आमचुनाव २०७९

गुह्येश्वरीमा घाम ताप्दै पहिलो आमनिर्वाचनका एजेन्ट बाबुराम

सदिक्षा आचार्य |
कात्तिक २८, २०७९ सोमबार १७:३९ बजे

गुह्येश्वरी, बागमती घाटमा एक वृद्ध घाम तापेर एक्लै बसिरहेका भेटिए । उनको झोलामा केही धार्मिक पुस्तक थिए र हातमा एफोर साइजमा प्रिन्ट गरिएका पानाहरूको ढड्डा । पानाहरूमा रातो मसीको डटपेन कुदिरहेको थियो । निर्वाचन रिपोर्टिङका सिलसिलामा भेट भएका रोचक पात्रमध्ये एक भए, बाबुराम नेपाल ।

बाबुराम नेपाल राणाकालमा १९९७ सालमा जन्मे । हाल काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिकामा त्यतिबेला उनी जन्मेका थिए । रमााइलो के भने उनी नेपालमा पहिलो पल्ट भएको आम निर्वाचनमा सहभागी भएका थिए । सहभागी पनि यसरी कि एजेन्टका रूपमा । अझ रोचक के छ भने परिवारका धेरै जना विश्वेश्वरप्रसाद कोइरालातिर थिए । तर, उनी चाहिँ फरक पार्टी गोरखा दलतिर । उनी त्यहाँ मतदान केन्द्रमा एजेन्ट थिए ।


 
८३ वर्ष पुग्नै लागेका बाबुरामलाई ६५ वर्ष पुरानो सम्झना ताजै छ । २०१४ सालमा गोरखा दलको सदस्य भएर आफ्नो राजनीतिक जीवन सुरु गरेका नेपालले २०१५ सालमा झुपडी चुनाव चिह्नमा भोट दिएका थिए । गाउँका सबै विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वतिर समर्थन जनाए पनि उनी भने गोरखा दलतिर नै लागेका थिए । नयाँ पार्टी भएको र भर्खरभर्खर उदाएको पार्टी, कार्यकर्ताको कुरा सुन्दा पनि जोस बढेर आफू त्यतातिर लागेको उनी बताउँछन् । 

नेपालकै पहिलो चुनाव भोगेका उनले त्यसबेलाको चुनाव निष्पक्ष भएको बताउँछन् । उम्मेदवारहरू भित्र बस्ने, हात उठाउने चलन थियो त्यतिबेला । उनको आफ्नै दाइ गोरखा दलमा भएको तर गाउँका सबै कांग्रेस भएको उनले बताए । अहिले भने उनलाई राजनीति भनेको अर्कालाई गाली गरेर आफू अगाडि आउने त हो नि भन्ने लाग्छ । 

‘पार्टी भनेपछि पहिले त्यसैमा अडिग भएर लाग्ने गर्थे, दसतिर पोइला जाने चलन थिएन,’ नेपाल भन्छन्, ‘अहिले एउटा पार्टी छोडेर अर्कोतिर गयो भने त्यसको विश्वास हुँदैन ।’ 

दल परिवर्तनलाई अविश्वास भने पनि उनी त्यसपछि भने नेपाली कांग्रेसतिरै आए । अहिलेसम्म आफू कांग्रेस नै रहेको उनी बताउँछन् । उनी यो चुनावमा भोट हाल्न गाउँ जाने तयारीमा पनि छन् ।

‘आफ्नो पार्टी र उम्मेदवारले एक भोटले हार्न सक्छ, त्यसैले जान्छु,’ उनले भने, ‘भोट नहाल्नुभन्दा राम्रो पात्र छानेर हाल्नु राम्रो ।’ 

नेपाल अहिले पशुपति एरियामा डेरामा बस्छन् । काठमाडौँमा किनेको घडेरी पनि उनले बेचिसकेका छन् । ‘कतै पानी नहुने, कतै घाम ताप्न नपाइने यस्तै यावत् यावत् कुराले गर्दा मलाई सधैँ यहीँ बस्न मन लागेन,’ उनी गाउँतिर बस्ने योजना सुनाउँछन् ।

 
कांग्रेस भए पनि आफूलाई कांग्रेसका ठूला नेताको कार्यव्यवहारले खुसी नदिएको उनले बताए । अहिलेका सबै दलका नेताहरूको काम गर्ने शैली उनलाई मन परेको छैन । तर, मन नपरे पनि आफ्नो मनले आएको दल छान्नैपर्ने उनको विचार छ । 

बाबुराम नेपाल २०२१ सालमा वडा सदस्य भएका थिए ।

अबको प्रतिनिधि सभाको चुनावबाट उनलाई केही आशा छैन । कुन नेताले के कति काम गरे भनेर सुन्न मन लाग्ने उनी बताउँछन् । राजनीतिमा हुने हलचल बुझ्न उनी रेडियो कानमै राखेर सुन्छन् । 

बाबुराम भन्छन्, ‘दिक्क लाग्ने कुराहरू केही नभएको तर गरिब जनताको नाम लिएर फाइदा आफूले लिने गरेका छन् नेताहरूले ।’ कुनै खास पार्टी विशेष नभएर सबै मिलेर देश नै खान लागेको उनी बताउँछन् । 

कुराकानीको अन्तिममा भने, ‘चुनावमा त तानेर पनि भोट हाल्न लैजाने गर्छन् । म पनि जान्छु, एक मतको पनि महत्व हुन्छ ।’

यति भनेर उनी आफ्नो प्रकाशोन्मुख पुस्तकमा चिनो लगाउनतिर लागे । आफ्नो गाउँठाउँका नेपाल थरहरूको इतिहास उनी लेखिरहेका छन् । 


Author

थप समाचार
x