सिनेमा

विद्यार्थी बन्न नपाएका विद्याहरूको कथा

विमल आचार्य |
भदौ २४, २०७९ शुक्रवार १६:१२ बजे

कतिपय सिनेमा यस्ता हुन्छन्, हेर्दाहेर्दै बिर्सिइन्छन् । कतिपय यस्ता हुन्छन्, हलबाट निस्केर घर/अफिस आइपुग्दा हेरेको के हो, मनबाट उत्रिजान्छन् । तर, कतिपय सिनेमा यस्ता पनि हुने रहेछन्, हेरेको लामो समयसम्म मनमा बसिरहने । यस्तै एक फिल्म हेर्ने मौका जुर्यो, ‘ऐना झ्यालको पुतली’ । 

हेरुन्जेल फिल्मसँगसँगै अनेक भावमा चुर्लुम्म डुबिइयो । हेरुन्जेल मात्र के र, हेरिसकेपछि पनि मनको पर्दामा उही सिनेमा मात्र हेरिरहिएको छ । सिनेमाका एकेक दृश्य मनभरि ओसारिएका छन् । 


सिनेमाका सबैजसो दृश्यले मलाई भित्रैसम्म छोए । ठेलमठेल गर्दै मनभित्र छिरेका दृश्य आँखैमा छन् । दृश्य मभित्र छिरे र ती आँसु बनेर निस्किए । अनेक खाले भावुकताहरूको बाढीमा म बगिरहेँ । ती भाव व्यक्त गर्न शब्दको अभाव भइरहेछ, यति बेला मलाई । 

‘ऐना झ्यालको पुतली’ (ऐझ्यापु) हेरिसकेपछि पहिलो दिन त म धेरै बोल्नै सकिनँ । दोस्रो दिनदेखि भने ऐझ्यापुको प्रशंसामा घर र अफिसमा एकेक घण्टाभन्दा बढी बोलिसकेँ हुँला । अझै बोलिरहेकै छु । ट्रेलर नै पाँच पल्ट हेरेको फिल्म पनि सायद यही होला । एउटै सिनेमाबारे ट्वीटर र फेसबुकमा पटकपटक मैले पहिला लेखेको थिइनँ । 

ऐझ्यापु सुन्दर छ ।  

कसरी सुन्दर ? किन सुन्दर ? सुन्दरताको जवाफ दिन भने साह्रै गाह्रै छ । महसुसलाई मुखमा ल्याएर बोल्नु सकसपूर्ण हुने रहेछ । ‘सुन्दरताको अर्थ तथा परिभाषा स्पष्ट पार’ भन्ने प्रश्न जति असुन्दर कुरा सायद लोकमा केही छैन होला । 

सुरुमा नामकै कुरा, ‘ऐना झ्यालको पुतली’ । यति बिम्बात्मक नाम अचेल खासै देख्न पाइँदैन । सिसाको झ्यालमा अड्केको पुतली जो बाहिरी संसार नियाल्छ तर निस्किन सक्दैन । यस्तै अर्थ होला सायद । उसो त कलामा अर्थ निकाल्ने काम पनि व्यर्थ हो । बहुल अर्थ जब बन्छन्, कलाको सार्थकता त्यहीँ छ । 

ऐझ्यापुको आरम्भ र अन्त्य पुतलीबाट हुन्छ, नामअनुसार । उड्न चाहने पुतली अन्ततः पुतलीले त बन्छे तर अर्कै पुतली । कथाकार अर्चना थापाले भनेझैँ ‘कठपुतला’ बन्छे । जसले आरम्भमा झुसिल्किरोलाई पुतली बनाएर उडाउँछे, उही पुतलीलाई निम्नवर्गीय–‘उच्च’लैंगीय सत्ताले बालखैमा थेचार्छ । यहाँ नामको ‘पुतली’ नारी सुन्दरताको परम्परागत कायिक उपमाका रुपमा हैन, स्पष्ट रुपमा स्वच्छन्द स्वप्निल उडान भर्न चाहने सपनाको उपमा हो । 

ऐझ्यापु शिक्षाको भोकको कथा हो । शिक्षासँगै आउँछन् सपना कतिपय । नेपालमा शिक्षाको संघर्ष कठोर थियो र छ । शिक्षा पाउन गर्नुपर्ने अतिरिक्त संघर्ष नेपाली समाजको दुःख हो । तर, धेरैले भने जस्तो यो विगतको कथा भने होइन । यो वर्तमानकै कठोर यथार्थ हो । आफूले अहिले भोगिएको छैन भन्दैमा यसलाई तीन दशक पुरानो कथा भनेर टकटकिन मिल्दैन । यो ऐतिहासिक कला अवश्य हो तर ‘ऐतिहासिक कथा’ भने होइन । किन ?

