ब्लग

‘त्यो प्रमुख अतिथि को हो ?’

लक्ष्मण कार्की |
कात्तिक ११, २०७७ मंगलबार १३:५७ बजे

एकपटक यात्राको सिलसिलामा म त्यहाँ पुगेको थिएँ । झिलिमिली बत्ती, लामा र फराकिला मार्ग । चिला भवन । दिन–रात छुटाउनै नसकिने । सानदार र आधुनिक सहर । यसको नाम के होला ? यो सहर कुन सम्राट्ले स्थापना गरेका होलान् ? कति मजदुरले रगत–पसिनाको खोला बगाएका होलान् ? यहाँका मनुवा कुन सभ्यतासँग जोडिँदा हुन् ? यस्ता कयौँ प्रश्नको माझमा थिएँ म । चल्दै गरेका पाइला रोकेँ । केही क्षण उभिएँ । यताउति हेर्दै टोलाएँ । 

अगाडि । केही पर । एउटा भीड देखापर्यो । त्यो भीड म भएतिर आउँदै थियो । सोचेँ, यिनीहरूमध्ये कसैलाई सोध्नुपर्ला सहरको विषयमा । तर, मेरो प्रयत्न माटोमा मिल्यो । म भीडतर्फ नदौडिएको पनि हैन । पछि आफैँमा खुम्चिन बाध्य भएँ । त्यो बाध्य पार्ने तत्व एउटै थियो– मौनता । भीडको मौनता ।


तसर्थ त्यो मौनतामा कसैसँग बोलेर आफ्नो असभ्यताको परिचय दिनु न्यायसंगत थिएन । कसैलाई सोधिनँ । केवल गइरहेको हुल हेरिरहेँ । क्षणभरिमै भीड कतै ओझेल पर्यो । कुन सडक, गल्ली वा घरमा पसेँ । मैले भेउ पाउन सकिनँ ।

अलि पर चौतारो थियो । जहाँ वर र पीपलका वृृक्ष थिए । वृक्षको फेद दुनाटपरी, अबिर, फूलपातीले रंगिएको थियो । विश्राम लिने चाहनाले मन भरिएर आयो । म त्यतै सोझिएँ । चौतारोमा सुस्ताउँदै थिएँ, दुई आकृतिमाथि नजर परे । तिनीहरू चौतारामा आए । सम्मुख भएर बसे । केही बेरपछि । एउटा पीपलको वृक्षतिर सोझियो । र, वृक्षमा चढ्न थाल्यो । अर्कोले तलबाट हेरिरह्यो ।

मैले सडकतिर नजर लगाएँ । सडक निर्जन देखिन्थ्यो । कुनै प्राणीको गन्ध थिएन । अपर्झट । सडक चम्कियो । रंगहीन सडकमा रंगको बर्सात् भयो । मैले टाउको उठाएँ । पीपलको बोटमा हेरेँ । त्यहाँ केही थिएन । वृक्षको टुप्पोमा एउटा दियो बलिरहेको थियो । जसको उज्यालोले आकाशसमेत चम्किएको थियो । म चकित भएँ । जिल्लन पुगेँ ।

छोटो बसाइँपछि म अघि बढेँ । सडकमा सुरक्षाकर्मी थिएनन् । यातायातका साधन थिएनन् । कुकुर थिएनन् । छाडा गाईबस्तु समेत कतै देखिएनन् । कुनै गल्लीमा बेसहारा एवं टुहुरा बालक देखिएनन् । यसरी एकान्त ठाउँमा कहिल्यै हिँड्ेको थिइनँ । त्यो निकै एकलास यात्रा हुँदै थियो ।

यताउति हेर्दै हिँड्दै थिए । मनमा चिसो पस्यो । यस्तै एकान्त स्थानमा हुने गर्छ चोरी, लुटपाट र अपहरण । मारेर फाले भने कसले देख्ने यहाँ । कसले सुन्ने हार गुहारको चीत्कार यहाँ ? फगत सडक छेउमा ठडिएका बिजुलीका पोल प्रत्यक्षदर्शी हुनेछन् यहाँ । अग्ला भवन, सडक, पोल के बोल्ने ? कसले, कसलाई, कहाँ लग्यो ? 

