सिनेमा

‘कृष्णलीला’मा अटिजम रोगीको भूमिका निभाउन पुष्पले गरेको तयारी

इकागज |
साउन २६, २०७९ बिहिवार ११:० बजे

काठमाडौँ- पुष्प खड्काले उत्कृष्ट नायकको रुपमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाएको फिल्म ‘मंगलम’मा न्यूरोलोजिकल डिस अर्डरबाट पीडित युवाको भूमिका निर्वाह गरेका थिए । अब, भदौ ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कृष्णलीला’मा भने उनले अटिजम रोगी युवाको भूमिकामा देखिदैछन् ।

यो फिल्म लीलासँग कृष्णको प्रेम र अटिजमका कारण समाजले ती युवालाई गर्ने व्यवहारको वरिपरि घुमेको छ । पुष्पले यो भूमिका गर्न तयारी गरेका थिए । ‘यो भूमिका निक्कै चुनौतीपूर्ण थियो । फिल्मको अफर आउनसाथ मेरो दिमागमा केही मानिसहरु घुमे । एकपटक एउटा भाइलाई म्युजिक भिडियो छायांकनका क्रममा भेटेको थिएँ । ती भाइ बिस्तारै बोल्थे, अस्वभाविक हाँस्थे ।


उनमा अटिजमको लक्षण थियो,’ उनले तयारीका लागि भेटेका मुख्य पात्रको स्मरण गर्दै भने । ती भाइलाई भेट्नका लागि पुष्पले उनका बाबुआमालाई फोन पनि गरे । तर, उनीहरुका बाबुआमाले छोरालाई एक मिनेट पनि पुष्पसँग बस्न दिन तयार भएनन् । पुष्प भन्छन्–‘मलाई उहाँहरुले छोरालाई एक मिनेट पनि बाहिर निस्कन नदिने बताउनुभयो । यसपछि, मलाई अटिजम मैले सोचेभन्दा पनि संवेदनशील रहेछ भन्ने महसुस भयो ।’

बाबु आमाले भेट्न नदिएपछि पुष्पले ती भाइलाई आफैँ फोन गरेका थिए । पुष्प भन्छन्–‘मैले ती भाइलाई २ घन्टामा घरमै ल्याइदिने भनेर बाबु आमालाई विश्वस्त तुल्याएपछि बल्ल भाइसँग गफ गर्ने मौका पाएँ ।’ पुष्पले ती भाइको हाउभाउलाई नजिकबाट नियाले, केही भिडियोहरु पनि खिचे । पछि ती भिडियोहरु छायांकनका क्रममा काम लागेको उनको भनाइ छ । यो फिल्मका लागि पुष्पले आशान्त शर्मासँग १५ दिनको अभिनय तालिम समेत लिएका थिए । फिल्ममा बच्चा जस्तो व्यवहार देखाउनुपर्ने भएकाले पुष्पले ४ वर्षकी आफ्नी भान्जीसँग पनि समय बिताएका थिए ।

पुष्प भन्छन्–‘बच्चाहरु चन्चले हुन्छन् । हात खुट्टा दिमाग चाडो चल्ने हुन्छ । मैले भान्जीसँग समय बिताउँदा ती गतिविधि पनि नियालेको थिएँ ।’ पुष्पको दिमागमा अटिजमलाई लिएर धेरै कुरा खेल्न थालेका थिए । उनी भन्छन्–‘हाम्रो समाजमा यस्तो समस्या भएका व्यक्तिहरुलाई हेप्ने गरिन्छ, विश्वास गरिदैन । कतिपयले त मजाक समेत उडाउने गर्छन् । तर, यस्ता पात्रहरुलाई माया गर्नुपर्छ । फिल्ममा हामीले यही सन्देश दिन खोजेका छौँ ।’

फिल्म छायांकनका क्रममा कतिपय दृश्यमा त पुष्प भक्कानिएका पनि छन् । उनले अगाडि भने–‘मैले यस अवधिमा अटिजम भएको पात्रलाई ५० प्रतिशत मात्र वुझ्न सकेँ जस्तो लाग्छ । मेरो अभिनय हेरेर दर्शकले अटिजमबारे २० प्रतिशतमात्रै पनि वुझ्नु भयो भने म सफल भएको मान्नेछु । पुष्पले जसरी ‘मंगलम’मा काम गर्दा न्यूरो डिसअर्डर भएको पात्रलाई बलियो तरिकाले पर्दामा निर्वाह गरेका थिए, यसपटक अटिजम भएका पात्रको भूमिकाका लागि पनि शत प्रतिशत दिने कोशिस गरेका छन् । राम्रो अभिनय गर्नका लागि हिरोइज्म मात्र नभएर पात्रबारे गहिरो अध्ययन पनि आवश्यक पर्ने पुष्पको भनाइ छ । यो फिल्म भदौ ३ मा रिलिज हुँदैछ । दीपक वलीको निर्देशनमा बनेको फिल्ममा श्रद्धा क्षेत्री, रवीन्द्र झा, बुद्धि तामाङ आदि कलाकारको पनि अभिनय रहेको छ । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । 


Author

थप समाचार
x