भर्खरै १२ कक्षाको रिजल्ट भयो । १२ कक्षाको रिजल्टमा आएको तथ्यांकमा मैले यो सिनेमा पाएँ । आजभन्दा ठीक १२ वर्ष पहिले देशभर १ कक्षामा पढ्ने विद्यार्थी झन्डै १५ लाख थिए । अस्ति भर्खर १२ को परीक्षा दिने विद्यार्थी साढे तीन लाख मात्र रहेछन् । कक्षा १२ सम्म माध्यमिक तह हो । यो जुनसुकै पेसा/व्यवसाय गरे पनि चाहिने तह नै हो । अब भन्नुस्, पछिल्लो १२ वर्षमा हराएका १२ लाख विद्यार्थी खै ? माध्यमिक तहसम्म आउँदा १२ लाख विद्यार्थीले स्कुल छोडिसके, अनि हामी यसलाई अतीतको कथा भनौँ ? ऐझ्यापु हराएका तिनै १२ लाख विद्या अधिकारीहरूको संघर्षको कथा हो । प्वाँख र पखेटा काट्ने कैँची केही फरक होलान् तर पुतली अर्थात् सपनाहरूका शत्रु उही र उस्तै छन । नाम विद्या अधिकारी छ, विद्यार्थी हुन पाउनु छैन । 

यो सपरिवार बसेर हेर्नुपर्ने पारिवारिक सिनेमा हो । पति/पिताहरूले प्रायश्चित गर्दै हेर्नेछन् । श्रीमती/आमाहरूले पुरुषसत्ताले आफूहरूलाई कति गलाएको थियो/छ, ऐना हेर्दै ऐना हेर्नेछन् । दिदीहरू पढ्ने रहर हुँदाहुँदै बालविवाहमा हेलिनुपरेको भूत/वर्तमानमा पुगेर कहालिनेछन् । भाइहरू चकचक र थकथकमा आफैँलाई पाउनेछन् । जसले यो गाउँले पहाडी संसार भोग्न पाएनन्, उनीहरु झनै चकित हुनेछन् ।

गाउँमा मावि स्कुल नहुनु । एक/दुई हजार रुपैयाँ पनि गाउँमा जुटाउन कठिन हुनु । छोरीलाई टाढा पठाउन नचाहनु । टाढा हुँदा पोइल जान्छन् भन्ने सोच हुनु । तीतो यथार्थ पस्किइएको छ, ऐझ्यापुमा

बाल्यकालका साथी र बिठयाइँहरू सर्लक्क सम्झिइनेछ । त्यो खोला, त्यो पौडी, ती चरा र झ्याउँकिरीको संगीतले लठ्याउनेछ । त्यो गुलेली, त्यो सिनेमा हल, त्यो मुना किताब, ती रेडियोका समाचार र धुन, वनभोज र खिरहरूले हामीलाई चुलबुल बनाउनेछ । साथी सहर हिँड्दा साथी हिँडेको बाटो हेरिरहने वसन्त बनेर हामी अतीतमा पुग्नेछौँ । पहिलो महिनावारी हुँदा आफूले भोगेको शारीरिक/मानसिक घटनामा महिलाहरूले आफू पाउनुहुनेछ ।

‘पहाड घर भएका’ गाउँले-सहरियालाई यसले सीधै गाउँमै पुर्‍याउनेछ । गाउँघरको नोस्टाल्जियामा बाँचेका दर्शकलाई गाउँ सम्झाउनेछ भने गाउँघर भोग्न नपाएका सहरी दर्शकलाई पहाडी गाउँ मज्जैले देखाउनेछ । गाउँघर त धेरै सिनेमामा देखिन्छ नै पनि । तर गाउँको बास्ना ? यसमा बास्ना छ । जीवन छ । माओवादी विद्रोह सुरु हुनुभन्दा पहिलेको, हुने बेलाको पहाडी गाउँको झल्को यसमा छ । चुहिएका खरका छानाहरूभित्र मेलापात र वनभोजमा मन खोलेर नाचगान गर्नेहरूको सरल सौन्दर्य यसमा छ । 