मैले सोचेजस्तो नहुन सक्छ । कमसेकम सुरक्षाको बलियो प्रबन्ध मिलाएको हुनुपर्छ यहाँ । नत्र बेफ्रिक्री ती युवा किन बस्थे चौतारामा ? यहाँ हुने हरेक घटनाको एक–एक सूचना माथिल्लो निकायसम्म पुगेको हुनुपर्छ । यस्तो शालीन एवं सभ्य सभ्यतामाथि प्रश्न खडा गर्नु मेरो तुच्छ विचारको उपज हो । आफ्नो तुच्छ भावनामाथि थुक्न मन लागेको थियो । तर, सकिनँ । जथाभावी थुकेर अलिकति बचेको इज्जत गुमाउने पक्षमा थिइनँ म ।

अनायासै । मेरा गोडा सडकको छेउतिर मोडिएँ । म दुविधामा परेँ । त्यता जाऊँ वा नजाऊँ । बगैँचाझैँ देखिने त्यो स्थान खुला देखिन्थ्यो । दुबोको टुसाले सजिएको । बीचमा एउटा कुण्ड । जसमा नर्मल जल शान्त रहेको थियो । कुण्डको छेउमा साल र समीका अग्ला वृक्ष थिए । म कुण्डको सामुन्ने उभिएँ । मेरो मोटो शरीर जलमाथि तैरियो । त्यहाँ मैले आफ्नो शरीर नियालेँ । अनि असली चेहेरा पनि ।

म त्यहाँ स्नान गर्न चाहन्थेँ । स्नान गरेर आत्मशुद्धि गर्ने सोचमा थिएँ । तर, मलाई त्यस सहरबारे कुनै जानकारी थिएन । त्यहाँका कुनै नीति एवं नियमबारे जानकार थिइनँ । कुण्डमा स्नान गर्न पाइन्छ वा पाइँदैन भन्ने ज्ञान थिएन । फेरि पनि यो कुरा त्यति ठूलो विषय थिएन । मुख्य कुरा म त्यहाँ स्नान गरेर कुण्डलाई धमिलो, मैलो बनाउने सोचमा थिइनँ । 

सालको बोटनिर आएँ । आफैँले पार गरेको मार्ग हेरेँ । बाटोमा जीवाणुसमेत थिएन । भुइँमा रुखको पात पनि थिएनन् ।
फेरि एकपल्ट कुण्डतिर आँखा दौडाएँ । सारा दृश्य म नेत्रमा कैद गर्न चाहन्थेँ । त्यसैले धित नमरुन्जेल हेरिरहेँ । एउटा छेउबाट अर्को छेउसम्म । एउटा डिलबाट अर्का डिलसम्म । 

उत्तरतर्फ जाने एउटा गोरेटो थियो । जुन माथि ओडारसम्म पुग्थ्यो । मलाई थाहा छैन । त्यो वास्तवमा ओडार थियो वा मेरो दृष्टिभ्रम थियो । जे होस् । त्यसको पछाडि जंगल थियो । ओडार नजिक केही टाउका देखापरे । तिनीहरू सल्बलाएझैँ देखिन्थे । घरि लुक्थे । घरि देखिन्थे । त्यो दृश्य बडो चाखलाग्दो थियो । जो केहीको मन बहलाउँथ्यो ।

निमेषभरि लुकामारीको खेल खत्तम हुनपुग्यो । त्यहाँ कुनै टाउको देखिएन । एक्कासि म उदास भएँ । तर, सोही समय गोरेटोमा एउटा आकृति देखापर्यो । ममा उमंगको बर्सात् भयो । खुसीको वर्षा गराउने अर्को पक्ष थियो । त्यो आकृतिमाथि ओडारबाट तल झर्दै थियो । अर्थात् म भएतिर आउँदै थियो । उत्तरविहीन मेरा हरेक प्रश्नको समाधान हुने थियो ।
 
त्योे ज्यादै मन्द गतिमा आउँदै थियो । त्यस्तो हिँडाइले ऊ वरिपरिका वस्तु नियाल्न झरेको हुन सक्ने प्रतीत हुन्थ्यो । तसर्थ उसले टाढाको दृश्य हेर्न कष्ट गरेन ।

ऊ सिँढीबाट तल झर्यो । तुरुन्तै बगैँचातिर लाग्यो । मेरो आकलन गलत साबित नगरी ऊ बगैँचामा घोरियो । निकैबेर । त्यसपट्टि ऊ कुण्डको डिलडिलै म भएतिर आयो । मेरो हृदय चंगा भयो । यो ठाउँबारे ऊ जानकार छ भन्नेमा म विश्वस्त थिएँ । म उसैको बाटो कुर्दै थिएँ । ऊसँग कसरी बोल्ने ? के भन्ने ? सोच्दा–नसोच्दै ऊ मनिर आयो ।

उसले आँधीबेहेरी बोकेर ल्याएको थियो सायद । त्यसैले म तीन पाइला पछाडि हट्नुपर्यो । म विचलित भएँ । परिस्थितिले विपरीत मोड लियो । आफ्ना जिज्ञासु नजर अन्तै दौडाएँ । मैले एकपटक उसको मुहारमा हेरेँ । उसको अनुहार काटीकुटी मेरो बोसको जस्तो थियो । जो भर्खरै दिवंगत भएको थियो । 

