ब्लग

म्यानमारबाट फर्केका पत्रकारको मार्मिक बयान

दीपक भट्टराई |
चैत ६, २०७७ शुक्रबार १७:४७ बजे

काठमाडौँ : राजनीतिक बन्दीलाई सहयोग गर्ने संस्था एएपीएका अनुसार सेनाले सत्ता लिए यता बर्मामा २ सय ४४ जनाको हत्या भइसकेको छ । हालसम्म २ हजार २ सय ५८ जना गिरफ्तार गरिएका छन् । ती मध्ये १ हजार ९ सय ३८ जना अहिले पनि सैनिक हिरासत तथा नजरबन्दमा छन् । आन्दोलनमा लागेका कारण गिरफ्तारीमा परेका व्यक्तिको शव सेनाले आफन्तलाई बुझाउँछ ।

बेपत्ता नपारेर किन शव बुझाइन्छ भन्ने मेरो प्रश्नमा बर्मेली सेनालाई बुझेका जानकारहरू 'मान्छेमा त्रास पैदा गर्न कतिपयलाई गिरफ्तार गरिएपछि विभत्स तवरले हत्या गरेर आफन्तलाई शब बुझाइन्छ' भन्छन् । यसले प्रदर्शनकारीलाई हतोत्साही बनाउने तिनको बुझाई छ ।


मेरा बीबीसीका सहकर्मी आङ थुरालाई सेनाले पक्राउ गर्‍यो । सैनिक हिरासतमा रहेका नेताका जारी सुनुवाईको रिपोर्टिङ गर्न अदालत पुगेका बेला उनी गिरफ्तारमा परे । उनीसँगै मिजिमा मिडियाका पत्रकारलाई पनि पक्रेछन् । मिजिमाका प्रधान सम्पादक मेरा साथी सो मिन्ट फेब १ देखि नै भूमिगत छन् ।

बर्मेली सैनिक सरकारले भिजा थप्न डेड महिनादेखि आनाकानी गरेपछि माया भट्टराई र मैले बर्मा छाड्यौँ । रंगुन विमानस्थलमा १५ दिनको ओभर स्टे जरिवाना तिरेपछि कुनै बाधा उत्पन्न भएन । काठमाडौँ आइपुगियो । बर्मामा इन्टरनेटको पहुँचमा कटौती गरिदैँ लगिएको छ । मोबाइलमा डाटा सेवा बन्द गरिएको छ ।

आङ सान सूकी पार्टी एनएलडीका नेता उ की टो पक्राउ परिसकेका छन् । उनैले फेब्रुअरी १ पछि सूचना दिन्थे । यसअघि एनएलडीका दुई जना नेतालाई पक्राउको केही समयपछि तिनका विभत्स शव परिवारलाई बुझाइएको थियो । प्रजातान्त्रिक संघर्ष सफलताको मापन मानिएको नागरिक अवज्ञा आन्दोलनलाई सरकारले तारो बनाउँदै लगेको छ ।

सरकारी कर्मचारीलाई मार्च २२ सम्म जागिरमा नआए उपलब्ध आवाससहितका सबै सुविधा कटौति गरिने र मुद्दा चलाउने भनिएको छ । अवज्ञा आन्दोलनले देशका बैंकिङ सहित दैनिक प्रशासन र सबैजसो व्यावसायमा असर पारेर आन्दोलन सफल पुर्‍याउने प्रजातन्त्रवादीको योजना छ । दिउसको जुलुशमा मर्नेको संख्या बढ्दै गएपछि राति कर्फ्यु तोडेर जुलुश निकाल्ने क्रम बढेको छ ।

रंगुनबाट शुरु भएको त्यस्ता प्रदर्शन अहिले देशका सबैजसो शहरमा निस्कन थालेकाछन् । हिजोसम्म आन्दोलनमा २१७ को मृत्यु भएको छ । त्यस्तै २२ सय जना पक्राउ परेका छन् र करिब १९ सय अहिले पनि हिरासतमा छन् ।

बर्मामा सुरक्षाकर्मीले मोबाइल जाँच गरेर फेसबुक, टि्वटर र आन्दोलन तथा प्रजातन्त्रसँग सम्बन्धित सामाग्री भेट्टाए पक्राउ गर्छन् । त्यसैले घरबाहिर निस्कँदा धेरैले प्रयोग गर्न छुट्टै मोबाइलको व्यवस्था गरेका छन् । भारत र थाइल्यान्डमा शरण लिने बर्मेलीको संख्या बढ्दै गएको छ । 

(म्यानमारबाट फर्केका पत्रकार दिपक भट्टराईले श्रखलावद्ध रुपमा राखेका सामाजिक संजालमा राखेको विचार)


Author

थप समाचार
x