बाल्यकालमा १० रुपैयाँसम्मको चरम अभावले दिएको मानसिक दबाब र तनाव सबैजसो गाउँले नेपालीको साझा नै हो । यसमा गरिबी र अभावको झर्काेलाग्दो चर्काचर्की छैन, बाझाबाझ पनि उस्तो छैन । तर पात्रहरूको मानसिक द्वन्द्व गहिरो छ । मौनतामै सघन संवाद भएका छन् ।  

सधैँजसो थाकेकी, गलेकी देखिने दाउरी सिरु विष्ट मेरै आमा हुन् । कान बुच्चै राख्ने मेरै आमा हुन् । तुलसी मठमा बत्ती बाल्ने र तेल पोख्ने मै हुँ । आमा नाच्दा लजाउने मै हुँ । अब कहिल्यै घर आउँदिनँ भनेर घुर्क्याउने पनि मै हुँ । दिदीलाई लुकेर हेर्ने र खिर दिने पनि मै हुँ । घरको धनमाल, अन्नपात बेच्दै रक्सी खाने मेरै आफन्त, छिमेकका बाहरू हुन् । 

कतिलाई लाग्ला, सिरु रक्स्याहा रेडियोहा मुढो बूढोसँग किन नभिडेकी ? अन्न बेच्दा छोरीलाई साथ दिनुपर्नेमा बूढैलाई किन साथ दिएकी ? महिनावारी बार्ने चलनको किन विरोध नगरिएको ? यस्ता प्रश्न निर्देशकलाई सोध्नुभन्दा आफैँले सोच्नु उत्तम होला । 

पात्रले मुखले विरोध गरेका छैनन् भन्दैमा समर्थन गरे भन्न मिल्दैन । मुखबाट निस्किएका शब्दसँगै मुखाकृतिमा कुँदिएका शब्द पनि हामीले बुझ्नुपर्छ । सिनेमामै बड्याङबुडुङ विद्रोह देखाउने कि दर्शकको सोचमा विद्रोह रोप्ने ? अनि त्यो वर्गीय, धार्मिक, लैंगिक, भौगोलिक, कालिक चेतनामा नछिरी अहिलेको आग्रहले टिप्पणी गर्नु हतारो पनि हुन्छ । मुना पत्रिकालाई सिनेमाभरि किताब भनियो, कतै पत्रिका नै भनिएन भने जस्तै तर्क हुन्छ ।  

कुलतमा फसेको मानसिक रोगीसँग भिड्नु, डायलगै डायलग दिनु कुनै क्रान्तिकारी कदम पनि हैन । उसलाई पिट्नु प्रगतिशीलता पनि हैन । धामीझाँक्रीकहाँ नलगेर यहाँ औषधी खुवाइएको छ, यो हो प्रगतिशीलता । अझ बा पुस्ताले डाक्टरकहाँ लैजाने सल्लाह दिएका छन्, सुन्दर । 

घरमा सुत्दा होस् वा स्वस्थानी पढ्दा, पति/पिता घरमा अनुपस्थित छ । ‘कबड्डी’ शृङ्खलाहरूमा जस्तो भट्टीका लम्बेतान दृश्य यसमा कुनै छैनन् तर बूढो भट्टीतिरै छ भन्न यसले मज्जाले सकेको छ । बाबुले पैसा चोरेको देखाइएको छैन, तर चोर प्रस्ट छ । श्रीमान्–श्रीमतीको बाझाबाझ देखाइएको छैन तर सम्बन्ध तीतो छ, प्रस्ट छ । हातमा मन्जन हालेर बाबुका खुट्टामा पिच्च थुक्ने छोरो र बाबुलाई घुरेर हेर्ने वा पूर्ण बेवास्ता गर्ने छोरीमा विद्रोहको मौन ज्वाला छ । 

घरभित्र त सबै काम आमाहरूको थाप्लोमा छँदै छ, बाहिर पनि महिलाकै जिम्मा छ भन्ने पहिलो दृश्यमै देखाइएको छ । झिँगा धपाइदिएर फकाईफकाई गाई दुहुँदै गरेको यो दृश्यले महिलाको दोहनको कथा भन्छ । महिलाको दोहनमा पितृसत्ताले महिला नै उभ्याउँछ । त्यसैले त  वरिष्ठहरू बुहारीकी शत्रु सासू भन्छन् ।

