आमचुनाव २०७९

उम्मेदवार उवाच

म्याग्दीका जनताको सुख दु:खको साथी हुँ, भारी मतान्तरले जित्‍छु

सदिक्षा आचार्य |
कात्तिक २१, २०७९ सोमबार ७:५८ बजे

मंसिर ४ मा संघ र प्रदेश दुवै सभाका लागि निर्वाचन हुँदै छ । तर, संघको चर्चामा प्रदेश नेपथ्यमा जस्तो देखिएको छ । त्यसैले हामीले संघ सँगसँगै प्रदेश उम्मेदवारका भनाइ पनि सक्दो समेट्ने प्रयास गरिरहेका छौँ । यसै सिलसिलामा गण्डकी प्रदेश सभा म्याग्दी ‘ख’मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका रेशम जुग्जाली (सुबिन) सँग हामी निर्वाचन-संवाद गर्दै छौँ । अघिल्लो स्थानीय सरकारमा स्वतन्त्रबाट वडाध्यक्ष जितेका जुग्जालीले आफूहरुको वाम-लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित रहेको बताएका छन् । प्रस्तुत छ, उनीसँग सदिक्षा आचार्यको कुराकानी : 
 

स्थानीय सरकारको अनुभवपछि प्रदेश चुनावको तयारी गरिरहनुभएको छ, कस्तो रह्यो यात्रा ?  
म राजनीतिमा लागेको २२-२३ वर्ष भयो । यत्रो वर्षको सक्रिय राजनीतिपश्चात् टिकट प्राप्त गरेको छु । स्थानीय तह निर्वाचन २०७४ मा मालिका गाउँपालिकाअन्तर्गत ७ नम्बर वडामा अध्यक्ष जितेर जनताकै सेवा गर्दै आएको छु । 


चुनाव परीक्षा हो भन्छन् । परीक्षाका लागि ‘जे होला हेरौंला’ कि ‘बृहत् तयारी’ पनि छ ? 
म माओवादी केन्द्रको जिल्ला संयोजक पनि हो । स्वाभाविक रूपमा दाबी मेरो थियो । टिकट आउने कुरा पनि लगभग निश्चित थियो । मेरो पूर्वतयारी थियो । म बृहत् तयारीका साथ चुनावमा लागेको छु । गृहकार्यहरू गरेको छु । 

संघ र प्रदेशमध्ये प्रदेशतिर देखिनुभयो, कुनै विशेष कारण छ ?
यो त पार्टीका शीर्ष नेताहरूले मिलाउने कुरा न हो । हामी त केन्द्रकै आदेश मान्छौँ । नेपाली कांग्रेसलाई संघमा छ, हामी प्रदेशमा छौं । हाम्रो सुझाव पनि त्यस्तै थियो । 

पछिल्लो पटक २०७४ को निर्वाचनमा ‘वाम गठबन्धन’बाट एमालेका उम्मेदवारले जितेको अवस्था थियो । अहिले ‘वाम लोकतान्त्रिक’ गठबन्धन छ, कसरी हेर्नुभएको छ ? 
२२-२३ वर्षदेखि म्याग्दीको भूमिमा छु । मेरो आफ्नै क्षेत्रमा छु । यहाँका जनतासँगसँगै छु । कांग्रेससँग गठबन्धन गरेका छौं । मतान्तर त भारी नै हुन्छ भन्ने आँकलन गरेका छौं । मेरो हकमा त म जनताको सुख-दुुःखमा साथ दिइरहेको छु, मेरो प्रतिद्वन्द्वी काठमाडौं बसेर आफ्नो क्षेत्र नै हेर्नुहुुन्न । त्यसैले म विश्वस्त छु, यहाँका जनताले मलाई विजय बनाउनुहुन्छ । 

आफूलाई कस्तो नेता भनेर चिनाउनुहुन्छ ? 
म कस्तो भनेर मैले भनेर हुँदैन । यो विषयमा म्याग्दीका जनताले बोल्नुपर्छ । उहाँहरूको हातमा छ । म राजनीतिमा मात्रै नभएर सामाजिक सेवातिर पनि लागेको छु । विकास निर्माण लगायत हरेक समस्याहरूमा सँगसँगै भएको हुनाले उहाँहरूकै हातमा छोडेको छु । यो भन्दा अगाडि २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाअध्यक्ष पनि निर्वाचित भएको हुँ । विगतमा गरेका कामकाज हेर्दा अरूभन्दा अब्बल छु कि जस्तो लाग्छ । 

मतदाताहरूको अपेक्षा कस्तो पाउनुभयो ?
सकारात्मक अपेक्षा छ भनौं । कतिले पहिले जितेर गएकाले जस्तै पो गर्नुहुन्छ कि भन्नुभएको छ । म आफ्नै गाउँठाउँमा बस्ने व्यक्ति भएकाले त्यस्तो गुनासो गर्ने दिन आउँदैन भनेर आश्वासन दिएको छु । मत प्राप्त गरेर जितेपछि फर्केर नआउने प्रचलन बढी छ, तपाईं त्यस्तो नगर्नुहोला भन्नुभएको छ । उहाँहरूको अपेक्षाअनुरूप काम गर्छु । म युवा भएको हुनाले पनि सहानुभूति पाइरहेको छु । 

