सिनेमा

मृत्युमा शृंगार देखाउने ‘चिसो मान्छे’ : न सामाजिक, न मनोवैज्ञानिक

सामीप्यराज तिमल्सेना |
असार ५, २०७९ १६:५० बजे

लेखक तथा निर्देशकले फिल्मभित्र बेग्लै समाज निर्माण गर्न पाउँछ र उसले निर्माण गरेको समाजमा पात्रहरूलाई जसरी पनि प्रस्तुत गर्न पाउँछ । तर यसको अन्तिम सर्त हुन्छ, सर्जकले सिर्जना गरेको कथा र पात्र विश्वसनीय हुनुपर्यो । यदि कसैले मैले वर्तमान समयको कथा देखाएको हुँ भनेर भन्ने हो भने पनि यही मान्यता लागू हुन्छ । कम्तीमा पात्र र कथा विश्वसनीय हुनुपर्यो । तर शुक्रबारदेखि प्रदर्शनमा आएको ‘चिसो मान्छे’ यहीँनेर धर्मराएको छ । किनकि कथाको उठानमा नै बडेमानको प्रश्न तेर्सिन्छ । 

‘चिसो मान्छे’को कथा सुरु हुन्छ कतारबाट आएको लास लिन आएका दुई पात्रबाट । कतारमा अपर्झट मृत्युवरण गर्न पुगको डम्बरबहादुरलाई लिन उसको बुबा र श्रीमती आएका छन् । बाजुरा मूल थलो भएको डम्बरको लास बाजुरा पुर्याएर सत्गत गर्नुपर्ने झन्झटमा कथा अगाडि बढेको छ । तर कोरोना महामारीको कठिन समयमा पशुपति आर्यघाटमा लास नजलाएर लासलाई बाजुरा पुर्याउनैपर्ने बाध्यता किन छ ? लेखक तथा निर्देशकले यो आधारभूत प्रश्नको उत्तर दिने झन्झट नगरी कथा दुई घन्टा तन्काएका छन् । दर्शकको मनमा यो प्रश्न दिमागमा आइरहँदा पात्रहरूले यात्रामा भोग्ने÷भोगाइने कुरामा दर्शकले एकाकार महसुस गर्न सक्दैनन् ।


किनकि व्यवहारिक रुपमा मात्र होइन, धार्मिक हिसाबले पनि आर्यघाटमा अन्तिम संस्कार गर्नुलाई मोक्ष यात्राको उत्तम उपाय मानिन्छ । पात्रलाई संस्कृतका श्लोक बोलाउने लेखक निर्देशक यो विषयमा जानकार थिएनन् भनेर कल्पना पनि नगरौँ किनकि दीपेन्द्र के खनाल तिनै निर्देशक हुन् जसले पशुपति आर्यघाटमा महिनौँ अनुसन्धान गरेर ‘पशुपतिप्रसाद’ निर्देशन गरेको दाबी गरेका थिए । 

अब यो आधारभूत प्रश्नलाई ‘इग्नोर’ गरेर अघि बढौँ । ‘चिसो मान्छे’को कथा कोभिड–१९ को समयमा जर्बजस्ती एकसाथ यात्रा गर्न बाध्य तीन चरित्रको हो । यात्राको विशेषता नै के हो यसले अपरिचितलाई परिचित बनाउँछ र परिचितलाई अभिन्न । दीपेन्द्र के. खनाल सिर्जित यो फिल्मका पात्रहरू पनि काठमाडौँदेखि बाजुरासम्मको लामो यात्राका कारण एकअर्कासँग नजिक हुन बाध्य हुन्छन् र अधिकांश रोड मुभीमा भएझैँ ‘रिडिम’ पनि हुन्छन् । तर यो चरित्र ‘रिडिम’ हुने प्रक्रिया यस्तो अपर्झट छ कि यसमा दर्शकले समानुभाव महसुस गर्न पाउँदैनन् । चरित्र परिवर्तनका लागि पर्याप्त आधारभूमि तयार नगरी दृश्य अगाडि बढ्दा दर्शकले कथामा आफूलाई राम्ररी समाहित गर्नै सक्दैनन् । 