पटक पटकको मुठभेडपछि मैले उसलाई नमस्कार नगर्ने निधो गरेको थिएँ । अर्थात् उसको जागिरलाई लात मारेको थिएँ । दोस्रोपल्ट उसको मुहार हेर्नुपर्यो भनेको अलप भइसकेको थियो ।
अब उप्रान्त त्यहाँ रहनुको अर्थ रहेन । म बेसहारा भएँ । आखिर— बाटो बिराएको यात्री नै परँे । अगाडि बढेँ । 

एउटा गेट देखापर्यो । जसको टाउकामा लेखिएको थियो– स्वागतम् । 
अरु कुनै नाम नक्सा थिएन । माथिदेखि तलसम्म हेरेँ । केही थिएन । यो सहरको आगमन द्वार थियो वा प्रस्थान ?

द्वारमा तामाका रंगीन ग्राग्री, केराका खम्बा र फूल थिए । लुसुक्क छिरेँ । पर अर्को आकृति देखियो । म उत्तै सोझिएँ । 

यस्तो शान्त सहरमा बस्न पाउनु भाग्यको कुरा हो । सोचेँ, यहाँ बस्न पाए साँच्चै बाँचेको सार हुन्थ्यो । मौका मिले, बरु यसै सालबाट यत्तै बसाइँ सर्नुपर्ला । बाँच्नका लागि यो भन्दा सुरक्षित स्थान कहाँ होला र ?

त्यो आकृतितिरै दौडिएँ । आकृति पनि म भएतिर बेढेको पाएँ । म चाहन्थेँ, यो आकृति कतै अलप नहोस् । यसपालि जसरी हुन्छ म उसलाई भेट्ने अठोटमा थिएँ ।
‘यो स्थानमा बस्न के गर्नुपर्छ ?’ उसलाई भेट्नासाथ सोधेँ । ‘केही गर्नुपर्दैन इच्छा भए पुग्छ ।’ उसले भन्यो । मैले थपिहालेँ, ‘जग्गा किन्नु पर्दैन ?’ उसले मधुर स्वरमा भन्यो, ‘पर्दैन । सबैलाई निःशुल्क उपलब्ध हुन्छ ।’ 

म अचम्मित भएँ ।

मन हर्षले फुल्यो । जग्गा दलाल र ब्युरोक्रेसीको झन्झट व्यहोर्न परेन । यस्तो शुभ कार्यमा ढिलाइ गर्नुहुन्न । सोधेँ, ‘यो सहरको नाम के हो ?’

‘श्मशान घाट ।’ उच्च स्वारमा ऊ बोल्यो । 

म अक्क न बक्क भएँ । ‘म अहिले कहाँ छु ?’ म चिच्याएँ । ‘चिहानमा ।’ ऊ मात्र एक शब्द बोल्यो । 

मैले उसलाई हेरेँ । राम्रोसँग । ऊ हावामा तैरिएको थियो । उसका खुट्टाले भुइँ छोएका थिएनन् । म आत्तिएँ । सोधेछु, ‘तपाईं को हो ?’

‘म चिहानको राजा हुँ ।’ उसले धक नमानी भन्यो । मेरो होसहवास उड्यो । सुद्धिबुद्धिले ठाउँ छाड्यो । शरीर काँपिरह्यो । सुकेको ओठमुखमा फिँज भर्दै सोधेँ, ‘यहाँ

के हुँदै छ ?’

ऊ म नजिकै आयो । र, भन्यो, ‘हरेक वर्ष । आजकै रात । ठीक बाह्र बजे । हामी ठूलो उत्सव मनाउँछौँ । त्यसैको तयारी हुँदैछ । तपाईं नआत्तिनुहोस् । बाह्र बज्न आँटेको छ । अब छिट्टै प्रमुख अतिथिको आसन ग्रहण हुनेछ ।’ 

बङ्लङ्ङै ढल्छु कि झैँ भएँ म । मैले समाउन खोजँे । तर, त्यहाँ समाउने केही थिएन । अचेत अवस्थामा बर्बराएँ, ‘त्यो प्रमुख अतिथि को हो ?’

उसले हाँस्दै भन्यो, ‘तपाईं पनि बडो मजाक गर्नुहुन्छ सर । यो त बच्चालाई समेत थाहा छ । त्यो अतिथि तपाईं नै त हो ।’

(स्याङ्जा, फेदिखोलाका कार्कीले बीएड पास गरेका छन् । लेखपढमा गहिरो रुचि भएका उनी उपन्यास छाप्ने तयारीमा छन् । [email protected])


Author

थप समाचार
x