सिनेमा

‘बाहुबली’लाई ८, लाख ‘लाइगर’ ल्याउन २ करोड

पाँच वर्षमै कहाँबाट कहाँ पुग्यो नेपालमा दक्षिण भारतीय फिल्मको बजार ?

सामीप्यराज तिमल्सेना |
साउन २४, २०७९ १३:३४ बजे

काठमाडौँ - कुनै समय हिन्दी फिल्म रिलिज हुने मिति हेरेर नेपाली निर्माताले आफ्नो फिल्मको मिति तोक्थे । तर अब यसमा दक्षिण भारतीय फिल्म पनि थपिएका छन् । खासगरी दक्षिण भारतको तमिल र तेलगु भाषामा बनेका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेका छन् । 

नेपालीले भारतीय सिनेमाका च्यानलमा सबैभन्दा पहिले हिन्दीमा डब भएर आउने दक्षिण भारतीय फिल्म हेर्न थालेका थिए । पछि युट्युबमा पनि यो क्रम विस्तार भयो । खासगरी गोल्डमाइन नामक च्यानलले दक्षिण भारतका हिट फिल्मलाई सस्तोमा किनेर डब गर्दै युट्यबुमा राख्न थालेपछि टिभीसँगै नेपाली दर्शक दक्षिण भारतीय फिल्मको पारखी बने । तर यतिन्जेलसम्म पनि यी फिल्म नेपाली फिल्मका लागि थ्रेट थिएनन् । तर सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ले नेपालमा दक्षिण भारतीय फिल्मको बजार ह्वात्तै बढायो । अहिले अस्तित्वमा नरहेको दर्शना आर्टस्ले वितरण गरेको यो फिल्म उसबेला जम्मा ८ लाख नेपाली रुपैंयामा नेपाल भित्रिएको थियो । तर नेपालमा अभूतपूर्व व्यापार गरेको यो फिल्मले १ करोड बढी मुनाफा दिएको थियो । तर ५ वर्षमा (दुई वर्ष कोभिड १९ का कारण कुनै फिल्म रिलिज भएनन्) वितरकले तिर्ने यो रकम र फिल्मले पाउने मुनाफामा आकाश जमिनको फरक आएको छ ।  


त्यसयता नेपाली वितरकले दक्षिण भारतीय फिल्म नेपाल ल्याउन महंगो मूल्य तिर्न थालेका छन् । यसको २ वर्षपछि आएको ‘बाहुबली’का लागि नेपाली वितरकले १ करोड नेपाली रुपैंया तिरेका थिए । यसैगरी सुरुमा एकदमै सस्तोमा नेपाल आएको ‘केजीएफ’को दोस्रो भागका लागि नेपाली वितरकले कीर्तिमानी रकम तिरेका थिए । 
नेपालका हलमा ‘कबड्डी ४’ ले कमाइको नयाँ रेकर्ड कायम नगर्दासम्म ‘केजीएफ २’ले नेपालका हलबाट २० करोड हाराहारी ग्रस गरेको तथ्यांक छ । अहिले पनि देशको सबैभन्दा ठूलो सिनेमा हल चेन ‘क्यूएफएक्स’मा सर्वाधिक कमाइ गर्ने फिल्म ‘केजीएफ २’ रहेको हल सञ्चालकले बताएका थिए । यो फिल्म नेपालमा १ करोड १० लाख भारुमा आएको सरकारी रेकर्डमा उल्लेख । जुन रकमलाई नेपालीमा रुपान्तरण गर्दा १ करोड ७५ लाख हाराहारी हुन आउँछ । यसमा विदेश पैसा पठाउन लाग्ने खर्च आदि हिसाब गर्दा यो रकम २ करोड बराबर हुन आउँछ । तर यसका लागि वितरकले थप रकम तिरेको स्रोत बताउँछ । यही अवस्था ‘आरआरआर’को पनि छ । सरकारी रेकर्डमा यो फिल्म पनि १ करोड भारुमा किनिएको हो जुन नेपालीमा रुपान्तरण गर्दा १ करोड ६० लाख हुन आउँछ तर यो फिल्मलाई पनि वितरकले २ करोड २५ लाख हाराहारीमा नेपाल भित्र्याएका थिए । यसैगरी तेलगु फिल्म ‘पुष्पा’ पनि नेपालमा औसत हिन्दी फिल्मभन्दा बढी पैसामा नेपाल आएको थियो जबकि यो फिल्म न सिक्वेल थियो न मुख्य अभिनेता अल्लु अर्जुनको कुनै फिल्म पहिला नेपालका हलमा रिलिज भएको थियो । 

