाल जाँदा कर्मचारीले चिनेर टिकटको पैसा नलिई फिल्म हेर्ने अनुमति दिन्थे ।

दुर्गाप्रसादले ‘आमा’पछि ‘हिजो आज भोलि’मा पनि सानो भूमिकामा अभिनय गरे । यसबीचमा सूचना विभागको प्रचार प्रसार विभागले ‘परिवर्तन’ भन्ने सिनेमा पनि बनायो । तर दुर्गाप्रसाद यी सिनेमामा लेखकका रूपमा संलग्न भएनन् । उनी सूचना विभागका अरु नै काममा व्यस्त भए । तर नारायण बाँस्कोटा सूचना विभागको निर्देशकबाट दायाँबायाँ लागेसँगै दुर्गाप्रसादलाई अरु नै जिम्मेवारीमा लगाइयो । यसो गर्दागर्दै पनि उनले १० वर्ष बिताए । तर २०२८ सालमा अति भएपछि जागिरबाट राजीनामा दिएर बनारस फर्किए । 

सिनेमा बनाउँन्जेलसम्म टोलीलाई नियमित काम गरे जस्तो मात्र महसुस भएको थियो तर यही नियमित काम ऐतिहासिक बन्छ भनेर उनीहरूले उतिविधि ख्याल गरेका थिएनन् । अहिले पहिलो फिल्मको लेखकको रुपमा आफ्नो चर्चा हुँदा मात्र उनलाई ‘स्पेसल’ अनुभव हुन्छ । 

‘हामीले सिनेमा बनाउँदा धेरै अपेक्षा गरेका थिएनौँ । मात्र नेपाली सिनेमा बनाउँदै छौँ भन्ने थियो,’ दुर्गाले भने , ‘तर हामीले गम्भीर रुपमा नलिएको यही कामले देशमा सिनेमा उद्योग बनाउने गोरेटो कोरेको देख्दा खुसी लाग्छ ।’


 
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
ad
x