सिनेमा

बुसानमा इतिहास बनाएको ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा

इकागज |
असार १७, २०७९ शुक्रवार ११:५३ बजे

काठमाडौँ - सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । 

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको फिल्म हो ।


बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।  लेखक÷ निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू  हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो । 

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । सुजितले किशोरीको पढ्ने सपनालाई  ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए । ‘ ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन ।

हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ ,‘ सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं ।’ किशोरी र उनको ९ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोको रुपमा रहेको सुजितले बताए । ‘ दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपूर्ण हिस्सा हो । यो सम्बन्धमार्फत् फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छ ,’सुजितले भने ।  

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् ।  

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र  सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।  फिल्ममा  अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । 
 


Author

थप समाचार
x