ब्लग

पल प्रकरण

रंगीन दुनियाँभित्रको संगीन षडयन्‍त्र

राष्ट्रका गहना कि धर्तीका रछ्यान् ?

विष्णु विवेक |
फागुन १४, २०७८ शनिबार २०:० बजे

ग्राफिक्स : यमन मानन्धर

काठमाडौँ : मिति ठ्याक्कै याद छैन । २०७३ सालतिर हुनुपर्छ । राइजिङ मलमा ‘नाइ नभन्नु ल ४’ को ट्रेलर सार्वजनिक कार्यक्रम थियो । 

फिल्म राम्रो होला भन्नेमा शंका थिएन । तर नयाँ डेब्यु कलाकार कस्ता छन् ? भन्ने जिज्ञासा धेरैमा देखिन्थ्यो । कारण पल शाह, वर्षा राउत र आँचल शर्माको डेब्यु फिल्म थियो, त्यो । कम्तीमा मेरा लागि । मैले उनीहरुको चर्चा त्यतिबेलासम्म अरु फिल्ममा त्यति देखेको, हेरेको थिइँन । 


विकासराज आचार्यकृत हिट सिरिज ‘नाइ नभन्नु ल’ चौथो श्रृङ्खलासम्म आइपुग्दा सुरुको जस्तो रसिलो लाग्न भने छाडेको थियो । यद्यपि, गीत संगीतबाट भए पनि यसले आफ्नो चर्चा पाइरह्यो ।

ट्रेलर रिलिज कार्यक्रमका सञ्चालक थिए, सामीप्यराज तिमल्सेना जो त्यो फिल्मका लेखक समेत थिए । उनकै शब्दमा हिट सिरिजमा नयाँ अनुहार ल्याएर जोखिम मोलिएको मात्रै थिएन, नेपाली चलचित्र क्षेत्रमा चम्किने पात्रको खोजी गरिएको हो । उनले यस्तै भनेका थिए ।

सामीप्यको भनाइमा फिल्मका निर्माता तथा निर्देशक आचार्यले ‘कन्फिडेन्ट’ थपे । ‘हामीले यसपटक खेलाएका कलाकार भोलिका स्टार हुन सक्छन्,’ कालो चश्मा लगाएका आचार्यले यसै भनेको पनि सम्झना छ मलाई । 

मैले चिनेकामध्ये विकास र सामीप्यकै छेउमा पल, आँचल र वर्षा थिए । जो रंगीन दूनियामा हाम फाल्दै थिए । यस्तो लाग्थ्यो, उनीहरु त्यो फिल्मका बाल कलाकार अनुभव रेग्मीभन्दा पनि कच्चा छन् । जुन उनीहरूको बोलीमा झल्किन्थ्यो । अनुभवले यही सिरिजका तीन भागमा उनीहरू भन्दा पहिले नै खेलिसकेका थिए । 

सायद धेरै फिल्म खेलेको भएर हुनुपर्छ, अनुभवको डाइलग परिपक्व सुनिन्थ्यो । पल, आँचल र वर्षाको ‘डेलिभरी’ कच्चै सुनिन्थ्यो । पहिलो फिल्म भएर हुनसक्छ, ‘कन्फिडेन्ट’ आउनै बाँकी थियो ।

मैले लामो समय रेडियोमा बोलेको भएर पनि होला वा राजेश हमाल, निखिल उप्रेती, दीलिप रायमाझी, रेखा थापा र निरुता सिंहका फिल्म धेरै हेरेको भएर पनि होला । उनीहरु सबैको आवाजमा आत्मविश्वास पाउँथेँ म ।

मलाई सम्झना छ, ट्रेलर रिलिज गरियो । जहाँ पल साह्रै फुच्चे देखिन्थे । आँचल र वर्षाभन्दा पनि फुच्चे । लाग्थ्यो, उनीहरू हिरो र हिरोइन हुनै बाँकी छ । पूरापुर संघर्ष बाँकी थियो ।

६ वर्षपछि यो ब्लग लेखिरहदा पल प्रहरीको फरार सूचिमा छन् । त्यो पनि नाबालिग गायिकासँग प्रेम र विवाहको प्रलोभन देखाएर यौन सम्बन्ध राखेको (बलात्कार गरेको) अभियोगमा । उनी विरुद्ध नाबालिगलाई बारम्बार ललाइफकाइ शारीरिक सम्पर्क राखेको उजुरी जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता छ । 

