सिनेमा

‘वन्ली इन थिएटर्स’ अर्थात् हलिउड फिल्म ‘सिनेमा घरमा मात्र’

सामीप्यराज तिमल्सेना |
साउन १, २०७९ आइतवार १०:४ बजे

आज भोलि हलिउडमा फिल्मको नाम ठ्याक्क तल लगभग उत्रै अक्षरमा लेखेको देखिन्छ, ‘वन्ली इन थिएटर्स’ अर्थात् फिल्म ‘सिनेमा घरमा मात्र हेर्न पाइनेछ ।’
तर यो कुनै संयोग भने होइन । यो त हलिउडले क्षति कम गर्न आविष्कार गरिरहेको अनेक उपाय मध्ये एक हो । हलिउडले अभ्यास गर्न थालेको यो प्रचार शैली दुई वर्षको अन्तरालमा देखिएको ठूलो परिवर्तन हो । 

विगत दुई वर्षयता प्रदर्शन हुने हलिउड फिल्मको शैली एकै छैन । एउटै स्टुडियोले पनि आफ्ना फिल्मको प्रदर्शन एकै ढाँचामा गरिरहेका छैनन् । खासमा हलिउडमा अहिले फिल्म प्रदर्शनको शैली निरन्तर परिवर्तन भइरहेको छ । 


जब कोभिड १९ मथ्थर भएर सिनेमा घर पूर्णतया खुल्न थाले, निर्माताले फिल्म प्रदर्शनलाई पुरानै शैलीमा अगाडि बढाउन चाहेका छन् । तर फिल्म उद्योगका हस्ती अहिले नै ढुक्क हुने अवस्था नभएको बताइरहेका छन् । उनीहरूका अनुसार अझै पनि कोभिड पूर्णतया निर्मुल भइसकेको छैन । 

तर सिनेमाघर र डिजिटल रिलिजको चक्करले दर्शक भने दुविधामा पर्न थालेका छन् । फिल्म हलमा मात्र लाग्छ कि ओटीटीमा मात्र ? या दुवैतिर ? त्यो पनि एकै समयमा कि केही दिनको अन्तरालमा ? यसले हल र ओटीटी दुवैतिरका दर्शक गुमिरहेको विश्लेषकको अनुमान छ । 

‘हाइब्रिड प्रदर्शन मोडलका कारण, ओटीटी र हल रिलिजको सीमारेखा धमिलो हुँदै गएको छ,’ कमस्कोरका विश्लेषक पल डेरगाबेडियन भन्छन् , ‘यसले दर्शकलाई दुविधामा पारेको छ र भविष्यमा यो झन् संगीन हुँदै जानेछ ।’

कोभिडका कारण परम्परागत स्टुडियो पनि हाइब्रिड मोडलमा जान बाध्य भएका छन् जुन दुई वर्षअघि उनीहरू यस्तो रिलिज कल्पना पनि गर्न नसकिने कुरा गर्थे । यही कारण मार्भलले ‘ब्ल्याक विडो’ सिनेमाघर र डिज्नेप्लसमा एकै दिन रिलिज गर्ने निर्णय गरेको थियो । तर यो मोडल असफल भएपछि फिल्मकी मुख्य कलाकार स्कारलेट जोन्सनले हाइब्रिड रिलिजका कारण आफूले पैसा गुमाएको भन्दै मार्भल र डिज्नेविरुद्ध मुद्दा हालेकी थिइन् जुन सहमतिमा टुंगिएको छ । 

योबाहेक ‘दि म्याट्रिक्स रिसरेक्सन’, ‘डुन’, जस्ता वार्नर ब्रोजले निर्माण गरेका फिल्म हल र एचबीओ म्याक्समा एक साथ आएका थिए । प्यारामाउन्टले भने  ‘क्वाइट प्लेस २’लाई ४५ दिनपछि ओटीटीमा रिलिज गर्ने निर्णय गरेको थियो । 

प्रदर्शनको यो शैलीले महामारीले गोजी रित्तिएका स्टुडियोले धेरथोर पैसा पाए भने ओटीटीले नयाँ ग्राहक । तर अहिले सिनेमाघरलाई यही लोभ भारी पर्न थालेको छ । त्यसैले दर्शक हलमा बोलाउन उनीहरूले जुक्ति निकालेका छन्, ‘वन्ली इन थिएटर्स’ । 

अब महामारी लगभग सकिएको अवस्था छ । त्यसैले स्टुडियोका प्रचारक पहिलेको हाइब्रिड मोडलको रिलिजबाट दर्शकलाई बाहिर निकाल्न पोस्टरमा ‘वन्ली इन थिएटर्स’ लेखाउन थालेका छन् । तर विश्लेषक भन्छन्, ‘यति लेखेर मात्र यो समस्या सुल्झने छाँट छैन । ‘भिन्‍नता थाहा दिन हामी थप जिद्दी बन्‍नुपर्ने वाला छ,’ वार्नर ब्रोजका जोस गोल्डस्टाइन भन्छन् । 

