सिनेमा

सौगातको आत्मानुभव : कन्टेन्ट हैन पटकथा नै राम्रो चाहिनेरैछ

इकागज |
साउन २०, २०७९ शुक्रबार १२:५० बजे

काठमाडौँ - ‘कागबेनी’बाट थिएटर हुँदै सिनेमामा डेब्यू गरेका सौगात मल्ल ‘लुट’बाट अभिनयका मानक बने । तर त्यसयता भने सौगात मल्ल आफैँले आफैँलाई दोहोर्याइरहेको आरोप खेपिरहेका छन् । आवरण फरक बनाउन निकै मिहिनेत गर्ने सौगातले पछिल्लो समय मुख्य भूमिकामा अभिनय गरेका फिल्मलाई भने दर्शकले नकारिरहेका छन् । ‘

कबड्डी ४’ सौगातको पछिल्लो समयको सबैभन्दा सफल फिल्म हो तर यसको क्रेडिट उनले हैन दयाहाङ राईले पाउने गरेका छन् । यही साल मात्र उनले अभिनय गरेका ८ वटा फिल्म रिलिज हुँदैछन् । जसमध्ये भदौ ३ मा प्रदर्शन हुन लागेको ‘माइकल अधिकारी’ एक हो । सौगात यो फिल्मलाई लिएर ‘सुपर’ आशावादी छन् । उनले पछिल्लो समय आफूले गरेका फिल्मध्ये यसको पटकथा उत्कृष्ट रहेको बताए । 


‘नेपाली फिल्ममा कन्टेन्ट भए पटकथा हुन्न, पटकथा भए कन्टेन्ट हुन्न । तर यो यस्तो फिल्म हो जहाँ कन्टेन्ट पनि छ र पटकथा पनि । हामीले खोजिरहे जस्तै छ यो फिल्म,’ सौगातले भने । सरोगेसीको विषयमा बनेको फिल्ममा सृष्टि श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेकी छिन् । फिल्मभित्र सौगातले उनको श्रीमान्को भूमिका निर्वाह गरेका छन् जो वास्थतविक जीवनमा पनि लिभिङ टुगेदरमा छन् र चाँडै नै विवाह गर्ने हल्ला छ । सृष्टिले फिल्मले मातृवात्सल्यप्रति एम्याथी राख्न सिकाएको बताइन् । 

सौगातलाई आफ्नो भूमिकालाई लिएर धेरै नै चलखेल गर्ने गरेको आरोप छ । उनले यो काम अरुको भूमिका प्रभावित गर्न नभई हरेक फिल्ममा फरक गरौँ भन्ने चाहानाले यसो गर्ने गरेको बताए । तर उनले जति फरक गर्ने कोसिस गरे पनि हरेक फिल्ममा सौगात उस्तै देखिन थालेको आरोप भने स्वीकार गरेनन् ।
‘त्यो त मान्दिन,’ उनले भने, ‘मेरो चरित्र कहिँ पनि दोहोरिएको छैन । यति त ग्यारेन्टी गर्न सक्छु ।’उनले बच्चैदेखि आफू हिरो बन्ने र हिरो बनिसकेपछि वर्षको एउटाभन्दा बढी फिल्म नखेल्ने संकल्प लिएको भए पनि अहिले त्यो संकल्पमा कायम हुन नसकेको बताए ।

‘यो नभए त्यो चल्छ कि भन्ने हुँदो रैछ । यही आशमा धेरै फिल्म खेल्दै गएँ । अब त विनाकाम बस्न नसक्ने बानी नै भइसक्यो,’ सौगातले भने । तर आफूले खेलेका फिल्मको असफलता आफ्नो मात्र नभएर सम्पूर्ण टिमको रहने उनको जिकिर थियो ।‘एउटा एक्टरले मात्र गरेर केही नहुने रैछ । राम्रो फिल्म बनाउन आफैँ तात्नुपर्छ भन्ने लागेर निर्माणमा हात हालेको हुँ,’ उनले भने । उनले निर्माण गरेको ‘राधा’ भदौ १० मा रिलिज हुँदैछ जहाँ पनि मुख्य भूमिकामा सृष्टि छिन् । 


Author

थप समाचार
x