सिनेमा

‘लाखे’ भदौ ३१ मा नआउने ‘बाबरी’लाई राहत

इकागज |
साउन २२, २०७९ आइतबार १२:३८ बजे

काठमाडौँ - हतारमा फिल्म रिलिज घोषणा गर्ने र अन्तिम समयमा सार्ने नेपाली फिल्म निर्माताको पुरानै बानी हो । भदौ ३१ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘लाखे’ यही बानीको पछिल्लो कडी बनेको छ । प्रचार प्रसारमा जुट्ने समयमा यो फिल्म प्राविधिक काम नसकिएको भन्दै भदौ ३१ मा प्रदर्शनमा नआउने भएको छ । फिल्म अब कार्तिक ११ मा आउने भएको छ । 

सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, रोहित रुम्बाआदि कलाकारको अभिनय रहेको फिल्म भदौ ३१ मा धिरज मगर र अदिती बुढाथोकी अभीनित ‘बाबरी’सँगै रिलिज हुँदै थियो । ‘लाखे’ नयाँ मितिमा आउने भएपछि ‘बाबरी’लाई भने राहत भएको छ । त्यसपछिको लगत्तैको हप्ता ‘प्रेमगीत ३’ आउने र अहिलेको हाइपको हिसाबले १ हप्तामै हल खाली गर्नुपर्ने सम्भावनाबीच ‘लाखे’ले मैदान छाड्दा ‘बाबरी’लाई पहिलो हप्ता सजिलो भएको छ । 


‘बाबरी’का टिजर र दुई गीतले फिल्मको राम्रो हाइप बनाएका छन् । दुई वर्षदेखि रिलिज रोकिएका कारण निर्मातालाई फिल्म रिलिजको मिति पाउन गाह्रो परिरहेको छ । केही दिनमै ‘दुई नम्बरी’ र ‘महापुरुष’ले पनि नयाँ प्रदर्शन मिति सार्वजनिक गर्दैछन् । ‘दुई नम्बरी’ कार्तिक ४ बाट सरेर अगाडि आउने चर्चा छ भने ‘महापुरुष’ तिहारको अघिल्लो हप्ता आउने तयारी गरिरहेको छ । यो दौडमा रहेको ‘छक्का पञ्जा ४’ भने फागुनतिर लागेको चर्चा छ । 


Author

थप समाचार
x