सिनेमा

सिनेमा समीक्षा

‘कबड्‌डी ४’ रोमाञ्चविनाको फाइनल म्याच

सामीप्यराज तिमल्सेना |
जेठ १६, २०७९ १०:४३ बजे

‘कबड्‌डी’को काजी (दयाहाङ राई) नेपाली सिनेमाकै इतिहासमा रुचाइएको पात्र हो । नेपाली सिनेमामा एक हातका औँलामा अटाउने केही पात्र छन् जो ‘फास्ट पेस्ड’ दुनियाँमा पनि हाम्रो स्मृतिमा बाँचेका छन् । ‘हाकु काले’, ‘राते काइँला’, ‘शंकर’, यस्तै यस्तै केही । तर दर्शकले सबैभन्दा धेरै ‘कनेक्ट’ गरेको पात्र हो, ‘कबड्‌डी’को वीरकाजी शेरचन । 

दर्शकलाई काजीले केही गरेको पनि मन पर्छ र नगरेको पनि । जस्तो कि मैयाँका लागि हत्ते गरेको पनि मन पर्छ । शान्तिलाई हत्ते नगरेको पनि । चौथो शृंखलासम्म आइपुग्दा काजी केटीका लागि हत्ते गर्दैन तर पनि काजी दर्शकलाई घत परेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै वीरकाजी हेर्न ओइरिएको भिडले दर्शक र वीरकाजीको यही ‘कनेक्सन’को कथा बयान गर्छन् । तर दर्शकको अपार मायालाई निर्माण टिमले कति गम्भीरताका साथ लिएको छ त ? ‘कबड्‌डी ४’ अर्थात् फाइनल म्याचले अपेक्षित उत्तर भने दिँदैन । 


आठ वर्षअघि मुस्ताङको पनोरोमा खिच्न छाडेर त्यहाँका रैथाने थकाली समुदायको बिहेबारीसम्बन्धी संस्कृतिलाई झर्रो भाषा (दृश्य प्लस भाषा)को मिठासका साथ पेस गरेको ‘कबड्‌डी’ले परिवर्तन खोजिरहेको नेपाली सिनेमालाई ठूलो आँट दिएको थियो । तर त्यसयता त्यही कथा दोहन गर्दै गर्दै चौथो भागसम्म आइपुग्दा यो फिल्म निचोरिएर फोस्रो बनेको छ । फाइनल म्याचमा दर्शक हँसाइराख्ने संवाद त छन् तर अग्र्यानिक परिस्थिति छैन जुन यसको पहिलो भागको शक्ति थियो । हँसाउन त हामीलाई टेलिभिजनमा बग्रेल्ती आउने सस्तामस्ता सिरियलले पनि हँसाउँछन् तर यसैको भरमा यिनलाई हामीले उत्कृष्ट मान्‍ने कि नमान्‍ने, बहसको विषय हुन सक्छ ।  

‘कबड्‌डी ४’को कथा  ‘कबड्‌डी ३’को जस्तै छ । मिहिन रूपमा हेर्नुभयो भने चरित्र चित्रण पनि । फरक यत्ति छ, ‘कबड्‌डी ३’ मा एउटी केटी पाउन तीन जनाको हत्ते छ, यता बमकाजी (सौगात मल्ल) एक्लै । तर यो पटक रामबाबु गुरुङ र उपेन्द्र सुब्बा सिर्जित ज्ञानोदय स्कुलकी शिक्षिका शान्ति शेरचन (मिरुना मगर) लाई धेरैबाट एउटा छान्‍नुपर्ने द्विविधा पनि छैन । खै किन हो, शान्तिलाई यो पटक वीरकाजी भात खान घर आएकै बेला मन परेको छ । अझ झुक्किएर वीरकाजीको प्रेम प्रस्तावयुक्त चिठ्ठी आएपछि त शान्तिलाई के चाहियो हाकाहाकी काजीलाई ‘ससुराली जाने बाटो देखिरहन पर्दैन’ भन्दै विवाहका लागि हाँक दिन्छे । त्यसो भए के काजीले सजिलै शान्ति पाउँछ त ? दुई घन्टा सत्र मिनेट लामो फिल्मले आधा अधुरो उत्तर दिँदै बिट मार्छ  । 