त्यो कार्यक्रममा हिरोको जस्तो पोज दिने प्रयास गरेका पल साह्रै असजिलो गरी उभिरहेका थिए । पोज दिने प्रयास गरेपनि त्यो मिलेको देखिदैन्थ्यो । दुब्लो अनि पातलो त्यत्तिकै । त्यसमाथि त्यति ठूलो सेलिब्रेटी भीड, क्यामेरा र पत्रकारका अनेक प्रश्न पहिलोपटक ‘फेस’ गरेको भएर पनि होला । 

एक जना पत्रकारले सोधेका थिए, ‘तपाई अलि सिधा (नायिकासँग टाँसिएर) उभिनुस्न ।’ पल त्यतिबेला पनि हात पाइन्टको गोजीमा हालेर केही छड्के गरि उभिन्थे । पोज दिन्थे ।

जवाफमा पलले भनेका थिए, ‘यो मेरो स्टाइल हो । मेरो स्टारडम हो ।’ बोल्दा शब्द छनोट गर्दा नै पल चुकेका थिए । यद्यपी, यो कुरा धेरैले नोटिस गरेनन् । 
उनका म्युजिक भिडियोले राम्रै चर्चा पाएका थिए । अहिलेको जस्तो एकछत्र रोजाइ र रजाइ भने थिएन । सम्भावना देखिएकै भएर विकास आचार्यले डेब्यु गराएका थिए । 

तर अहिले पल त्यो डेब्यु सम्झिन चाहँदैनन् । उनलाई डेब्यु गराउने सामीप्य र विकास पनि हतारमा टिप्पणी गरिहाल्न आवश्यक ठान्दैनन् । कमसेकम सामाजिक सञ्जालमा उनीहरूको मौनताले त्यही बताउँछ । 

कारण, पलले आफ्नै लोकप्रियताको सीमा नाघे । आकर्षण र सफलताभित्र अपराध गरे । घटना लुकाउन डेब्यु गर्दाकै बखतको जस्तो कच्चापन देखाए ।

डेब्यु फिल्मकै नायिकासँग पलको नाम नजोडिएको होइन । अहिले पलका समकालीन नायिका आँचल र वर्षाले बिहे नै गरिसके । तर पलको उत्ताउलोपनले सारा नेपाली फिल्मी क्षेत्र विभाजित र लज्जित छ । 

रिलमा नाटक, रियलमा घातक !

पल अहिले नायक होइनन् । गम्भीर अपराधमा मुछिएका व्यक्ति हुन् । उनलाई धेरैले चिन्छन् । उनका फ्यानका लागि यो सुखद खबर होइन । तर रिल लाइफमा यस्ता धेरै भूमिका निर्वाह गरेका कलाकारको व्यक्तिगत जीवनमा यस्ता कुराले धेरै अर्थ राख्दैन पनि ।

तर रियल लाइफमै यो श्रृङ्खला मिडियामा छर्लंगै भएपछि भने को कलाकार ? कस्तो कलाकार ? राष्ट्रको गहना कि रछ्यान् ? भनेर प्रश्न तेस्र्याउने धेरै छन् । 

स्वयंम पलको डेब्यु फिल्मदेखि उनी प्रहरीको सर्वाधिक खोजीमा रहँदा हलमा लागिरहेको ‘म यस्तो गीत गाउँछु २’सम्म पनि अभिनयमा छ्याप्छ्याप्ती छन् ।

तर यो घटनामा त्यतिबेला ट्वीस्ट आयो, जतिबेला उनकै साथी भनिने मोडल तर गायक भन्न रुचाउने दुर्गेश थापाले घात गरेको अडियो बाहिरियो ।

कतिसम्म भने दुर्गेश थापाकै योजनामा पललाई फसाउने पूरापुर षडयन्त्र रचिएको गोप्य अडियो फेसबुकबाट सार्वजनिक गरिएको थियो । त्यो अरुले होइन, फरार सूचिमा रहेका पलले नै आफ्नो फेसबुकबाट सार्वजनिक गरेका थिए ।

बलात्कार जस्तो गम्भीर आरोप लागेका राष्ट्रका गहना फिल्ममा होइन, रियलमा भागिरहेका थिए । फिल्ममा उनी पक्राउ परेको दृश्य हेरेर फ्यान रोइरहेका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा यो रिलमा नाटक मात्रै होइन, रियलमै घातक रहेको तथ्यमाथि बल पुग्छ ।

