सिनेमा

पूजा -आकाशको रामकहानी : पहिला चाटाचाट अहिले काटाकाट

इकागज |
जेठ ३०, २०७९ सोमबार १८:३९ बजे

काठमाडौँ -  ‘राम कहानी’ सेटबाट सुरु भएको आकाश श्रेष्ठ र पूजा शर्माको अफेयर फिल्मसँगै अनेकानेक म्युजिक भिडियोमा फैलियो । ४–५ वर्ष चलेको अफेयरलाई हाकाहाकी न पूजाले स्वीकारिन् न आकाशले । तर साथ हुँदा यस्तो कुनै लक्षण थिएनन् जसले उनीहरु प्रेममा नभएको संकेत गरोस् ।

फिल्मका कार्यक्रमदेखि साधारणभन्दा साधारण इभेन्टमा पनि दुवैलाई एकअर्काविना देख्न मुस्किल पथ्र्यो । जोडी जमेको देखेर म्युजिक भिडियो निर्देशकले त खेलाउनसम्म खेलाए, यसको हावाबाट फिल्म निर्माता पनि अछुतो थिएनन् । तर एक दिनमा सुटिङ सकिने म्युजिक भिडियो र फिल्ममा अन्तर थियो । अहिले यही अन्तर नबुझ्दा रिलिजको संघारमा रहेका ‘सम्झना बिर्सना’का निर्माता पछुताइरहेका छन् । 


म्हामारीअघि नै प्रदर्शनका लागि तयार भएको फिल्म ‘सम्झना बिर्सना’ले प्रचार प्रसारलाई तीव्र बनाउन गीत सुटिङ गर्ने निर्णय गर्यो । क्लब र भक्तपुर दरबार स्क्वायर गरेर फिल्मको गीतको सुटिङ पनि भयो । तर सुटिङमा आकाश र पूजाको चिसिएको सम्बन्ध छताछुल्ल भयो । सेटमा रहेका मानिसका अनुसार दुवैले सुटिङमा राम्रोसँग एक अर्कालाई सघाउँदै सघाएनन् । दुवैको एक अर्कासँग बोलचाल पनि बन्द रहेको देखिएको थियो । यसको असर भोलि गीत सार्वजनिक हुँदा प्रत्यक्ष देखिने सुटिङ सेटमा रहेका मानिसको ठहर थियो । 

हिजो तिनै पूजा र आकाश थिए जो अन्तर्वार्तामा एक अर्काविना बाँच्नै नसकिने कुरा गर्थे । फ्यानलाई पनि यस्तै कुरा गरेर उचाल्ने गर्थे । तर अहिले अवस्था यस्तो छ, दुवै एक अर्कासँग बोल्दा पनि बोल्दैनन् ।उनीहरुको अवस्था देखेर धेरैलाई घरेलु उखान याद आइरा होला, ‘पहिला चाटाचाट अहिले काटाकाट ।’
भोलि दुवैले ‘सम्हालिन्छ कहिले मन’ पनि सँगै प्रमोट गर्नुछ, त्यतिबेला पनि यो पूर्व जोडीको ‘जेस्चर’ कस्तो रहन्छ, फ्यानलाई उत्सुकता रहनेछ । 


Author

थप समाचार
x