दोस्रो भागदेखि नै ‘कबड्‌डी’को कथा तन्किएको छ । तैबिसेक ‘कबड्‌डी २’मा पहिलो कथाको निरन्तरता महसुस गर्न सकिन्छ तर तेस्रो र चौथो भागमा लेखक निर्देशक एउटै कथा र पात्रलाई ओल्ट्याई पल्ट्याई गरिरहेका छन् । तेस्रो भागमा कार्म जसरी काशी (उपासना सिंह ठकुरी)लाई नपाए मरिदिन्छु भन्छन् यो भागमा सौगात शान्तिका लागि उसै गरी मर्न तयार छन् । तर यसमा सौगात जस्ता अभिनेता पनि आफूलाई नियन्त्रण गर्न नसकेर कलाकार हैन, जोकरमा परिणत भएका छन् । फिल्मको हाफटाइम अघिसम्म उनको उपस्थिति ठीकठाकै लाग्छ तर दोस्रो भागमा उनी कर्कस र ‘इरिटेटिङ’ हुँदै गएका छन् ।

गणितमा मास्टर्स गरेको बमकाजी ६०–७० को दशकका हिन्दी र नेपाली फिल्ममा जस्तो एक झमक देखेकै भरमा मर्न मार्न तयार हुने परिस्थिति ‘हाफ बेक्ड’ रहँदा फिल्मको पूरा कथा विश्वसनीय छैन । उनले शान्तिलाई देखेर पिछा गर्ने, भट्टीमा गएर पम्फा (गौमाया गुरुङ)सँग फ्लर्ट गर्ने, काजी र शान्तिसँग अचानक घोडा चढेर पछि लाग्‍ने कुनै पनि दृश्य परिस्थितिजन्य छैनन् । एउटा टिनेजर र अधवैंशेको प्रेम अभिव्यक्त गर्ने तरिका बिल्कुलै फरक हुन्छ । अझ शिक्षकसमेत रहेको सौगातको चरित्रले गर्ने गतिविधि क’नै पनि हिसाबले पत्याउने खालका छैनन् ।  लेखक–निर्देशकले हँसाउनका लागि उनलाई जहाँ चाह्यो त्यहाँ प्रयोग गरेका छन् । यो प्रयोगले दर्शक त हाँसेका छन् तर फिल्म भने कृत्रिम र अति नाटकीय दृश्यको गठजोड मात्र बनेको छ । सौगातको चरित्र चित्रण रामबाबु गुरुङकै अघिल्ला फिल्म ‘मिस्टर झोले’मा प्रवीण खतिवडाले गरेको र ‘कबड्‌डी ३’ कार्मले गरेको चरित्रसँग पनि हुबहु मिल्छ । 

‘कबड्‌डी’ दुई शक्तिबीचको खेल हो । तर चौथो शृंखलामा विपक्षी खेलाडी नै छैनन् । बमकाजी एक्लै खेल खेल्छ र हार्छ । सदा खेलको मुख्य खेलाडी रहने गरेका वीरकाजी खेलमा अनिच्छुक छ । पूरा फिल्मभरि वीरकाजीका आमाबुबा (पुष्कर गुरुङ–कविता आले) र साथीहरू बीके र छन्त्याल (विजय बराल–बुद्धि तामाङ) काजीको विवाह गराउन बल गरेर बसेका छन् तर काजीलाई यसमा कुनै रुचि छैन । रुचि त्यतिबेला जाग्छ जब काजीलाई बमकाजीले आफ्नो अगाडिबाट मैयाँ भगाएको याद आउँछ । लेखनमा लतरखाजी भएको यो पनि एउटा प्रमाण हो । नत्र त दर्शकलाई सुरुमा बमकाजी र काजीबीच परिचय छ भन्‍ने कुरा नै राम्ररी रजिस्टर्ड गराइएको छैन । नत्र जतिबेला पनि सिंगौरी खेल्न तयार हुने काजी आफ्नी मैयाँलाई आँखा अगाडिबाट भगाएर लैजाने बमकाजीलाई कसरी आफू अध्यक्ष भएको स्कुलमा पढाउन दिँदो हो ? दिए नै पनि पुरानो कुरा कोट्याउँदो हो वा बीके र छन्त्यालले पनि सम्झाउँदा हुन् । फिल्मभरि यस्ता धेरै ठाउँ छन् जसको उत्तर पाउन दर्शकले आफ्नै कल्पनाशक्तिलाई दु:ख दिनपर्छ । 

