सिनेमा

‘सम्झना बिर्सना’को प्रचारबाट किन गायब छिन् छुल्ठिम गुरुङ ?

इकागज |
असार २०, २०७९ सोमबार १०:५५ बजे

काठमाडौँ - ‘नोभेम्बर रेन’मा ‘डल्ली’को भूमिकामा रुचाइएकी छुल्ठिम गुरुङले त्यसयता ‘डायरी’ जस्ता फिल्म गरेर पनि आफ्नो क्रेज बलियो बनाउने प्रयत्न गरिन् । दर्शकले बरु ‘डल्ली’ सम्झिएका छन् तर बाँकी भूमिका सम्झिएका छैनन् । तर छुल्ठिम फाट्टफुट्ट फिल्ममा देखिएकै छिन् । 

आउँदो असार ३० मा उनी अभीनित ‘सम्झना बिर्सना’ रिलिज हुँदैछ । दार्जिलिङको परिवेशमा खिचिएको फिल्मको दुवै ट्रेलरमा छुल्ठिमले प्रशस्त स्क्रिन टाइम पाएकी छन् तर ट्रेलरभन्दा बाहिर भने छुल्ठिमको नामो निशान छैन । फिल्म प्रचारको पुरै कमान्ड पूजा शर्मा र आकाश श्रेष्ठले सम्हालेका छन् ।


उनीहरू दुवैलाई लिएर निर्माताले पुरै गीत खिचे भने ट्रेलर सार्वजनिक कार्यक्रममा पनि अरु कोही देखिएनन् । त्यसयता पनि छुल्ठिमले यो फिल्मलाई लिएर न कतै केही लेखेकी छिन् न फिल्मका प्रचार सामाग्री नै सेयर गरेकी छिन् । 

त्यसो त पूजा शर्मा भएका ठाउँमा अरु कलाकारले प्रचारमा कमै मौका पाउँछन् । यसअघि ‘पोइ पर्यो काले’मा पनि पूजा शर्मा र आकाश श्रेष्ठको जोडी जस्तै महत्वपूर्ण भूमिका सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि थियो । तर प्रचारमा पूजा र आकाशले सृष्टि र सौगातलाई टिक्न दिएनन् । निर्माता हातमा लिएर पूजाले सृष्टि– सौगातलाई भए नभएको पारिदिइन् । 

अब ‘सम्झना बिर्सना’मा पनि पूजाले पुरानै इतिहास दोहोर्याएकी हुन् कि छुल्ठिमको आफ्नै समस्या हो नत्र भने हातमा उति धेरै फिल्म नभएकी छुल्ठिम आफ्नै फिल्मको प्रचारबाट यत्तिकै त किन गायब हुन्थिन् होला र ? 


Author

थप समाचार
x