सिनेमा

स्वघोषित नम्बर वन पूजाको फिल्म दुई दिन पनि हलमा टिकेन

इकागज |
साउन १, २०७९ आइतवार १०:३० बजे

काठमाडौँ - पल शाह प्रकरणले ‘म यस्तो गीत गाउँछु २’ हेर्न अष्ट नारायण हलमा दर्शकको राम्रै भिड जम्मा भयो । पूजा शर्माले फिल्म चलाउन पर्पुक्षका लागि थुनामा रहेका पल शाहको टिसर्ट प्रिन्ट गराएर पलविना फिल्म नै नबनाउने घोषणादेखि शब्दैपिच्छे रुवावासी गरिन् ।

थुनामा जाँदा जाँदै पल शाहले पनि दर्शकसँग बसेर ‘म यस्तो गीत गाउँछु २’ हेर्ने चाहना राखे । यसरी सबैतिरबाट अनुकुल मिलेपछि अष्टनारायणमा दर्शकको राम्रै भिड जम्मा भयो । यो देखेर फिल्ममा सानो भूमिकामा देखिएका दिनेश डिसी भावुक भए र पूजा नेपाली फिल्मको नम्बर वन नायिका भएको घोषणासहित लामो स्ट्यास लेखे । जवाफमा पूजाले पनि यो उपाधिका लागि आफू लायक भइनसकेको जवाफ दिइनन्, बरु सहर्ष धन्यवाद भनिन् । अर्थात् दिनेश डिसीले दिएको नम्बर वन ट्यागमा पूजाको समर्थन रह्यो । 


तर विवादले हलमा दर्शक जम्मा हुनु र युट्युबमा हरेक दिन अन्तर्वार्ता लिने देखेर  स्टार भएको महसुस गर्नु फरक फरक कुरा हुन् । किनकि स्टारको कम्तीमा पनि ‘लोयल फ्यानबेस’ हुन्छ जुन् कम्तीमा दुई दिन हलमा देखिन्छ । तर शुक्रबार रिलिज भएको पूजा शर्मा अभीनित ‘सम्झना बिर्सना’ ले दुई दिन पनि दर्शक हलमा बोलाउन सकेन । रिलिज भएको तीन दिन नबित्दै फिल्म लगभग हलबाट उत्रने अवस्थामा पुगेको छ । 

मल्टिप्लेक्सबाट सो हटेर एक सोमा आइपुगेको छ भने सिंगल थिएटरमा पनि फिल्मको व्यापार निराशाजनक रहेको वितरक बताउँछन् । फिल्म चलाउनलाई पूजाले राम्रै जोर लगाएकी थिइन् । लगभग सम्बन्ध विच्छेद भइसकेका पूर्व प्रेमी आकाश श्रेष्ठसँग पनि  सम्झौता गरेकी थिइन् । तर दर्शकले न पूजालाई पत्याएको देखियो न फिल्मलाई । अब नम्बर वन नायिकाको फिल्मको यो हविगत भयो भने बाँकीको के होला ? 


Author

थप समाचार
x