फिल्ममा ‘कथा’ नहुनु यो फिल्मको ‘व्यथा’ हो । उही सहरबाट कोही आउने, देख्नेबित्तिकै केटी मन पर्ने अनि केटी पाउनका लागि भएभरकाले मरिहत्ते गर्ने । अनि अन्तिममा दुइटामध्ये एउटाले केटी पाउने । त्यसमा पनि केटीको चरित्र चित्रण यस्तो हुन्छ कि मानौँ केटीले भएभरका सबैलाई भाउ दिन्छे । चौथो भागमा पनि शान्तिको कुरा बुझिँदैन । दृश्यले भन्छ, शान्ति काजीलाई मन पराउँछे त्यसैले ससुराली जान प्रेरित गर्छे उता बाटोमा बमकाजी घोडामा भेटिन्छ अनि यसअघि थाक्दै नथाकेकी शान्ति अचानक बमकाजीको घोडामा बस्न तयार हुन्छे । निर्देशकले यस्ता धेरै दृश्य विश्वसनीय बनाउन चुकेका छन् । अनि केटीलाई वस्तु जस्तो आकर्षणको विषय बनाएर त्यसलाई पाउन पुरुषहरूले मरिहत्ते गर्ने कथा पनि अब ‘कुल’ लाग्दैन । 

प्राविधिक रूपमा पनि फिल्म चुस्त छैन । शैलेन्द्र डी कार्कीको छायांकन सामान्य छ । दृश्य बुनोटमा क्यामराको कुनै शिल्प देखिँदैन । बरु धेरै ठाउँमा दृश्यहरू फोकस आउट छन् । केही ठाउँमा लिपसिंक पनि भएको छैन । 

सम्पादनमा पनि यस्तै समस्या छ । होल्ड खोजिरहेका रियाक्सन पत्तै नपाई काटिएका छन् । दयाहाङको चरित्रले आमाले आत्महत्या गरेको सम्झेको दृश्यमा फ्ल्यासब्याक र रियल टाइममा आउने क’राको संगति मिलेको छैन । 

बलियो कथा दोस्रो भागदेखि नै यो सिरिजको विशेषता होइन । तर उही कथा र उस्तै पात्रमा पनि दर्शक रिझाइराख्ने फिल्म बनाउन सक्नु निर्देशक रामबाबु गुरुङको खुबी हो । यसका लागि दयाहाङ राई र उनको केमेस्ट्रीलाई यसको श्रेय जान्छ । यो सिरिजका सबै भागमा दुवैले एक अर्कालाई ‘कम्लिमेन्ट’ गरेका छन् । 

रामबाबु गुरुङको कमिक टोन र टाइमिङ पनि गज्जबको छ । शान्तिले ‘ससुराली जाने बाटो देखिरहन परेन’ भन्‍ने संवादपछि काजीको चरित्रले कसैले सुन्यो कि भनेर दायाँबायाँ हेर्ने दृश्य भिज्युअल कमेडीको सुन्दर रूप हो । तर निर्देशक गुरुङले फिल्ममा भिज्युअल कमेडीभन्दा संवादको मार्फतबाट दर्शक हसाउने अभिभारा पूरा गरेका छन् । तर सही ठाउँमा सही संवाद बोलाउनु र रियाक्सन लिनु सजिलो काम होइन, रामबाबु गुरुङले यति काम जानेकै कारण ‘कबड्‌डी ४’ विनाकथा सवा २ घन्टा तन्काएका छन् । फिल्म हेरुन्जेल अल्छी लाग्दैन, जुन अधिकांश नेपाली फिल्मको समस्या रहने गरेको छ । 