यो नारीवादी सिनेमा हो । नारीवाद र्‍याडिकल मात्र छैन, लिबरल पनि छ । यसमा आमा र छोरीको मूल कथा छ । रेडियोमा समेत पुरुषको एकाधिकार छ । नानीहरू घरमा बाल कार्यक्रम सुन्न पाउँदैनन् । दिदीको कविता चरनक्षेत्रमा सुन्नुपरेको छ । पति/पिताद्वारा सताइएका छन्, पात्र । दुःख दिने पति र पिताप्रति घृणा छ तर त्यो र्‍याडिकल तहमा छैन । सजाय हैन, सुधार । यसको राजनीति ।  

यो सिनेमाको अन्त्यमा जसरी विद्याको शिर पितृसत्ताले निहुराएको छ मलाई सम्झना हुन्छ- सानिमा-दिदीहरू म बिहे गर्दै गर्दिनँ भन्दै रोएको तर बाध्य भएर रुँदैरुँदै घर छोड्नुपरेको आर्तनाद । 

बालविवाह नेपालमा त्यति बेला बाक्लै थियो । बालविवाह भन्दा पनि बालिका विवाह चैँ बाक्लो थियो । हाम्रा आमा, सानिमा, दिदीहरू पढ्ने रहर हुँदाहुँदै बिहेको डोरीमा कसिन बाध्य भए । हाम्रा बाहरू पाठशाला धाउँदा फुपूहरू पाकशालामा घोटिन्थे । मामाहरूले रोजीरोजी पढ्न पाउँदा आमाहरूले स्कुलको मुखै देख्न पाउनुभएन । सानिमा/दिदीहरूले स्कुलको मुख देखे पनि थप पाइला चाल्नै पाउनुभएन । 

यो सिनेमाको अन्त्यमा जसरी विद्याको शिर पितृसत्ताले निहुराएको छ मलाई सम्झना हुन्छ- सानिमा-दिदीहरू म बिहे गर्दै गर्दिनँ भन्दै रोएको तर बाध्य भएर रुँदैरुँदै घर छोड्नुपरेको आर्तनाद । 

तर, ऐझ्यापुमा आमाले छोरी भएकै कारण विद्यालाई नपढाएकी हैनन् । मूल कुरो, पैसाको दुःख हो । पति चोर हो । वर्गीय खाडल यति गहिरो छ कि त्यहाँ पाताल पुग्ने गरी पितृसत्ताले भ्वाङ पारेको छ । गहना बेचेर जम्मा गरेको पैसा मुढो बूढोले उडाइदिएको छ । 

जागिर, पेसा, उद्यम भएन भने गाउँमा त्यतिबेला पैसाको मुखै देख्न पाइँदैन । बाल्यकालमा १० रुपैयाँ पनि नभएर मेरी आमाले पटकपटक हुकुम दाइसित सापटी लिएर घर चलाएको, हाम्रो सरकारी फिस तिरिदिएको मै आफैँले भोगेको छु । विद्याले अर्काे गाउँ गएर ९ कक्षा पढ्न पाइनन् । म आफू पनि अर्काे जिल्ला गएर आईए राम्ररी पढ्ने पुतली सपना हुँदाहुँदै सल्यानमै बस्न–पढ्न बाध्य भएँ । एसएलसीपछि आफ्ना साथीहरू कोही दाङ, कोही नेपालगन्ज, कोही काठमाडौँ छिर्दा म भने बडो दुःखी भएर सल्यान क्याम्पसमा पढ्थेँ । यी सब कुराले मलाई आफ्नै विगतमा पुर्‍यायो । 

गाउँमा मावि स्कुल नहुनु । एक/दुई हजार रुपैयाँ पनि गाउँमा जुटाउन कठिन हुनु । छोरीलाई टाढा पठाउन नचाहनु । टाढा हुँदा पोइल जान्छन् भन्ने सोच हुनु । तीतो यथार्थ पस्किइएको छ, ऐझ्यापुमा । 