‘चिसो मान्छे’ रोड मुभी हो । ‘रोड मुभी’मा कथा सामान्यतया दुई भँगालोबाट सुरु हुन्छ । एउटा ‘आउटलज’ (कानुनी अपराध गरेर भाग्ने चरित्र) र दोस्रो ‘क्वेस्ट’ (खोजी) को । फिल्मले ‘क्वेस्ट’को भँगालो ज्यादा समातेको छ तर चुस्त लेखन र फितलो निर्देशनले यो खोजलाई मज्जाले विकास नगरी चराले चारो टिपेझैँ फुत्तफुत्त टिपेर छरेको छ । त्यो के भने चरित्रले मंगलग्रहदेखि जातीय छुवाछूतसम्मका कुरा गर्छन् तर कथामा तिनको यथोचित विकास छैन । जस्तो कि रोकिएको गाडीबाट हराएकी स्वस्तिमा जंगलबीचमा उन्मुक्त भएर नाच्छिन्, मध्यरातमा सुरिलो स्वरमा गाउँछिन्, खेतका गरामा छिनभर बसेरै गीत कम्पोज गर्छिन् अनि पुरुषबाट वैवाहिक बलात्कारको घाउ बोकेकी उनी दुई दिन पनि राम्ररी नचिनेको पुरुषलाई सँगै सुत्न आमन्त्रण गर्छिन् । संवादले उनलाई बलियो व्यक्तित्व भएकी महिलाका रुपमा स्थापित गर्न खोजे पनि दृश्यले भने उनलाई कमजोर र हलुका महिलाका रुपमा स्थापित गरेको छ । 

यात्राभरि चिसा मान्छे मात्रै भेटिनु पनि निर्देशकले दर्शकमाथि गरेको जोरजुलुम हो । घुस माग्ने प्रहरी, घरिघरि बाटो छेक्ने युवा, लासलाई घरभित्र छिर्न नदिने समाज यसरी भएभरका सबैलाई नेगेटिभ देखाएर निर्देशकले समाज चिसो भएको उद्घोष गरेका छन्

निर्देशक दीपेन्द्र के खनालले दाबी गरेझैँ यो समसामयिक समय र समाजको कथा हो भने देशभक्त खनालको चरित्र चित्रण पनि यो फिल्मको अर्को बिझाउने पाटो हो । जवान छोरा गुमाएको पिताको रुपमा एक त निर्देशकले खनाललाई शीर्षक सार्थक पार्ने चक्करमा संवेदनाहीन बनाएका छन्, त्यसमाथि यात्राभर उनलाई जँडयाहा बनाएका छन् । धर्म संस्कारको हाँक दिएर खुकुरी लिएर समाजसँग भिड्ने हिम्मत भएको बाबु लासछेउ बसेर रक्सी खाने उदाहरण कम्तीमा नेपाली समाजमा देख्न पाइँदैन । श्रीमान् बितेकी महिला पर पुरुषसँग ओछ्यान बाँड्न तयार हुने र बुबा पिर भुलाउन रक्सी खाने जस्ता दृश्यलाई सामान्यीकरण गरेर लेखक तथा निर्देशक खनालले सबाल्टर्नको अपमान गरेका छन् । किनकि वैदेशिक रोजगारमा खाडी मुलुक जाने, रातो बाकसमा फर्किन अभिशप्त अधिक व्यक्ति र परिवार सबाल्टर्न हुन् । सबाल्टर्न आफूमाथि भइरहेको अन्यायका विरुद्धमा सजिलै आवाज उठाउन सक्दैनन् । 

यति हुँदाहुँदै पनि ‘पशुपतिप्रसाद’बाट ‘मिनिमालिस्ट’ फिल्म बनाउने सुरु गरेका दीपेन्द्र के खनालको फरक कथा भन्ने हुटहुटी यो फिल्मको स्तुत्य पक्ष हो । उनले नेपाली समाजले भर्खरै भोगेको महामारीकालीन समयलाई पर्दामा उतार्ने हिम्मत गरेका छन् र धेरथोर सफलता पनि हात पारेका छन् । खासगरी अर्पण थापाको चरित्रमार्फत उनले त्यो त्रासदीलाई थोरै दृश्य र प्रसंगमार्फत पनि प्रभावकारी रुपमा अभिव्यक्त गर्न सफल भएका छन् । अर्पण थापाको परिपक्व अभिनयलाई पनि यसको जस जान्छ । दुःखको पहाडले थिचेको ६ महिने दूधे छोरीको पिताका रुपमा उनले तृप्त हुने गरी अभिनय गरेका छन् । यत्ति बिझाउँछ कि कोरोनाका कारण श्रीमती बितेको आलो घाउ सुक्न नपाउँदै उनी त्योभन्दा ताजा श्रीमान् बितेको स्वस्तिमासँग मौन प्रेमको खेल खेल्न थाल्छन् । महामारीमै सही सायद नेपाली समाज यत्ति चिसो पनि भइसकेको छैन कि ? 

