ब्लग

सौराहा डायरी - १

रक्सी पसलमा कमरेडको लाइन

सूर्य चिन्हका कमरेडले सूर्यकै धुवाँ उडाए !

विनोद देवकोटा |
मंसिर १६, २०७८ बिहीबार १८:५७ बजे

काठमाडौँ – ‘रूपान्तरण सम्भव छ’ रातो र‍ंगले पाेतिएकाे ठूलो गेटमा पहेँलो अक्षरले लेखिएको थियो । जसको मुनि बसेर दैनिक सयौँले तस्बिर लिए, सेल्फी खिचे । कतिले टिकटक पनि बनाए । त्यो गेट जहाँबाट नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा प्रवेश पाइन्थ्यो । हुन त त्यस्तै गेट केही मिटरको दूरीमा अर्को पनि थियो । तर, मूल गेट माथि उल्लेख गरिएकै हो । त्यहाँ उभिएर जतिले तस्बिर लिए, उनीहरू आँखा पक्कै गेटअगाडिको एउटा पसलमा गएको हुनुपर्छ ।


...मदिरा सप्लायर्स । गेटअगाडि फोटो खिच्नेको जति बाँक्लो भिड हुन्थ्यो, त्यो पसलमा पनि लगभग उस्तै भिड । दिभरीजसो त्यो पसलकी साहुँनी व्यस्त हुन्थिन् । उनको दिनभरीको व्यवस्तता देखेर हामीलाई पनि उत्सुकता लाग्यो । आखिर मदिरा पसलगाडि दिउँसै कमरेडहरूको भिड किन ? जवाफ उनैसँग सोधेपछि मात्रै पाइन्थ्यो ।

पसलमै पुगेर साेध्याैँ, 'एमाले महाधिवेशनले व्यापार बढेको छ है दिदी ?'

उनले जवाफमा भनिन् ‘खासै छैन । पहिलेभन्दा अलि बढी चाहिँ छ ।'

त्यतिकैमा एक जना कमरेड ग्राहक आइहाले, ‘चुरोट दिनोस् त’ ।

साहुनीले एउटा चुरोट दिन खोजिन्, तर कमरेडले इन्कार गर्दै भने, ‘एक प्याकेटै दिनुस् न ।’

उनी एक प्याकेट लिएर त्यहाँबाट हिँडे । 

हामीले फेरि साेध्याै ‘अनि दिदी, मदिरा पसलमा कमरेडरू दिउँसै किन भिडभाड गरेका त ?’ 

उनले मुस्कुराउँदै सुनाइन्, ‘कमरेडरूले खासै रक्सी त किनेका छैनन् । चुरोट बढी बेचियो ।' हामीलाई उनका उत्‍तरले थप उत्सुकता जगायाे । त्यसपछि थप प्रश्न राख्‍याैँ:

कतिको बेच्नु भयो त चुराेट ?

बेस्सरी नै बेचियो नि ।

त्यो भनेको कति ? 

दिनकै दुई/तीन पेटी होला ।

दुई कि तीन दिदी ? 

११ गतेमात्रै ८ हजारको चुरोट बेचेँ । १२ गते अहिलेसम्म ६ हजारको बेचिसकेँ - कुराकानी गर्दा दिउँसाेकाे दुई बजेको थियो) 

रक्सी चाहिँ किन्दैनन् कमरेडहरू ? 

किन्छन् अलि अलि । तर, अहिले दिउँसै होइन । साँझ परेपछि । धेरैजसो होटेलमा बिक्री हुन्छ । पसलमै आएर त त्यति किन्दैनन् ।’

यति सवाल जवाफ भएपछि उनले सोधिन्, ‘तपाई पत्रकार हो र ?’ क्यामेरा भिरेर उभिएका इकागजका फोटो पत्रकार अनुज बज्राचार्यलाई देखेपछि उनले भनिहालि्न । हामी थियाै नै पत्रकार । ढाटेनाैँ । तर ती रक्सी पसलकी साहुनीले ढाट्न थालिन् । क्यामेरा देखेपछि फाेटाे नखिच्‍न भन्न थालिन् । तर हामीले प्रश्‍न राेकेनाैँ ।

के कमरेडहरूले रक्सी नखादा रहेछन् ? (उनी बोलिनन् । साहुँनी चुप बसेपछि सँगै बसेकी अर्को दिदी बोलिन् ।)

के को नखानु भाइ । रातभर होटेलमा हेर्नोस् न । महाधिवेशनबाट लाभ नलिने त हामी मात्रै होला। 

किन र केही लाभ पाउनु भएन ?

