सिनेमा

नीता र हरिहरको विवाहको निम्तो बाँड्न सुरु, २४ गते तारे होटलमा हुँदैछ विवाह

इकागज |
असार १९, २०७९ आइतवार ७:२८ बजे

काठमाडौँ - ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २४ गते विवाह गर्ने भएका छन् । ४ वर्षदेखि प्रेममा रहेका उनीहरुले असारमा विवाह गर्ने खबर सकारे पनि विवाहको मिति भने सार्वजनिक गरेका थिएनन् । तर निकटस्थहरुले दिएको जानकारीका आधारमा उनीहरुले यही २४ गते विवाह गर्न लागेको खबर बाहिरिएको थियो । 

यो खबरलाई पुष्टि गर्ने गरी दुवैको विवाहको कार्ड सार्वजनिक भएको छ । सार्वजनिक कार्डमा २४ गते दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ । 


विवाहमा परिवार र निकटका साथीहरुलाई मात्र निम्त्याउने तयारी दुवै पक्षको रहेको स्रोत बताउँछ । तर विवाहित जोडीले २६ गते सोही होटलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरिरहेका छन् । रिसेप्सनका लागि ‘गजनी’ भिलेन प्रदीप सिंह रावत पनि आउने चर्चा छ । 

नीता र हरिहरले विवाहसँगै यतिबेला फिल्म निर्माणको पनि तयारी गरिरहेका छन् । उनीहरुले यसका लागि दक्षिण भारतका कलाकारलाई अनुबन्ध गर्दै आएका छन् । केही दिनअघि मात्र निर्माण कम्पनीले विश्वमै सबैभन्दा धेरै फिल्ममा देखिएर  गिनिज रेकर्डमा नाम लेखाएका ब्रम्हानन्दम्लाई उनीहरुले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’का लागि साइन गरेका थिए । 

नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगन्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै नाच्न पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो ।

बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरुले विवाहको लगन जुराएका थिए ।  बाल कलाकार हुँदै अभिनेत्री बनेकी नीता ढुंगानाले दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् भने हरिहरले ‘शुभलभ’बाट अभिनयमा डेब्यू गरेका थिए । 
 


Author

थप समाचार
x