बालबालिका

योजना पेश गर्न गाउँपालिका कार्यालय पुगे बालबालिका

इकागज |
जेठ २८, २०७९ शनिवार १४:११ बजे

दैलेख-    बालबालिका लक्षित योजनाको फाइल बोकेर दैलेखको गुराँस गाउँपालिका–५ का प्रेम विक बिहीबार गाउँपालिका कार्यालय पुगे । बाल सञ्जालको सचिव समेत रहेका उनी गाउँपालिकामा बालबालिका लक्षित योजना पेश गर्न कार्यालयमा पुगेका हुन् ।  उनले गाउँपालिका कार्यालयमामा योजनाहरू मात्र बुझाएनन्, बाल लक्षित योजनामा बजेट विनियोजन तथा कार्यान्वयन गर्न आग्रह समेत गरे । देउराली बाल सञ्जालकी सचिव दिलकुमारी पुनमगर पनि गाउँपालिका कार्यालयमा बालबालिका लक्षित योजना पेश गर्न पुगेकी थिइन् ।

प्रेम र दिलकुमारी जस्तै पालिकाका आठै वडाका बालबालिकाले बालबालिका लक्षित योजना छनौट गरी गाउँपालिकामा बुझाएका छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि उनीहरूले बाल भेलामार्फत बालबालिका लक्षित योजना छनौट गरेको हुन् ।


स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा बालबालिका केन्द्रित योजना र कार्यक्रमको छनौटमा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने उदेश्यले बाल भेला गरी बालबालिका लक्षित योजना छनौट गरी गाउँपालिकामा पेश गरिएको हो । सबै वडाका बालबालिका सहभागी भेलाबाट प्राथमिकीकरण भएका योजना बालबालिकाले पालिका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवाकुमारी खड्कालाई बुझाएका छन् ।

बालबालिका लक्षित योजनामा के के छन्

किशोरीलाई सेनेटरी प्याड निर्माण तालिम, सबै विद्यालय घेराबार, बालमैत्री वडा घोषणा, बाल क्लबको क्षमता विकास र जीवन उपयोगी सीप, बालविवाह, छाउपडी लगायतका प्रथा न्यूनीकरणसहित १० वटा योजना बालबालिकाले प्राथमिकतामा राखेका छन । 

यस्तै, माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, सेनेटरी प्याड व्यवस्थापनसहितको शौचालय, बहुअपाङ्गता भएका बालबालिकालाई घरमै सिकाई सहयोग, विद्यालयमा किशोरकिशोरी सूचना केन्द्र स्थापनालाई बालबालिकाले मुख्य प्राथमिकता दिएका छन् ।

योजना पेश गरेका बालबालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूसँग विद्यालयमा भएका समस्याहरू सुनाए । विषयगत र गुणस्तरीय शिक्षकको व्यवस्थापन तथा खानेपानी र शौचालय निर्माण गरिदिन बालबालिकाले आग्रह समेत गरे ।

बाल भेलाले छनौट गरेको योजनालाई प्राथमिकतामा राखेर पूरा गर्ने गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए ।  गाउँपालिका उपाध्यक्ष शिवा खड्काले स्थानीय तहको योजना तर्जुमामार्फत बालबालिकाका समस्या पहिचान, समाधान र बालअधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइन् ।


Author

थप समाचार
x