आमचुनाव २०७९

काठमाडौँ–५ का उम्मेदवार प्रदीप पौडेलको मत माग्ने यात्रामा जे देखियो

कमल धिताल | उपेन्द्र अर्याल |
कात्तिक २३, २०७९ बुधबार १७:२१ बजे

काठमाडौँ– मंगलबार बुढानिलकण्ठको ६ नम्बर वडामा कांग्रेसको चुनावी प्रचारप्रसार कार्यालयमा रहेका कार्यकर्ता घरदैलोमा जान तयार भएर बसिरहेका थिए । अपराह्नको तीन बजेदेखि घरदैलो अभियान सुरु गर्ने निधो भएको रहेछ ।  कांग्रेस नेता प्रदीप पौडेलको घरदैलो अभियान पछ्याउन हामी पनि निर्धारित समयमा पुग्यौँ । तर, जसका लागि भोट माग्न जान लागेका थिए, उनी त्यस बेलासम्म आइपुगेका थिएनन् ।


त्यसैले सबै जम्मा भएर गफ गर्दै थिए । हामी पुग्दा कोही माइकको व्यवस्थापन गर्दै थिए त कोही  पर्चा/पम्पलेट भेला गर्दै थिए । साना–साना समूहमा आन्तरिक गफ पनि हुँदै थिए । त्यहीमध्येको एउटा समूहको कुराकानी सुन्न हामी नजिकियौँ ।  उनीहरू यसपालि प्रदीपको जीत निश्चित भएको दाबी गर्दै थिए । त्यहीँ हामीले कांग्रेसका काठमाडौँ जिल्ला सदस्य दीपक खत्रीलाई सोध्यौँ– तपाईँहरूको जित्ने आधार के त ? उनले उत्तर दिँदै भने, ‘ईश्वर पोखरेल ‘टेस्टेड’ हुन् । अब उनीबाट धेरै आशा गर्ने ठाउँ छैन । तर, हाम्रो उम्मेदवार विचार र उमेर दुवैले युवा हुनुहुन्छ । यही हो हाम्रो जित्ने आधार ।’ 

त्यहीँको अर्को समूहमा गुनासो पनि सुनियो । ‘कांग्रेसभित्रको आन्तरिक व्यवस्थापन खासै चुस्त हुँदैन,’ एक कार्यकर्ता भन्दै थिए, ‘बाहिरबाट चैँ कांग्रेसलाई कसैले हराउन सक्दैन ।’ त्यहाँ कांग्रेसजन नै आफ्ना कमजोरी औँल्याउँदै थिए । उनीहरू प्रतिस्पर्धीका गलत काम धेरै नै भए पनि ती बुलन्द तरिकाले बाहिर ल्याउन नसकेको गुनासो साट्दै थिए । गुनासोसँगै आफूहरु प्रतिस्पर्धीजस्तो तल्लो स्तरमा ओर्लेर नबोल्ने स्वभावको पार्टी भएकामा सन्तोष पनि मानिरहेका थिए । 
कुराकानी चलिरहेकैबीच काठमाडौँ–५ का उम्मेदवार पौडेल आइपुगे ।

उनी आएलगत्तै घरदैलो सुरू भयो । एक घर अगाडि एमालेको प्रचारप्रसारको कार्यालय रहेछ । प्रदीपले भोट माग्न आफ्नै प्रतिस्पर्धीको कार्यालयबाट सुरु गरे । उनी भोट माग्न पुगेपछि एमालेको प्रचारप्रसारमा रहेका कार्यकर्ताले पनि हाँस्दै परिचय गरे । प्रदीपले कार्यालय बाहिर उभिएकासँग मात्रै मत मागेनन्, कार्यालयभित्रै पसेर सबैसँग हात मिलाउँदै हँसिलो मुद्रामा बाहिरिए । 

 

त्यसपछि प्रदीपको घरदैलो खड्का भद्रकाली हुँदै खत्री गाउँतिर लम्कियो । उनले बाटाका कुनै पनि पसलमा भोट माग्न बाँकी राखेनन् । हरेक चिया पसलमा छिरेर आशीर्वाद लिँदै अघि बढे । उनलाई हौसला दिन फूल र अबिर लिएर आमाहरू पर्खिरहेका भेटिए । उनी हिँड्दै गर्दा कतिपय घरको छतबाट हात हल्लाउँदै शुभकामना दिँदै थिए भने कतिपय आँगनमै निस्किएर अंकमाल गर्दै शुभकामना दिन्थे ।  

