सिनेमा

फागुन १९ मा ‘परस्त्री’सँग आँचलको ‘वर एन्ड वधु’

इकागज |
भदौ २, २०७९ बिहिवार १०:५७ बजे

काठमाडौँ - मिलन चाम्सको निर्देशनमा तयार भइहेको चलचित्र ‘वर एन्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा चलचित्रको छायांकन सकेर नेपाल आए लगतै यसको निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको हो । काठमाडौँ हुने सुटिङ भने बाँकी नै रहेको छ । यही बीच आँचल दसैँअघि ‘नाइँ नभन्नू ल ६’को सुटिङको तयारीमा रहेकी छिन् । 

निर्देशक चाम्सले दिएको जानकारी अनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो चलचित्र फागुनको १९ गतेबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए ।


यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्बिरसमेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । चलचित्रमा जानुका थापाको लगानी छ ।भदौ र असोजपछि नेपाली चलचित्रका निर्माताको आँखा फागुनमा केन्द्रित देखिएको छ । यही मितिमा ‘परस्त्री’ नामको फिल्मले पहिले नै प्रदर्शन मिति घोषणा गरिसकेको छ । 


Author

थप समाचार
x