हाम्रो कपडा पसल छ । व्यापार शून्य छ । दिनभरीमा दुई/चार जोडी मोजा बेचिन्छ । जुत्ता गन्हाएपछि मोजा किन्न आउँछन् । 

बरु रातभर सुत्न नपाएको उनले गुनासो गरिन् । होटेल छेउमै रहेछ उनको घर ।

‘होटेलमा रातभर रक्सी खाएर हल्ला गर्छन्,’ उनले एमाले कमरेडबारे भनिन् , ‘पसलभन्दा होटेल र लजमा बढी रक्सी बिक्री भयो होला । होलसेलरमा पनि होला ।’ 

०००

मदिरा पसलको भिड छोडेर भित्र प्रवेश गरियो । त्यही माथि उल्लेखित रूपान्तरण सम्भव छ लेखिएको गेटबाट । छेउमै भेटिए पत्र पत्रिकाको चाङ बोकेर बसेका एक युवा । अलि अगाडि बढ्दै सुरु भयो कमरेडरूका विभिन्न समूह । कोही फोटो खिच्दै, कोही गफिँदै थिए ।

त्यही हुलमा एक बालिकाकाे आवाज सुनियो ।

‘पानी बदाम’ एक हातमा बदामका थैली र एक अंगालाे पानीका बोतल लिएर हिँडिरहेकी नानी भन्दै थिइन्, ‘पानीको २५, बदामको पचास ।’

यसरी बदाम र पानी भन्‍दै चिच्याउने नानी थिइन् ११ वर्षीया खुस्बु खातुन । चितवनकै एक विद्यालयमा कक्षा चारमा पढ्ने उनी एमाले महाधिवेशनको बन्द सत्र सुरु हुने दिन मंसिर ११ गतेदेखि नै पानी–बदाम व्यापारमा लागेकी रहिछिन् ।

उनीसँग डुल्दै जाँदा भेटिइन्, बारा घर भएकी खुस्बुकी आमा । उनीहरूको परिवार चितवनमै बस्ने रहेछन् ।

‘बुढा बिरामी हुनुहुन्छ,’ उनले कुराकानीका क्रममा भनिन्, ‘हिजो अर्थात मंसिर ११ देखि नै यहाँ व्यापार होला भनेर आएको सोचेजस्तो भएन ।’ 

यसअघि मकै पोलेर बेच्दै आएका खुस्बुका आमा छोरीले नाफा घाटाको गणित सुनाए । सँगै सानो बालक पनि थिए ।

‘मकै बेच्दा दैनिक सात/आठ सयदेखि १५ सयसम्म नाफा हुन्थ्यो । यहाँ दुई दिन लाएर पाँच हजारको पानी–बदाम बेचियो । नाफा त कति भयो होला र ? मकैकोभन्दा निकै कम छ ’ उनले सुनाइन् ।

एमाले कमरेडकाे कुम्‍भ मेलामा बदाम व्‍यापारबारे उनले भनिन् ‘अब मकै बेच्दा पनि उता कोही मान्छे नै आउँदैनन् । सबै मान्छे यही छन् । यहाँ पानी र बदाम खासै बिक्री भएन ।’ 

यस्तै व्यापारमा थिए चितवनकै अन्सारी थरका एक किशोर (होहल्ल्लाबीच उनले दुई पटक नाम भन्दा पनि बुझिएन) उनी अलि बढी डुल्थे । खुस्बुकोभन्दा अलि बढी बेचेछन् । दुई दिनमा सात हजार । तर, कमाइ धेरै नभएको उनले सुनाए ।

यसअघि फलफूल व्यापार गर्ने अन्सारी भन्दै थिए, ‘व्यापार खासै छैन । फलफूल बेच्दा व्यापार धेरै हुन्थ्यो । दुई दिनमा सात हजारको बेचियो । नाफा धेरै हुँदैन यसमा ।’

यी दुई दृष्टान्तमा एमाले महाधिवेशनका प्रतिनिधि पात्र हुन् । यस्तै बदाम र पानी बेच्ने साना साना नानीबाबुदेखि बुढा बासम्म दर्जनौँ थिए । उनीहरूका पानी र बदाम खासै बिकेनन् । उनीहरू चिच्याइ चिच्याइँ डुल्थे । पानी महाधिवेशनमै पाइन्थ्यो सूर्य चिन्ह अंकित बोतलमा । धन्न विधान महाधिवेशनजस्तो ओली अ‌कित चाहिँ थिएन । 

बदामको व्यवस्था पार्टीले नगरेको भए पनि कमरेडरूले कमै किने । बरु चुनाव चिन्हसँग मिल्ने सूर्य चुरोट बढी किने । त्यसमाथि मंसिरको घाम । कहिलेकाही झुल्किन्थ्यो । बादलले बढी छेक्थ्यो । सूर्य छेकिए, चियो बढ्ने । अनि कमरेडरू गोजी छाम्थे सूर्यको खोजीमा । चट्ट तान्यो, स्वाट्ट सल्कायो । फाेक्साेसम्म चक्कर लगाएर धुवाँँ उडायो । 

(एमाले १० औँ महाधिवेशनमा देखिएका परिदृश्य र एमालेको कुम्भ मेलामा भेटिएका नागरिकको कथाव्यथा हो, सौराहा डायरी । यो सौराहा डायरीको पहिलो भाग हो । एमाले महाधिवेशनका ‘भाइरल म्यान’ दुर्गा प्रसाइँको मार्क्सवादी व्याख्यादेखि रातभरि मदिरामा मस्त कमरेडहरूका बाँकी कथा आगामी श्रृङ्खलामा आउनेछन् । अनि लुकेर रक्सी खाने कमरेडका कथा पनि सौराहा डायरीमै प्रकाशित हुनेछन् । चितवनको नारायणी किनारमा मंसिर १० गते उद्घाटन भएर सौराहामा १४ गते मात्रै सम्पन्न भएको एमालेको १० औँ महाधिवेशनका सबै समाचार सामग्री पढ्न सकिन्‍छ।)


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x