यहीँनेर निर्देशकले स्वस्तिमा र अर्पणको बीचमा अव्यक्त संवादबाट व्यक्त गरेको भाव भने उल्लेखनीय मान्नुपर्छ । अर्पण र स्वस्तिमाबीचका नबोली नबोली हुने संवाद यो फिल्मका गुण हुन् । तर कलाकारले फिल्मभरि बोल्ने संवाद दोष । एकाधबाहेक तीनै चरित्रले बोल्ने संवादमा कि त अप्रसांगिक दर्शन छन् कि त मुद्दा । त्यसैले संवाद यो फिल्मका कमजोर कडी हुन् । क्यामराले मज्जाले बुनिरहेका दृश्य संवाद बोलेसँगै ढुंगा लाग्छन् । निर्देशकले मानवता हराउँदै गएका मान्छेसँगै भएभरका सामाजिक मुद्दा पनि समेट्न खोज्दा पनि संवाद अप्राकृतिक बनेका छन् ।

यसैगरी यात्राभरि चिसा मान्छे मात्रै भेटिनु पनि निर्देशकले दर्शकमाथि गरेको जोरजुलुम हो । घुस माग्ने प्रहरी, घरिघरि बाटो छेक्ने युवा, लासलाई घरभित्र छिर्न नदिने समाज यसरी भएभरका सबैलाई नेगेटिभ देखाएर निर्देशकले समाज चिसो भएको उद्घोष गरेका छन् । महामारीले मानिसमा क्षय हुँदै गरेको मानवताको पोल धेरेथोर खोलेको हो तर अमानवीय बनेका केही पात्र र घटनालाई निन्दा गरेको पनि यही समाजले हो । संकेतमा अमानवीय चरित्रलाई फिल्मले व्यंग्य गरेको हो भने यही संकेतले मानवीय बन्न प्रेरित गर्नु पनि फिल्मको धर्म हो । 

ज-जसका घरमा रातो बाकसको दुर्भाग्य सिर्जियो, तिनीहरु बोल्न सक्दैनन् भन्दैमा उनीहरुलाई संवेदनाहीन देखाउन मिल्छ र ? किरिया बस्दा दाजुभाइ, जेठानी देउरानी सबै सँगै हुन्छन्, एकहिसाबले उनीहरु अर्धनग्न पनि हुन्छन्, तर त्यहाँ शृंगार रस, समागमको चाहना, घटना अहिलेसम्म कहीँ सुनिएको छ र ?

निर्देशकसँगै दीपेन्द्र के खनाल लेखक र छायांकारको पनि भूमिकामा छन्। छायांकारको रूपमा उनले आफूलाई ‘आमा’बाटै प्रमाणित गरेका हुन् । रोमान्टिक फिल्ममा जस्तो बेलाबखत आउने ड्रोनसटलाई बिर्सने हो भने उनले यो फिल्ममा पनि यो भूमिका राम्ररी निर्वाह गरेका छन् । तर लेखकका रुपमा भने एकदमै आत्मसात् गर्ने चरित्र निर्माण गरेर पनि तिनलाई गहिराइमा डुबाउने दृश्य रच्न चुकेर ‘क्लासिक’ फिल्म बन्न सक्ने मौका गुमाएका छन् । दोस्रो हाफमा आउने एकै खालको दृश्य र कमजोर क्लाइमेक्सले पनि लेखकका रूपमा खनाललाई बाँकी दुई विधामा भन्दा निम्छरो साबित गरेका छन् । तर यसबाट प्रस्तुति हटाएर कथा मात्र छान्ने हो भने त्यसमा उनले डिस्टिङ्सन ल्याउँछन् । कथाले वैदेशिक रोजगारका अनेक आयामसँगै महामारीकालीन त्रासदी र सुदूरपश्चिमका महिलाले भोगिरहेका समस्यालाई एकसाथ मुखरित गरेका छन् ।  

