सिनेमा

पुरानै कलाकार लिएर ‘हेराफेरी ३’ बनाउने निर्माताको घोषणा

इकागज |
असार ९, २०७९ बिहीबार १७:३४ बजे

मुम्बई- २२ वर्षअघि बनेर क्लासिक फिल्मको श्रेणीमा समावेश भएको ‘हेराफेरी’को तेस्रो भाग पनि बन्ने भएको छ । निर्माता फिरोज नाडियावालाले चाँडै नै तेस्रो भागको घोषणा गरिने जनाएका छन् । यसको दोस्रो भाग सन् २००६ मा ‘फिर हेरा फेरी’ शीर्षकमा बनेको थियो । 

त्यसपछिका वर्षमा दुवै फिल्म मिमको हिस्सा बन्ने गरेका थिए । फ्यानले तेस्रो भाग पनि ल्याउन दिइरहेको निरन्तर दबाबलाई मध्येनजर गर्दै निर्माताले तेस्रो भागको तयारी अन्तिम चरणमा पुर्याएका हुन् । निर्माता नाडियावालाले हलिउड हंगामासँग कुरा गर्दै पुरानै कलाकारलाई लिएर फिल्म बनाउन लागेको सकारेका हुन् ।


‘ तपाईंहरूले चाँडै नै अक्षयकुमार, सुनिल सेठ्ठी र परेश रावल नै रहनेगरी यो फिल्म बनेको देख्न सक्नुहुन्छ । हामी चाँडै नै यसको औपचारिक घोषणा गर्दैछौँ,’ नाडियावालाले भनेका छन् ‘ पहिलाका चरित्रको विशेषतालाई मर्न नदिई काम गरिरहेका छौँ । किनकि हामीले पहिलेको सफलतालाई हल्का रुपमा लिएका छैनौँ ।’

यो फिल्मको पहिलो भाग प्रियदर्शनले निर्देशन गरेका थिए भने दोस्रो भाग निरज बोराले निर्देशन गरेका थिए । तेस्रो भाग कस्ले निर्देशन गर्छ भन्ने जानकारी बाहिर आइसकेको छैन । निर्माता नाडियावालाले निर्देशक पनि केही दिनमै फाइनल गर्ने बताएका छन् ।

यसअघि फिल्मको निर्देशनका लागि ‘ड्रिम गर्ल’ निर्देशक राज शाण्डिल्यसँग कुरा भइरहेको चर्चा बाहिरिएको थियो । निर्माताले त्यो खबरको खण्डन गरेका छन् । फिल्मले विकेन्डमा मात्र ६० करोड बराबरको कमाइ गर्ने अनुमान व्यापार विश्लेषकको छ । त्यसैले आफूले फिल्मलाई हल्का रुपमा नलिएको निर्माताको जवाफ छ । 


Author

थप समाचार
x