ब्लग

चाइना जर्नल

चिनियाँ खोपबारे केही कुरा

अजय अलौकिक |
फागुन १४, २०७७ शुक्रबार ६:५६ बजे

सन् २०२० को प्रारम्भदेखि विश्वमा कहर बर्साउन थालेको नयाँ कोरोनाभाइरस रोग (कोभिड-१९) हाल आएर केही मत्थर देखिएको छ । तापनि विश्वका विभिन्‍न क्षेत्रमा यसको प्रसार दरमा अझै कमी आइसकेको छैन । कुनै देश या क्षेत्रमा सङ्क्रमण दर सुन्य देखिए तापनि कतै फेरि बढेको या दोस्रो तथा तेस्रो लहरको समाचार छ ।

यो कोभिड-१९ ले विश्व मानवजातिको गतिविधि र चालचलनमा धावा बोलेको छ र सजिलै मानिसले यसबाट छुट्कारा पाउने स्थिति देखिन्‍न । यसबाट सुरक्षित रहने सबैभन्दा भरपर्दो उपाय भनेकै यसविरूद्धको खोप नै हो ।


हुन त भाइरसको प्रजातिको विकास र खोपको प्रभावको अवधिका कारण पनि अझै सशंकित हुनुपर्ने अवस्था छ । तापनि वर्तमान अवस्थामा यस कोभिड-१९ विरूद्धको खोप संसारभरिका मानिसको आशा हो र मानवजातिका लागि जीतको माध्यम पनि हो ।

यसरी कोभिड-१९ विरूद्धको खोपको अनुसन्धान र विकासले मानिसमा उत्साह जगाए तापनि यसबाट सारा विश्वले तुरून्तै लाभ लिनसक्ने अवस्था भने छैन । एक त हाल विश्वलाई पुग्ने गरी खोपको उत्पादन भएको छैन, अर्को विकसित तथा शक्तिशाली राष्ट्रले खोपको भण्डारण समेत गरिरहेका छन् । संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) ले १३० देशका २.५ अर्ब मानिसले अझै खोप लाउन नपाएको जनाएको छ । 

यसै गरी एन्टाइ पोभर्टी क्याम्पेनर्सले धनी देशहरूले आफूलाई चाहिने भन्दा १ अर्ब बढी डोज खोप सङ्कलनको तयारीमा रहेको आरोप लगाएको छ । यस्तो भयानक अवस्था देखिएमा चीन र चिनियाँ खोप मात्रै विकासोन्मुख मुलुकको एक मात्र आशा रहने छ । चीनले निर्माण गरेको खोपले विश्वमा एउटा आशा जगाएको छ, शक्ति दिएको छ । 

अझै विकासोन्मुख मुलुकका लागि चिनियाँ खोप ‘उद्धारकर्ता’ को रूपमा नै देखिएको छ । साथै चीनले धेरै अगाडिदेखि नै महामारीको सामना गर्न निरन्तर रुपमा विश्व र विकासोन्मुख मुलुकलाई खोपका लागि सहायता गर्ने र यसका लागि पहल गर्दैजाने बताउँदैआएको छ । 

गत नोभेम्बर २१/२२ मा साउदी अरबको रियादमा भर्च्वली आयोजित १५ औं बीस मुलुक समूह (जी-२०) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले भनेका थिए, ‘हामी अन्य विकासोन्मुख देशहरूलाई सहयोग र समर्थन दिने हाम्रो प्रतिबद्धतालाई सम्मान गर्ने छौं र विश्‍वव्यापी रूपमा खोपलाई सार्वजनिक रूपमा पहुँचयोग्य र सस्तो बनाउनकालागि काम गर्नेछौं’ ।

यसअघि राष्ट्रपति सीले मे महिनामा आयोजित ७३ औँ विश्‍व स्वास्थ्य सभामा चिनियाँ खोप आएपछि विश्‍वव्यापी सार्वजनिक स्वास्थ्य उत्पादन वस्तुका रूपमा विकासोन्मुख मुलुकमा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । 

‘जबसम्म सबैजना सुरक्षित हुँदैनन् तबसम्म कोही पनि सुरक्षित छैनन् ।’

यसका साथै चीन संयुक्त राष्ट्र संघको नयाँ कोरोनाभाइरस खोप लागू योजना कोभ्याक्समा पनि आबद्ध छ । कोभ्याक्स अर्थात् कोभिड-१९ भ्याक्सिन ग्लोबल एक्सेस विश्‍व स्वास्थ्य संगठन, द भ्याक्सिन अलायन्स (जीएभिआई) र कोओलिसन फर एपिडेमिक प्रिप्यर्डनेस इन्‍नोभेसन (सीईपीआई) को समन्वयबाट गठन भएको हो ।

