सिनेमा

निश्चलले छोडे ‘प्रसाद २’, अर्पण थापा लिने तयारीमा निर्माता

इकागज |
असार १२, २०७९ आइतवार १०:१ बजे

काठमाडौँ - ‘प्रसाद २’बाट अभिनेता निश्चल बस्नेत बाहिरिएका छन् । उनले अर्को फिल्मको तयारीका लागि भन्दै फिल्म छाडेको निर्माता सुभाष थापाले इकागजलाई जानकारी गराए । 

‘प्रसाद २’मा यसअघि निर्देशक फेरबदल भएका थिए । पहिला घोषणा हुँदा यो फिल्म सौरभ चौधरीले निर्देशन गर्ने घोषणा भएको थियो । केही दिनअघि उनले यो फिल्म छाडेका थिए । निर्माताले उनको ठाउँमा सुदर्शन थापालाई निर्देशनको जिम्मेवारी सुम्पेका थिए । 


निश्चलले लामो समय कुर्दा पनि फिल्म फ्लोरमा नगएको र आफू नयाँ फिल्मको तयारी गरिरहेकाले समय दिन नसक्ने जवाफ दिएको सुभाषले बताए । ‘उहाँले खगेन्द्र लामिछाने र म मिलेर एउटा ठूलो प्रोजेक्टको तयारी गरिरहेका छौँ । म त्यसमा समय दिइरहेको छु । अब समय दिन सक्दिन भन्ने कुरा गर्नुभयो । हामीले पनि धेरै कर गरेनौँ,’ सुभाषले भने । 

दिनेश राउतले निर्देशन गरेको यसको पहिलो भागमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको थियो । दोस्रो भाग पनि यही कलाकारका साथ गर्ने निर्माताको योजना निश्चल आउट भएसँगै अपुरो रहेको छ । निर्माता सुभाष थापाले निश्चलको ठाउँमा अर्पण थापा लिने तयारी गरिरहेको जानकारी गराए । 
‘अर्पण थापासँग एक दुई चरणमा कुरा भइसकेको छ । साइनै चाहिँ गरिसकेका छैनौँ,’ सुभाषले भने ।

फिल्मको सुटिङ असार १५ देखि गर्ने निर्माताको तयारी छ । पोखराको हेम्जाकोटमा हुने सुटिङका लागि विपिनको समय बाधक बनेको छ । विपिनले बलिउड फिल्म ‘एनिमल’का लागि जुलाई–अगस्टको समय दिएका छन् । तर जुलाईको कुन महिना मुम्बई उड्नु पर्ने हो विपिनले स्पष्ट जवाफ पाएका छैनन् । विपिनको सेड्युल हेरेर सुटिङमा निस्कने सुभाषले जानकारी गराए ।


Author

थप समाचार
x