खड्का भद्रकालीकै एक घरको छतमा रहेकी एक महिला प्रदीपलाई देख्नासाथ भेट्न तल ओर्लिइन् । प्रदीपले ‘भोट यसपालि कांग्रेसमा’ भन्दै मत मागे । उनले प्रदीपलाई आफू पार्टीमा नलागे पनि सधैँ कांग्रेसलाई नै भोट हाल्दै आएको भन्दै शुभकामना दिइन् । ‘हामी सधैं कांग्रेसलाई नै मत हाल्छौँ,’ उनले प्रदीपलाई भरोसा दिलाउँदै भनिन्, ‘यसपालि तपाईँ जस्तो युवा उम्मेदवार हुनुहुन्छ । जित्नुपर्छ ।’ 

उनले थपिन्, ‘यो टोलैले कांग्रेसलाई भोट हाल्छ । ऊ त्यो  एउटा घर मात्रै हो फुटेर तीर भएको छ ।’ उनले त्यति विश्वास दिलाए पनि प्रदीप हाँस्दै अगाडि बढे । 
खत्री गाउँतिर लाग्दै गर्दा एउटै आँगन जोडिएका तीन घर भेटिए । त्यसमध्येको एउटा घरमा वरपरका साथीभाइ जम्मा हुँदै तास खेल्दै थिए । प्रदीपलाई सबैले आफ्नो खेलै रोकेर शुभकामना दिए । प्रदीपले शुभकामना लिएनन् मात्रै, खेलको जीतका लागि पनि शुभकामना दिए । मतदाताबीच उनले खासै परिचय दिइरहनु परेको थिएन । उनी यस क्षेत्रको नभए तापनि सबै माझ परिचितै देखिए ।

त्यहाँबाट अगाडि बढ्दा बारीबाट मुला उखेलेर ल्याउँदै गरेकी नानीमैया खड्का भेटिइन् । उनी र उनीसँगै बारीमा काम गर्दै गरेका आमा–दिदीलाई भेट्न प्रदीप खेतमै पुगे । सबैसँग प्रदीपले ‘यसपालि भोट मलाई है’ भन्दै मत मागे । ‘म त मेरा छोराहरूले भनेको ठाउँमा मत हाल्ने हो । यसपालि प्रदीपलाई हाल्नुपर्छ भनेका छन्,’ उनले प्रदीपकै अगाडि भनिन् । प्रदीपले धेरै प्रतिक्रिया जनाएनन्, हाँस्दै प्रदीपलाई नै दिनुपर्छ है दिदी भन्दै अगाडि बढे । 

उनले मत माग्दै गर्दा हामीले नियालेको एउटा विषय उनलाई प्रश्न कसैले सोधेनन् । उनका अजेन्डाबारे कुरा कोट्याएनन् । सबैले हौसला र शुभकामना मात्रै दिए । सयपत्री ढकमक्क फुलेको खत्री गाउँमा उनलाई प्रायःले फूलका गुच्छाले स्वागत गरे ।  खत्री गाउँकै पुछारका श्यामबहादुर खत्रीको घर रहेछ । उनको घरमा उनकी श्रीमतीलाई प्यारालाइसिस भएको रहेछ । पीडाबीच उनले प्रदीपलाई हँसिलोे मुद्रामा स्वागत गरे । उनले प्रदीपसँग गुनासो गर्दै भने, ‘जित्नेले यहाँ जितेपछि अनुहार देखाउँदैनन् । हाम्रो दुःखबारे कसैलाई थाहै हुन्न ।’ प्रदीपले श्यामबहादुरलाई भरोसा दिलाउँदै यसपटक आफूलाई दिएर हेर्न अनुरोध गरे । ‘यसपटक मलाई मत दिनुहोस्,’ उनले भने, ‘चुनावपछि सुख÷दुःख बाँडौँला है बुवा ।’ प्रदीपको भनाइ लगत्तै श्यामले थपे, ‘चुनावपछि भेट हुने हो होइन ?’ 