‘जबसम्म सबैजना सुरक्षित हुँदैनन् तबसम्म कोही पनि सुरक्षित छैनन्’, यो नारालाई आत्मसाथ गरेको कोभ्याक्सको लक्ष्य भनेको सबै देशहरूमा सुरक्षित र प्रभावकारी खोपको पहुँच सुनिश्‍चित गर्नु हो । भविष्यमा खोपको अभाव नहोस् र शक्तिशाली तथा धनी राष्ट्रको मनोमानी नचलोस् भन्‍ने आधारमा नै यो कोभ्याक्सको गठन भएको हो तापनि अहिले सारा संसारले तत्काल आवश्यक यो सञ्जिवनी बुटी पाउनसक्ने अवस्था छैन । 

हाल चीन चिनियाँ खोपलाई विश्व सार्वजनिक उत्पादन वस्तुको रुपमा बनाउने वचनलाई निभाउँदैआएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले फेब्रुअरी ८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीन कोभ्याक्समा सक्रिय रूपमा सहभागी हुनुकासाथै विशेषत विकासोन्मुख देशहरुलाई १ करोड खोप दिने निर्णय गरेको पनि बताएका थिए । 

हालसम्म चीनले ५३ वटा विकासोन्मुख देशहरुलाई अनुदान सहायता स्वरूप खोप प्रदान गरेको छ । यसै गरी २७ वटा देशहरूमा खोप निर्यात गरिसकेको छ । हाल चीनले राष्ट्रपति सी चिन फिङको खोपको विकास गर्ने तथा विश्‍वव्यापी सार्वजनिक स्वास्थ्य उत्पादनको रूपमा प्रदान गर्ने र विकासोन्मुख देशहरूमा उपलब्ध गराउने घोषणालाई कार्यान्वयन गरिरहेको छ ।  

यसैबीच, चीनको यो सदाशयता र उनीहरूको उत्पादन क्षमता र खोपको उच्च प्रभावकारिता देखेपछि पश्चिमा मिडियाले भने चीनलाई खोप कूटनीतिको आरोप लगाउँदैआएका छन् । चीनले उक्त आरोपको खण्डन गर्दै खोपसम्बन्धित अन्तर्राष्ट्रिय सहयोगलाई कहिले पनि कुनै राजनैतिक एजेण्डा नबनाएको तथा यसबाट कुनै आर्थिक लाभ पाउने योजना पनि नबनाएको स्पष्ट रूपमा व्यक्त गर्दैआएको छ । 

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को कोभिड-१९ खोप वितरण सम्बन्धमा हालै भर्च्वली आयोजित एक बैठकमा चीन कुनै पनि भू-राजनीतिक लक्ष्य वा कुनै आर्थिक लाभको पछि नलागेको तथा खोप सहयोगमा कुनै राजनीतिक सर्त नरहेको बताएका छन् । 

यसबाहेक, विश्वभर नै चिनियाँ खोपको सकारात्मक मूल्याङ्कनसँगै धेरै देशहरूले उच्च प्रशंसा गरेका छन् । धेरै देशका राष्ट्रप्रमुख तथा शीर्ष नेताहरू विमानस्थलमै पुगेर चिनियाँ खोपको स्वागत समेत गरेका छन् । आठ देशका राष्ट्रप्रमुखहरूले चिनियाँ खोप लगाइसकेका छन् । चीनसहित विश्वभर चिनियाँ खोप लगाउनेको संख्या झण्डै ६ करोड नाघिसकेको छ । 

फेब्रुअरी ९ सम्म चीनभरि मात्र ४ करोड ५० लाख बढीले चिनियाँ खोप लगाइसकेका छन् । यी खोप लगाएकामा हालसम्म कुनै नकारात्मक या गम्भीर असर परेको देखिएको छैन । साथै धेरै मुलुकका वैज्ञानिकहरूले चिनियाँ खोपको परीक्षात्मक अनुसन्धान गरी सुरक्षित तथा प्रभावकारी रहेको प्रमाणित समेत गरिसकेका छन् । विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित मापदण्डभन्दा उच्चस्तरको मानिएको छ साथै ढुवानी तथा भण्डारणका लागि पनि सुविधाजनक छ । 

चिनियाँ खोपलाई मेक्सिकोका राष्ट्रपतिले भन्‍नेजस्तै अति चिसो वातावरणको प्रबन्ध आवश्यक छैन । ‘चिनियाँ खोपका लागि माइनस तापक्रमको आवश्यकता नभएबाट ढुवानी गर्न सजिलो छ, जसले दुर्गमस्थलका मानिसहरूमा पनि आशा जगाएको छ ।’ यो चिनियाँ खोपलाई दुईदेखि आठ डिग्री सेल्सिय तापक्रमको वातावरणमा ढुवानी गर्नसकिन्छ । यसबाट विकासोन्मुख मुलुकहरूको ढुवानी तथा प्रबन्धको लागत खर्चमा धेरै ठूलो बचत हुन्छ । 