‘रोड मुभी’को कुरा गर्दा भनिन्छ, ‘गन्तव्यभन्दा पनि यात्रा महत्वपूर्ण हो ।’ यो सिद्धान्तमा रहेर हेर्दा ‘चिसो मान्छे’को यात्राले कम्तीमा नेपाली फिल्म उद्योगलाई कथा वाचनको नयाँ शैली र दृष्टिकोण दिएको छ । हामीले दैनिक सुनिरहने र पढिरहने समाचार वा किस्साबाट पनि समाजको एक कालखण्डको कथा भन्न सकिन्छ भन्ने आत्मविश्वास पनि यो फिल्मबाट ग्रहण गर्न सकिन्छ । त्योसँगै हलबाहेक व्यापारको अर्को विकल्प नभएको यो अदना उद्योगमा चुनौती मोलेर दुखिया नेपालीका कथामा फिल्म बनाउनु पनि यो यात्राको सुन्दरता हो । 

समग्रमा भन्दा अर्गानिक भनिने सामाजिक कथातिर सिनेमालाई हिँडाउने प्रयास गर्नु दीपेन्द्रको सबल पक्ष हो । तर, सिनेमा काल्पनिक संसार भए पनि ‘सररियल जनरा’मा जस्ता ‘रियल जनरा’मा फिल्म बनाउँदा यथार्थलाई अतिक्रमण गर्न मिल्दैन । अनि सिनेमामा नवरस दुनियाँले मानेको सिद्धान्त हो ।

के मृत्युमा, अझ मृत्युको नजिकमा करुण रस स्थायी भाव हुन्छ कि शृंगार वा वीर ? परायाका निधनमा पनि शोकाकुल हुने सम्वेदनशील करुणामयी समाजमा आफ्नाहरुकै यस्तो व्यवहार जँच्दैन । ज-जसका घरमा रातो बाकसको दुर्भाग्य सिर्जियो, तिनीहरु बोल्न सक्दैनन् भन्दैमा उनीहरुलाई संवेदनाहीन देखाउन मिल्छ र ? किरिया बस्दा दाजुभाइ, जेठानी देउरानी सबै सँगै हुन्छन्, एकहिसाबले उनीहरु अर्धनग्न पनि हुन्छन्, तर त्यहाँ शृंगार रस, समागमको चाहना, घटना अहिलेसम्म कहीँ सुनिएको छ र ? छैन भने अपवादलाई त मूलधार बनाउँदा दशपल्ट सोच्नुपर्छ भने समाजकै वर्तमान कथा भन्छु भन्दा उसरी नै सोच्नु पर्छ । लाससँगै यात्रा गर्नु भनेको मलामी यात्रा हो । अर्पण र स्वस्तिमाबीचको राग अनुराग प्रेमको भाव आफैँमा गलत होइन तर  मलामी यात्रामा यो अनुराग देखाउँदा मृत्युमा मस्ती सुहाउँदिलो देखिएको छैन ।  

नेपाली समाजको संरचनागत समस्या चित्रणमा ‘चिसो मान्छे’लाई सफल मान्दै जाने हो भने भोलि किरियापुत्रीबीच समागमकै दृश्य देखाउनुलाई पनि सामाजिक कथा भन्ने बाध्यता आइलाग्छ । त्यसैले ‘चिसो मान्छे’ सामाजिक कथा त हुँदै होइन यो मनोवैज्ञानिक कथा पनि होइन । फ्रायडीय मनोविज्ञानले नेपाली समाजको मनोविज्ञानको चित्रण गर्दा पनि गर्दैन ।  किनकि मनको पनि समाज हुन्छ । मनमा उत्पन्न हुने भाव वा स्थायी भावहरू प्रत्यक्ष रुपमा समाजसँग सम्बन्धित हुन्छन् । 


छायांकार\ लेखक \निर्देशक दीपेन्द्र के खनाल
कलाकार : देशभक्त खनाल, अर्पण थापा, स्वस्तिमा खड्का
निर्माता :  शर्मिला पाण्डे 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
ad
x