प्रदीपले श्यामबहादुरलाई भेट्ने भरोसा दिलाएर हिँडे । तर, श्याम प्रदीपले दिएको भरोसामा विश्वस्त हुन सकिरहेका थिएनन् । उनले आफ्नो क्षेत्रको मुख्य समस्या खानेपानी अभाव भएको बताए । पटकपटक जितेर पनि ईश्वर पोख्रेलले खानेपानी समस्या समाधानमा काम नगरेको उनको भनाइ थियो । प्रदीप पनि बाहिरबाट आएको भन्दै उनले दुवै उम्मेदवारप्रति शंका व्यक्त गरे । 

हामीले उनीसँग कुरा गर्दागर्दै प्रदीपको टोली ओखल गाउँ पुगिसकेको रहेछ । उनलाई पछ्याउँदै हामी पनि ओखल गाउँतिरै गयौँ । ओखल गाउँमा पुगेपछि त्यहाँ घरहरूमा प्रायः गेट बन्द थिए । कतिपय घरका गेटै खुलेनन् । मतदाता भेट्न प्रदीपले पर्खिरहे । तर केही समयमा पनि बाहिर कोही ननिस्किपछि उनी अर्को घरतर्फ लाग्थे । त्यही एउटा घरबाट रातो जम्पर र कालो टोपी लगाएका एक वयस्क व्यक्ति निस्किए ।

उनले प्रदीपलाई देख्नासाथ भने, ‘मलाई चिन्नुभयो ?’ प्रदीप अन्कनाएपछि उनले फेरि भने– म अभिमन्यु थापा । त्यति भनेपछि प्रदीपले चिने । अभिमन्यु उनका साथी रहेछन् । विद्यार्थी राजनीतिमा प्रदीप नेविसंघमा हुँदा अभिमन्यु अखिलको राजनीतिमा रहेछन् । तर, यसपटक भने उनले प्रदीपलाई नै भोट दिने बताए । ‘तपाईंलाई शुभकामना छ । यसपालि ट्यांकीवालाहरू  हराउनुपर्छ,’ थापाले भने ।

उनले वर्तमान सरकारले स्वतन्त्र उम्मेदवारहरूलाई प्रचार–प्रसारमा लगाएको रोककोसमेत विरोध गरे । थापाले यसपटक नयाँ उम्मेदवारलाई साथ दिने इकागजलाई बताए । त्यहाँबाट अगाडि बढ्दै गर्दा थुप्रै घर बन्द थिए । कतिपय घरमा घण्टी झुन्ड्याइएको थियो । घण्टी बजाउँदा पनि मतदाता बाहिर निस्किएनन् । घरदैलो कार्यक्रममा हिँडेकामध्ये एकले ठट्यौली गर्दै भने, ‘घरमा घन्टी देख्दा पनि रविकै जस्तै लाग्ने रहेछ ! हाहा..’ सबै हाँस्दै अगाडि बढे । 
प्रदीप हरेक घरका छतमा देखिएका, बारीमा काम गर्दै गरेका मतदाता सबैसँग मत माग्दै नमस्कार गर्दै अगाडि बढिरहेका थिए ।

उनलाई सबैले हुन्छ भन्दै विश्वास दिलाउँदै पठाइरहेका थिए । हात्तीटंगिनी नजिक दुईतले घरमा दुई दाजुभाइ देखिए । प्रदीपले हात हल्लाउँदै नमस्कार गरे । उनीहरूले नमस्कार फर्काउँदै भने, हामी माओवादी हौँ । तर यसपटक तपाईंलाई मत दिन्छौँ ।’ यति हुँदा साँझ पर्न थालिसकेको थियो । प्रदीप थकान नमानी मतदाताको शुभकामना र हौसला लिइरहेका थिए । तर, उनीहरूकै गतिमा हिँड्दा हाम्रा खुट्टाले भने विश्राम खोजिरहेका थिए । त्यसैले हामी त्यहीँबाट कार्यालयतर्फ मोडियौँ । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x