हाल सुरक्षित तथा प्रभावकारी चिनियाँ खोपप्रति केही विकसित पश्चिमा मुलुकको धारणामा पनि परिवर्तन आएको देखिन्छ । जर्मनी, फ्रान्सजस्ता देशहरू पनि चिनियाँ खोप प्रयोगमा कुनै समस्या नहुने बताउनथालेका छन् र निकट भविष्यमा अनुमोदन गरे अचम्म मान्‍नुपर्ने छैन ।

अब कुरा रह्यो नेपालको, नेपालले भने भर्खरै मात्र चिनियाँ खोप भेरो सेललाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । आपत्कालीन प्रयोग सूचीमा समावेश भएपछि मात्रै उक्त देशमा खोप आपूर्ति गर्न सकिन्छ । यो अनुमतिपछि मात्रै चिनियाँ खोपलाई नेपालमा आपूर्ति गर्ने ढोका खुलेको हो । 

फेब्रुअरी ५ तारिख नै नेपाल र चीनका परराष्ट्र मन्त्रीबीचको टेलिफोन संवादमा नेपाललाई पाँच लाख चिनियाँ खोप उपलब्ध गराउने प्रतिबद्धता चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले गरेका थिए । तर नेपालमा बिचौलियाको बिगबिगी र कमिसनखोरका कारण अझैसम्म भित्र्याउनसकेको छैन । नेपालले युनाइटेड अरब ईमिरेट्स (युएई) सँग समेत खोप आपूर्ति गर्ने पहल गरिरहेको समाचार पनि बाहिरिएको थियो । जब कि युएईले अहिलेसम्म खोपको निर्माण नै गरेको छैन र चीनबाट खरीद गर्ने योजनामा छ । हाल भारतबाट खरीद गरिएको खोपसमेत भित्रीसकेको अवस्थामा चीनबाट अनुदानस्वरूप पाएको खोप अझै भित्र्याउन नसक्नु लज्जास्पद छ । 

आशा छ, नेपालले चिनियाँ खोपलाई भित्र्याउन ढिला गर्ने छैन र यसका लागि छिटै नै व्यवस्थापन गर्ने छ । आमजनता छिटोभन्दा छिटो लाभान्वित हुने छन् र देश कोभिड महामारीअघिको स्थितिमा पुग्‍नेछ ।

यसै गरी चीनको अर्को विशेषता भनेको माँग अनुसारको उत्पादन क्षमता पनि हो । चीन आवश्यकता अनुसारको खोपको उत्पादन तथा निर्यात गर्न सक्षम छ । यसै बीच, चिनियाँ खोप खरीद गर्ने देशको सूची पनि बढ्दै गएको छ । केही हप्ता अघिको एक तथ्याङ्क अनुसार, १६ वटा देश तथा क्षेत्रहरूले ५० करोड डोज खोपको सम्झौता गरेका छन् । सन् २०२१ को अन्तसम्ममा दुई अर्ब तथा सन् २०२२ को अन्तसम्ममा ४ अर्ब खोप उत्पादन गर्ने योजना चीनको छ । 

चीन खोप उद्योग संघका अध्यक्ष फङ तोचियाका अनुसार, ४ अर्ब खोपले विश्व माँगको ४० प्रतिशत भाग पूरा गर्न सक्ने छ । यसका साथै चीनमा कोभिड-१९ विरूद्धका १८ किसिमका खोपहरू उत्पादनका लागि अनुमोदित भएका छन् ।

गत वर्ष कोभिड-१९ महामारीको वर्ष रह्यो । चालु वर्ष कोभिड-१९ विरूद्धको खोपको वर्ष रहने छ । विश्वमा अझै फैलिरहेको महामारीको सामना गर्न तथा यसबाट मुक्त हुने उपाय खोप मात्रै हो । चीनले चिनियाँ खोपलाई विश्वव्यापी सार्वजनिक उत्पादन वस्तुको रूपमा प्रदान गर्नुका साथै विश्व र विकासोन्मुख मुलुकहरूलाई उपलब्ध गराउने घोषणालाई व्यवहारमा उतारिरहेको छ । चीनले सकारात्मक योगदान पुर्‍याउँदै निरन्तर रुपमा विकासोन्मुख मुलुकहरूलाई सहुलियत दरमा समेत खोप उपलब्ध गराउन सहयोग गर्दै आएको छ । चिनियाँ खोपको व्यापक प्रयोगसँगै यसले विश्वव्यापी रूपमा विश्वास पनि जित्दै छ ।


Author

थप समाचार
x