अनि मलाई यसको अर्काे नौलो र सुन्दर पक्ष के लाग्यो भने, सिनेमा ०५२ सालदेखि सुरु हुन्छ तर यसमा माओवादी विद्रोह छिराइएको छैन । रेडियोमा समाचार सुनिन्छ, बस् । अचेलका केही सिनेमाकार/साहित्यकारलाई बुझ्नु र सुझ्नु, आवश्यक न आवश्यक जुनै कथामा पनि टुच्च माओवादी विद्रोह छिराउने चाह हुन्छ । तर, यो सिनेमामा बाह्य द्वन्द्वको सपाट प्रस्तुतिबिना आन्तरिक द्वन्द्व घनीभूत देखाइएको छ । के देखाउने वा के लेख्ने त धेरैलाई थाहा होला तर के नदेखाउने भन्ने सुजित बिडारीजस्ता कमै निर्देशकलाई मात्र थाहा हुँदो हो । यस्तो लाग्छ, सिनेमामा वाहियात भन्ने चीज केही छैन । 

सुन्दर साहित्य/सिनेमा त्यो हो जसले झिनामसिना भनिएका विषय बोक्छ र तिनलाई कथानक र पात्रताको कलात्मक संयोजनद्वारा जीवन्त बनाइदिन्छ । यसले दिमाग खराब र मन सफा एकसाथ गराउँछ । कलाको शक्ति भनेकै यहीँनेर छ । 

यो सिनेमा शिक्षाको पक्षमा छ । बालविवाहको विरोधमा छ । पितृसत्ताको विरोधमा छ । तर कतै पनि मोटामोटा नारा र ‘क्रान्तिकारी’ कथन छिराइएको छैन । महिलाको दुःख देखाउँदै पुरुषलाई पश्चात्तापमा पनि लैजान्छ । सहानुभूतिशील बनाउँदै सहअस्तित्वको पाठ सिकाउँछ । मानसिक बिरामीलाई उपचार गर्ने तरिका सिकाउँछ । 

बालबालिकाको मन चोखो हुन्छ । आँखा चंख हुन्छन् । ओठ सत्य हुन्छ । शैली सुन्दर हुन्छ । बालबालिकाको आँखाबाट चिहाइएको यो सिनेमा चोखो छ, सत्य छ र सुन्दर छ । अनावश्यक कारुणिक बनाउनलाई मान्छे मार्ने, दुर्घटना गराउने काम यसमा गरिएको छैन । भट्टीको दृश्यबिना पनि जँड्याहा देखाउन सकिन्छ । गरिबी शब्द उच्चारण नगरी चरम गरिबी देखाउन सकिन्छ । यही हो सरलताको शक्ति ।

सिनेमाको प्राविधिक पाटोबारे मलाई धेरै थाहा छैन । तर, हेरुन्जेल आँखा कहीँ पनि बिझाउँदैन, कानलाई कतै पनि दिक्दार लाग्दैन । सुरुमै नारायण गोपालको स्वरले बाँध्छ । सकारात्मक फिल गराउँछ । 

संगीत र ध्वनि, रङ र भेषभूषा गजब छ । विद्यामा कविता फुर्दाको पलङपोस फूलदेखि फूलसम्मको फक्राइ सुन्दर छ । चराहरूको स्वर कति मीठो सुनिन्छ । मीठो बनाउनलाई धेरै पोतपात पारिएको जस्तो पनि लाग्दैन । स्वाभाविकता नै सुन्दरता हो । जसले पहिलोपल्ट हलमा सिनेमा हेरे उनै बाल कलाकारहरूले अभिनय नगरी यहाँ अभिनय गरेका छन् । 

यो सिनेमा वर्षाैं वर्ष सम्झिइने सिनेमा हो । यो लामो समयसम्म चर्चा हुने सिनेमा हो । सरल कथामा विशिष्ट छाप छोड्ने यसका लेखक तथा निर्देशक सुजित बिडारी बधाइका पात्र छन् । सिनेमाको सम्पूर्ण टोलीलाई बधाइ छ । 

हल्लाबाज हलवाला र हामी दर्शकसित मेरो विनम्र अनुरोध ! यस्ता सिनेमा हेरौँ । हेर्यौँ भने फेरि फेरि यस्ता सिनेमा बनाउनेलाई ऊर्जा मिल्नेछ । अन्तर्राष्ट्रिय फोरमहरूमा पुरस्कृत, सम्मानित, प्रशंसित, समीक्षित पुतली देशभित्र उड्न नपाउनु लाजै हुने कुरा हो । यस्ता पुतलीहरूलाई फक्रिन दिऊँ, कक्रिने नबनाऊँ । 


 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x