जबकि यो अपराधको विषय एक नाबालिगलाई प्रयोग गरेर रचिएको रंगिन दूनियाको संगीन षडयन्त्र मात्र होइन, चम्किँदो करियरको दोसाँधमा उभिएर खेलाँची गरिरहेको अर्को अपराध हो ।

यद्यपि, फिल्मी क्षेत्र फिल्मी हो । यहाँ नक्कली अभिनयकै लागि करोडौँ खर्च हुन्छ । नाटक बनाएरै, नाटक बेचेरै करोडौँ कमाउनेको कमी छैन । किनकि त्यो कला हो । उत्कृष्ट कला हो । काल्पनिक सोचलाई वास्तविक दृश्यांकन गरेर पर्दामा उतार्नु कम्तीको काम होइन । 

ती काल्पनिक कथामा रमाएर वास्तविक जीवनमा अपराध गर्दै हिड्ने छुट पललाई छैन । अनि वास्तविक जीवनमा काल्पनिक कथाको फिल्मी शैलीमा संगीन षडयन्त्र गरेर आफ्नो ‘औकात’ प्रदर्शन गर्ने अधिकार पनि दुर्गेश थापालाई छैन । 

एउटी नाबालिगलाई बलात्कार गर्ने एउटा, अनि त्यही पीडित नाबालिगलाई मानसिक रुपमा पटक पटक बलात्कृत बनाइराख्ने दुर्गेश प्रवृत्ति पूरा फिल्मी क्षेत्रको यथार्थ पनि हो ।

अनि यो रंगीन दुनियाभित्र बसेर संगीन षडयन्त्रको विषयलाई नाफा घाटामा हिसाब गर्ने पूजा शर्मा र सुदर्शन थापामाथि पनि सर्वसाधारणले चनाखो हुनुपर्ने देखिएको छ ।  

एक समय थियो, रेखा थापाको फिल्म चलाउन प्रेम र विवाहको नाटक बढी गरिन्थ्यो । फिल्मको विषय कम प्रेम र रोमान्सबारेका समाचार मिडियामा धेरै बिक्थे ।

यद्यपि, रेखा आफैँमा क्षमतावान नायिका भएको कुरामा कसैको दुईमत छैन । जुन कुरा प्रमाणित छ । जसले हिरोइनको नाम बनाइन् । तर कहिल्यै हिरोभन्दा कम भइनन् ।

नायिकाहरुको पनि नायक बनेरै रेखा थापाको स्टारडम बिकेको धेरै भएको छैन । झन् राजेश हमालको त के कुरा । जसले आफ्नो अभिनय क्षमता देखाइरहन नाटकको सहारा लिनुपरेन । 

यदि कथमकदाचित पल बलात्कारी होइनन्, दुर्गेश घाती होइनन्, यो त केवल फिल्म चलाउने फण्डा मात्रै हो भन्ने ट्वीस्ट आयो भने पनि अचम्म नमान्दा हुन्छ । पललाई पक्राउ गर्ने प्रहरी बाहनामा बस्नु, किटानी जाहेरीपछि पीडित पक्ष मौन रहनु र घटनाबारे अनेक ट्वीस्ट आइरहनुले पनि यस्तै संकेत गर्छ ।

किनकि ‘रिल’मा बारम्बार बलात्कृत हुनबाट नायिका जोगाउने नायकले ‘रियलमा’ नायिकालाई बलात्कार गरिरहेका हुन्छन् । फरक यति मात्रै हो, ती घटना केही गसिपमा सीमित हुन्छन् । केही रोमान्समा । केही बाध्यतामा । र, धेरैजसो स्वार्थमा गुपचुप रहन्छन् ।

यसको एउटै कारणमा नेपाल पितृसत्तात्मक समाज हो । अनि त्यही समाजका उत्पादक महिलामाथि बलात्कार गर्नमै पुरुषार्थ ठानेर भ्रममा बाँचिरहन्छन् । जुन भ्रम चिर्न अनिवार्य छ ।

त्यसैले इन्तु किन्तु परन्तु हैन पीडितलाई न्याय हुनुपर्छ । पीडकलाई सजाय । चाहे त्यो पल साह वा दुर्गेश थापा किन नहुन् । होइन भने ती राष्ट्रका गहना होइनन्, धर्तीका रछ्यान हुन् ।


 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x