बालबालिका

अनाथ बालबालिका हेरचाह गर्न गाउँपालिकाले बालगृह खोल्ने

इकागज |
जेठ १७, २०७९ मगलवार १५:३२ बजे

बागलुङ- तमानखोलाले अभिभावकविहीन र असहाय बालबालिकालाई लक्ष्य गरी तत्कालै बालगृह सञ्चालनमा ल्याउने भएको छ । त्यस्ता बालबालिकालाई सुरक्षित आवास, पालनपोषणसँगै कक्षा १२ सम्म निःशुल्क पढाउने गरी बालगृह सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाको भनाइ छ ।    
    
“बुबाआमा गुमाएका र अति गरिब, विपन्न परिवारका बालबालिका जो पढाइबाट वञ्चित छन्, उनीहरुको पहिचान गरी बालगृहमा राखेर उचित हेरचाह, लालनपालनसहित कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था गाउँपालिकाले मिलाउँछ”,  उनले भने ।    
    
यही शैक्षिक सत्रदेखि अभिभावकविहीन बालबालिकाको खोजी र पहिचान गरी बालगृहमा राखिने गाउँपालिकाले जनाएको छ । आफ्नै संरचना नबनुञ्जेल भाडाको भवनबाट बालगृह सञ्चालन गरिने अध्यक्ष बुढाले बताए । युवाहरुलाई उद्यम र आयआर्जनतिर जोड्न गाउँपालिकाले युवालक्षित व्यावसायिक प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।    
    
 उद्यम, व्यवसायमा लाग्ने युवाहरुलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपलब्ध गराउन पहल गर्ने र उक्त कर्जाको ऋण गाउँपालिकाले तिरिदिने निर्णय गरिएको हो । युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित गाउँपालिकाले सो योजना अघि सारेको हो । उद्यमको योजना, कर्जाको सीमा र मापदण्डलगायतका विषय कार्यविधि बनाएर तोकिने गाउँपालिकाले जनाएको छ ।    
    
गाउँपालिकाले आफ्नो चिनारी झल्काउने पालिका गान पनि तयार गर्ने निर्णय गरेको छ । स्थानीय सर्जक बिमला पुन घर्तीको रचनालाई सङ्गीत र स्वरबद्ध गरी पालिका गानका रुपमा प्रयोगमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको हो । पालिका गानका रचयिता घर्तीलाई रु १५ हजारसहित सम्मानसमेत गरिने भएको छ ।



Author

थप समाचार
x