सिनेमा

हप्तामै अनमोलका तीन फिल्म घोषणा, के यो राजेश हमाल बन्ने लक्षण हो ?

इकागज |
असार २१, २०७९ मंगलबार १०:११ बजे

काठमाडौँ - ५० लाखको पनि ठोस बजार नभएको नेपाली सिनेमामा अनमोल केसी एक्लैले त्यति पैसा लिन्छन् । अनमोलले पारिश्रमिक बढाएको देखेर नै स्पट ब्वाईदेखि छायांकारसम्मले पारिश्रमिक ह्वात्तै बढाएका छन् । सबैले मागेजति पैसा दिएर फिल्म बनाउँदा पनि निर्माताको हातमा भने ‘फ्रस्टेसन’बाहेक केही हात पर्दैन ।

त्यसैले ठूलो ठूलो कुरा गरेर फिल्म बनाउन आउने निर्माता यो क्षेत्रको सत्तोसराप गर्दै कुलेलम ठोक्छ । यस्तोमा अनमोल केसीलाई ‘किन यति धेरै पैसा लिएको ?’ भनेर सोध्दा उनको जवाफ हुन्थ्यो ‘म चुजी छु । वर्षको जम्मा एउटा फिल्म गर्छु ।’ तर, अनमोलले ‘चुजी’ इमेजलाई पर राख्दै एक हप्ताभित्रमा तीनवटा फिल्म खेल्ने सम्झौता गरेका छन् । 


अघिल्लो हप्ता उनले ‘छड्के’ खेल्न लागेको समाचार आयो भने हप्ता नबित्दै पूजा शर्माको फिल्म साइन गरेको फोटो सार्वजनिक भयो । हप्ता सुरु हुँदै गर्दा सोमबार उनले ‘जेरी २’ खेल्ने सम्झौता गरेका छन् । अनमोलको बारेमा कुरा गर्दा धेरैले सन्तोक मानेको कुरा थियो कम्तिमा अनमोल बग्रेल्ती फिल्म गर्दैनन् । दर्शकले पत्याएका बेला राजेश हमालझैँ जथाभावी फिल्म गर्दैनन् । तर विस्तारै उनले बजारसँग सम्झौता गर्न लागेको टिप्पणी हुन थालेको छ । 

सुरु सुरुताका उनले सिक्वेल पनि नगर्ने घोषणा गरेका थिए । तर ‘ए मेरो हजुर ३’ खेलेर त्यो वाचामा कायम रहन सकेनन् ।  अहिले वर्षमा एउटा वा दुइटा फिल्म खेल्ने सोचलाई पनि उनले तिलाञ्जली दिएको धेरैले महसुस गरेका छन् । ‘ब्याक टु ब्याक’ फिल्म साइन गर्नुले त्यही संकेत गर्छ ।

बाहिरको ब्यानरका त भइहाले, अनमोलले घरकै ब्यानरबाट पनि ‘एन्टी हिरो’, ‘पारस’ र ‘माइतीघर २’ गरी तीन फिल्मको घोषणा गरेका छन् । ढिलोचाँडो यिनले पनि बन्नु नै छ । अनि त के यो अनमोलको राजेश हमाल बन्ने लक्षण हैन ? 


Author

थप समाचार
x