अहिले धमिलै अवस्था रहेको तर परम्परागत स्टुडियो महामारीको अवस्थाभन्दा पहिला फर्कन हतार गरिरहेका छन् र फिल्म ओटीटीमा नआउने कुरा लाद्ने प्रयास गरिरहेका छन् । यही मनोविज्ञानका कारण भर्खरै रिलिज भएका ‘एल्भिस’ र ‘थोर’ जस्ता फिल्मले ओटीटीमा नआउने सूचना जारी गरिरहेका छन् । 

‘हामीले हलमै फिल्म हेर्ने कुरालाई जोड दिएका छौँ,’ सोनीका प्रचारक डेनियल मिसर भन्छन्, ‘ हामीले पैसा तिरेर बजाउने विज्ञापन होस् वा कलाकारको मुख सबैतिरबाट फिल्म हलमा मात्र हेर्न पाइने कुरालाई जोड दिएका छौँ । अहिलेलाई यही नै उत्तम  हो ।’ उनले ‘स्पाइडर मेन नो अवे होम’का कलाकारको मुखबाट नै यो कुरा भनाउने रणनीति लिएको र बिहान वा साँझमा फिल्म हेर्ने कुरालाई जोड दिएको बताएका थिए । ‘हामीले प्रेस इभेन्ट वा प्रिमियरको ब्याकड्रपमा पनि यो कुरालाई जोड दिएका थियौँ,’ डेनियलले भनेका छन् ।

मार्केटिङको यो जोडले प्रतिफल पनि दिन लागेको छ । हलिउडका विभिन्‍न ट्रेन्डमाथि अनुसन्धान गरिरहने गट्स प्लस डेटाका अनुसार ‘वन्ली इन थिएटर्स’वाला नाराले दर्शकलाई स्पष्ट सन्देश दिएको छ ।
६ सय जना दर्शकसँग गरेको सर्वेक्षणमा आधाले कुन फिल्म हलमा लाग्दैछ र कुन ओटीटीमा मात्र रिलिज हुँदैछ भन्‍ने छुट्याएका थिए । 

‘थोर’को रिलिजअघि गरेको सर्वेक्षणले ५२ प्रतिशत दर्शक यो फिल्म हलमा मात्र लाग्ने कुरामा जानकार रहेको देखाएको थियो । तर ३८ प्रतिशत दर्शक झुक्किएका थिए । ३६ प्रतिशत दर्शकले यो फिल्म हलमा र डिज्नेमा लाग्ने पालैपालो लाग्ने बताएका थिए । १० प्रतिशत दर्शकले त यो फिल्म ओटीटीमा मात्र रिलिज हुने बताएका थिए । 

यही दुविधामा दर्शकमा ‘मिनियन्स’को रिलिजमा पनि देखिएको सर्वेक्षणले देखाएको छ । ४८ प्रतिशत दर्शकले यो फिल्म हलमा मात्र लाग्ने अनुमान गरेका थिए भने ४० प्रतिशतले हल र ओटीटी दुवैतिर लाग्ने धारणा राखेका थिए । १२ प्रतिशतले ओटीटीमा मात्र रिलिज हुने बताएका थिए । 

समस्याको सुरुवात त्यो समयमा भएको थियो जब अमेजन प्राइमले हल र डिजिटल रिलिजको समय छोट्याएको थियो । ७५ देखि ९० दिनको अन्तरालमा रिलिज हुने समयलाई छोट्याएर अमेजनले ४५ दिनमा पुर्‍याएको थियो । 

अझ नेटफ्लिक्सले त कतिपय ठूला स्टारको फिल्म हलमा रिलिज गर्दै गरेको थिएन ।  यसले टिकटकमा फिल्मको प्रचार हेर्ने वा सब वेमा फिल्मको पोस्टर हेर्ने कसैले पनि फिल्म हलमा लागिरहेको पत्तै पाउन छाडेका थिए । 

हलिउडमा अर्को समस्या पनि देखिएको छ । त्यो के भने दर्शकले पुरानो खेलाडी प्यारामाउन्ट भर्सेस सोनीले बनाएका फिल्मको भिन्‍नता वा नेटफ्लिक्स र एप्पलको भिन्‍नता छुट्याउन सकिइरहेका छैनन् ।

त्यसकारण दर्शकले कुन फिल्म हलमा लाग्ने हो र कुन फिल्म ओटीटीमा आउने पत्तै पाउन सकेका छैनन् । भर्खरै नेटफ्लिक्समा रिलिज भएको ‘दि ग्रे मेन’मा  दर्शक यसरी नै झुक्किएका थिए । यो फिल्म नेटफ्लिक्समा आउनुअघि हप्ता दिनजति अमेरिकाको हलमा लागेको थियो तर आम हलिउड फिल्म जस्तो यो अमेरिकाबाहिर कतै रिलिज नै भएन । एकहप्तापछि सिधै नेटफ्लिक्समा आयो । 

त्यसैले सबै स्टुडियोको मार्केटिङ प्रमुख एकै स्वरमा भन्छन् ‘दैनिक रुपमा अनेक सामाग्री आइरहेका छन् । त्यसैले सानो स्वरले हुन्छ कि ठूलो स्वर गरेर हुन्छ, यो फिल्म हलमा मात्र लाग्छ है भन्‍न जरुरी छ ।’ (याहु इन्टरटेनमेन्टको सहयोगमा)


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x