फिल्मको राम्रो पक्षकै कुरा गर्दा फिल्ममा समावेश ‘केशरी’ गीत उत्कृष्ट छ । यसको कोरियोग्राफीमा रिपिटेसन छ तर पनि यो गीत फिल्मको टोन सुहाउँदो छ । फिल्मको पार्श्व संगीतले पनि हँसाउन राखेका पन्चलाइनलाई राम्रैसँग भरथेग गरेको छ । यो फिल्ममा फेरि पनि कसैले निराश पार्दैन भने ती दयाहाङ राई हुन् । तेस्रो भागदेखि बदलिएको उनको आनीबानी यसमा पनि कायम छ र त्यसलाई उनले एक ठाउँ पनि नछाडी धारण गरेका छन् । लामा बन्‍ने कुरा र भावुक बनेर सजिलै फर्कने कुरामा बलियो लजिक नखोज्ने हो भने दयाले रियाक्सनबाट मात्र पनि सिरिजभर दर्शक कज्याउन सफल भएका छन् । सिरिजमा दयाहाङपछि सुन्दर काम गरेकी छिन्, मिरुना मगरले । केही फ्रेममा सुन्दर देखिनुका साथ दिग्गज अभिनेताका साथमा अभिनयमा पनि काँधमा काँध मिलाएकी छिन् । एउटा सही फिल्म खोजिरहेकी मिरुनाले ‘कबड्‌डी ४’लाई तृष्णाका साथ ग्रहण गरेकी छिन् । 

बाँकी कलाकारको कुरा गर्दा विजय बराल र बुद्धि तामाङ सौगातझैँ फिल्ममा ‘लाउड’ लाग्छन् । यही अवस्था लगभग कविता आले र माओत्सेको पनि छ । दयाको बाबु बनेका पुष्कर गुरुङ र सौगातका बाबु बनेको माओत्सेको यत्तिकै जंगिने बानी एकै मात्र छैन झर्को लाग्दो पनि छ । यही फिल्मबाट डेब्यू गरेकी भ्लगर गौमाया गुरुङको भूमिका अनावश्यक छ । अनावश्यककै कुरा गर्दा काजीको घरमा दोहोरिरहने एकै खाले संवाद, बमकाजी पुगिरहने पम्फाको भट्टीका दृश्य, शान्ति पाउन सौगातले गर्ने कसरत कुनै पनि आवश्यक महसुस हुँदैनन् । 

कबड्‌डी खेल विपक्षीको कोर्टमा पुगेपछि सुरु हुन्छ । यसका लागि खेलाडीले आफ्नो घेरा नाघ्नुपर्छ । रामबाबु गुरुङ र उनको समूहले ८ वर्षअघि विनापैसा गुरिल्ला शैलीमा ‘कबड्‌डी’ बनाएर यो घेरा तोडेका थिए तर पछिल्ला शृंखलामा उनीहरू गुरिल्ला शैली छाडेर पुँजीवादमा लागेका छन् । नेपाली फिल्म भनेपछि नाक खुच्याउने दर्शकलाई कीर्तिमानी संख्यामा हलमा तान्‍न सक्नु चानचुने काम होइन तर रामबाबु गुरुङबाट नेपाली सिनेमाले पुँजी मात्र होइन, सिर्जनाशीलताको पनि आस गर्छ । ‘कबड्‌डी’ छाडेर ‘मास्टर बमकाजी’तिर लाग्दा उनले यत्ति हेक्का राखून् ।

निर्देशक : रामबाबु गुरुङ
लेखक : रामबाबु गुरुङ/उपेन्द्र सुब्बा
छायांकार : शैलेन्द्र डी कार्की 
सम्पादन : निमेष श्रेष्ठ
कलाकार : दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, गौमाया गुरुङ आदि । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
ad
x