के भनेर आश्वासन दिनुभएको छ ?
विगतमा जितेर जानुभएका प्रतिनिधिले केही परिवर्तन गर्नुभएको छैन । यातायात, स्वास्थ्य, शिक्षामा देखिने परिवर्तन केही छैनन् । नहुने कुरा गर्छु भनेर भनेको छैन मैले । जितेर गएपश्चात् निराश भने बनाउने छैन । पहुँच पुर्‍याउनुपर्छ भन्नुभएको छ ।

सांसदले त नीति निर्माण गर्नुपर्ने हो । तर सांसदले विकासे बजेटतिर बढी ध्यान दिन्छन् । किन होला ?
हो, सांसदले नीति निर्माणमा दमदार भूमिका निभाउनुपर्छ । सांसद भनेका नीति निर्माणकर्ता सँगसँगै विकास निर्माणको समन्वयकर्ता पनि त हुन् । जनप्रतिनिधि भएपछि समन्वयकर्ताको भूमिका त हुन्छ नै । शंका छैन । त्यसैले होला विकासे बजेटतिर ध्यान केन्द्रित हुने ।

तपाईंलाई म्याग्दी ‘ख’का जनताले जिताएमा चुनावी आश्वासन मात्रै पाउँछन् कि ? 
म मेरा प्रतिबद्धता पूरा गर्छु । चुनावी आश्वासन मात्रै नभएर प्रतिबद्धता पूरा गर्ने व्यक्ति भनेर चिन्नुहुनेछ मलाई म्याग्दीका जनताहरूले । आश्वासनमा मात्रै केन्द्रित हुँदैन । ढुक्क हुनुहोस् । 

व्यक्तिगत रूपमा के-कस्ता प्रतिबद्धता पूरा गर्छु भनेर जनतामाझ जाँदै हुनुहुन्छ ?
म्याग्दी पर्यटन क्षेत्रको सम्भावना बोकेको क्षेत्र हो । मैले संघ र प्रदेशसँग समन्वय गरेर पर्यटन अनुकूल नीति बनाउन जोड दिएर अगाडि बढ्छु भनेको छु । यहाँ जडिबुटीको प्रशस्त उत्पादन हुन्छ । यार्सागुम्बा, पाँचऔँलेलगायतका धेरै महत्वपूर्ण जडीबुटीको प्रशोधन गर्ने ठाउँ बनाउन सके उत्पादन, आम्दानीमा समेत म्याग्दी अगाडि आउन सक्छ भनेर एउटा भविष्य नै देखेको छु मैले । यही कुरा जनतामाझ बुझाएर मतको अपेक्षा गरेको छु ।

तामाखानी पनि छ । हेर्नुहोस् त कति सम्भावना बोकेको छ सम्पूर्ण म्याग्दीले । सहजीकरण गर्ने र समग्र म्याग्दीको चौतर्फी विकासका लागी समन्वय गर्छु । सुधार गर्नुपर्ने त धेरै छ नि, स्वास्थ क्षेत्र उस्तै छ । हाम्रो प्रदेश क्षेत्रमा दरबाङ क्षेत्रमा स्वास्थ्य क्षेत्र अव्यवस्थित छ, त्यो व्यवस्था मिलाउन समन्वय गर्छु । शिक्षा क्षेत्रमा पनि सुधार गर्नुपर्ने छ । जनताले मलाई यस पटक जिताउनुहुन्छ । सोहीअनुरूप म काम पनि गर्छु । सकेको गर्छु । पहिले पनि भनेको छु । २२ वर्षदेखि निरन्तर म्याग्दीका लागि खटेको छु । म जनताकै सेवामा छु । मलाई मेरो क्षेत्रका जनताले जे-जस्तो नतिजा दिए पनि स्वीकार्य छ । म सदैव म्याग्दीकै लागि छु । 

‘वर्तमान गठबन्धन परिस्थितिको उपज’ भनिएको छ । म्याग्दीको हकमा के देख्नुहुन्छ ? 
म्याग्दीमा वाम लोकतान्त्रिक गठबन्धनको माहोल सकारात्मक छ । राम्रो छ । सकारात्मक तरिकाले अगाडि बढिरहेको छ । गठबन्धनको जित लगभग सुनिश्चित छ ।

माओवादी केन्द्रको घोषणापत्रमा व्यवस्था र अवस्था परिवर्तनको कुरा छ । म्याग्दीमा के परिवर्तन हुन्छ त ? 
केन्द्रको घोषणपत्र भए पनि त्यो त यहाँको आवश्यकता अनुरूप मान्ने हो नि । म्याग्दीमा परिवर्तन झन् सम्भव छ । सकारात्मक छ, जे होस् । व्यवस्था र अवस्था परिवर्तनका लागि नै हामी लागिपरेका छौं ।


Author

थप समाचार
x