सरकारी रेकर्डभन्दा पर रहेर वितरकले कसरी पैसा पठाउँछन् ? स्रोत भन्छ, ‘केही त अवैधानिक रुपमा पनि जाँदो हो तर केही भने वैधानिक रुपमा पनि जान्छ । त्यो भनेको कमजोर फिल्मलाई बढी पैसा लिएर किनेको देखाउने । असलमा त्यो पैसा ठूलो रकम तिरेर ल्याउनुपर्ने फिल्मका लागि पहिले नै पठाइसकिएको हुन्छ ।’ 

जस्तो कि केही समयअघि नेपालका हलमा भारतीय महिला क्रिकेटर मिथालीराजको जीवनीमा आधारित ‘स्याबास मिठ्ठु’ भन्ने फिल्म रिलिज भएको थियो । यो फिल्मका लागि वितरकले महंगो रकम तिरेको रेकर्ड देखिन्छ । तर वास्तविकतामा यस्ता  फिल्म नेपालका वितरक  किन्नै चाहदैनन् । किने पनि २–३ लाखभन्दा बढी पैसा हालेका हुँदैनन् । तर यो फिल्म यसको ब्रान्ड भ्यालुभन्दा महंगो रकममा किनिएको छ । सम्भवतः यो फिल्मका लागि पठाएको बाँकी पैसा त्यही कम्पनीले वितरण गर्ने अर्को ठूलो फिल्म नेपाल ल्याउनमा खर्च हुन्छ । 

अहिले आउँदो हप्ता रिलिज हुने ‘लाल सिंह चढ्ढा’लाई दुई करोड बढी नेपाली रुपैँया तिरेर नेपाल ल्याएको चर्चा छ । तर सरकारी रेकर्डमा यो फिल्म १ करोड २५ भारुमा नेपाल ल्याउन लागेको देखिन्छ । 

यसैगरी अबको दुई हप्तापछि रिलिज हुने ‘लाइगर’लाई पनि वितरकले ६० लाख भारु तिरेका छन् । तर यो फिल्म पनि नेपालका हलमा आइपुग्दा वितरकले २ करोड हाराहारी खर्च भइसकेको हुनेछ । तेलगु र हिन्दीमा एक साथ खिचिएको यो फिल्म तेलगु अभिनेता विजय देवरकोंडाको पहिलो नेपाल रिलिज हो ।

वितरक तथा फिल्म निर्माता प्रचन्ड श्रेष्ठ दक्षिण भारतीय फिल्मको व्यापार विश्वभर नै बढेको र त्यही कारण यिनको रिलिज अधिकारका लागि पनि वितरकले चर्को रकम तिर्नुपरेको बताउँछन् । 

‘विश्वभर नै यतिबेला दक्षिण भारतीय फिल्मको व्यापार बढेको अवस्था छ । यसमा थप सत्य के हो भने अरुतिर १०–२० प्रतिशतले बढ्यो भने नेपालमा झन्डै सय प्रतिशतले यो व्यापार बढ्छ । किनकि दक्षिण भारतीय फिल्म र हाम्रा दर्शकको रुचि मिल्छ । बजार बढेको देखेपछि उनीहरूले पनि भाउ बढाउनु स्वाभाविक नै हो,’ प्रचण्ड भन्छन् । उनले पान–इन्डियाका नाममा बनेका फिल्म नेपालमा ल्याउन हिन्दीभन्दा धेरै रकम तिर्नुपर्ने सिलसिला अबको दिनमा झन् बढ्न सक्ने संकेत गरे । 

‘महामारीपछिको मनोविज्ञान र उनीहरूले बनाइरहेका फिल्ममा गज्जबको संयोग देखिइरहेको छ । भारतमै पनि हिन्दी बेल्टमा उनीहरूले आधिपत्य जमाइसके । हिन्दीमा जे हुन्छ यहाँ पनि त्यही हुने त हो । एकाध वर्षमै वितरकले यस्ता फिल्म लिनलाई दोब्बर तेब्बर रकम हाल्नुपर्ने दिन धेरै टाढा छ जस्तो लागेको छैन यदि उनीहरूले यस्तै फिल्म बनाइरहे भने ,’ प्रचण्ड बताउँछन् । 

यता नेपाली फिल्मले सुको नकमाउने उता डब फिल्म ल्याउन दुई करोड खर्चन रत्तिभर धक नमान्नुपर्ने अवस्था, नेपाली फिल्मको बजार असन्तुलित हुँदै गएको संकेत हो । यो असन्तुलन ठीक पार्न प्रतिस्पर्धी फिल्म बनाउनेबाहेक नेपाली फिल्मकर्मीसँग अर्को उपाय के होला र ?


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
ad
x