ब्लग

संस्‍मरण

मकैबारीमा बेहुली भगाउन जाँदा..

वसन्त आचार्य |
कात्तिक १३, २०७८ शनिवार ९:१२ बजे

स्कुल  जाने तयारी गर्दै थिएँ । अक्सर कक्षा ९ मा पढ्दा स्कुलको तयारी शैक्षिकभन्दा पनि शारिरीक धेरै हुने । तीन दिनअघि छाँटेको कपाललाई तेलले टल्काउँदै थिएँ । थोपडाले धोका दिएपछि यही कपाल थियो थोरै आशलाग्दो । जे गर्‍यो कपालले गर्‍यो । कपाल र अनुहारको रङ एउटै हुनु मेरो जवानीको सबैभन्दा टेन्सन लाग्दो कुरा थियो । पछि विश्व चर्चित खेलाडी पेलेको अनुहार रङ्गिन टिभीमा हेरेपछि केही आश पलाएको थियो । 

 तेल लगाएपछि नदी जस्तो बनेको कपाललाई मनलाग्दो लर्काएँ । जता लर्काए पनि सुहाउने होइन । अन्ततः ‘तेरे नाम स्टाइल’मा टाँउकोको दायाँबाँया इन्ची टेप लगाएर नापे जसरी लर्काइदिएँ । तेरे नाम फिलिम चलेदेखि स्कुलका आधा केटाहरूको स्टाइल त्यस्तै हुन्थ्यो । यसमा केटीहरूको नै दोष हुन्थ्यो । किनकी उनीहरू सधै सलमान खानको मात्रै कुरा गरिरहेका हुन्थे ।


पूर्व व्यवसायिक शिक्षाको सरले पाक शिक्षा अन्तगर्त केही दिन अगाडि पिकनिक लगेपछि राम्रो हुने रहर मनमा बुर्कुसी मार्न थालेको थियो । घरभित्र ऐना हेरेर कपाल कोर्दा अनुहार साह्रै कालो देखिने । गोरो हुने रहरमा सधैँ घर बाहिर ऐना हेरेर कपाल कोर्ने आदत नै बनेको थियो । कपाल प्रकरण सकेर किताबलाई अंगालो हाल्दै स्कुल जान लागेको मात्रै के थिएँ । धमकापुरका गोपाल अंकल कराए ‘ओए केटा साँझ छिटो आएस् है स्कुलबाट एकठाउँ जानु छ’ मलाई मन नपर्ने मान्छेको पहिलो कोटीमा पर्थे उनी । उनका केही विशेषताहरू थिए । 

१. एक सुको पनि कहिल्यै खर्च नगर्ने 
२. सुर्ति र चुरोट खाने भएको हुँदा नजिक आउँदा साह्रै गन्हाउने ।
३. घरमा बा आमाले कहिल्यै पनि उनका बारेमा गतिला कुरा गरेनन् । 

मन नपरेका सबै कुरा त्याग्न र परेका सबै कुरा पाउन कहाँ सकिन्छ र ? जीवन हो कम्प्रोमाइज गर्नै पर्दछ । मनै नपर्ने  भएको हुँदा मैले उनको कुरामा बाल दिइनँ बरु बाल लर्काइरहे ।  केही नबोलेपछि फेरि उनले थपे ‘समयमा आइनस् भने मार खालास् बाटामा खेल्न नलागेस् खुरुखुरु आएस्’ दह्रो भएको मुटु उनको चर्को आवाजको भूकम्पमा गल्र्याम्म ढल्यो । ‘हुन्छ अंकल चार बजे छुट्टी हुन्छ साढे चार बजेसम्म आउँछु’ एकसरो बोलेर निस्किएँ ।        

मलाई कहिल्यै हिड्न मन लागेन यी अंकलसँग । तर पनि हिडाइ रहे । मलाई बोल्न मन लागेन यी काकासँग तर सधै बोलाइरहे । पढ्दापढ्दै स्कुलमा फाइट खेलेपछि किताब र पढाइसँग पनि उनको फाइट भयो । मान्छेलाई फसाउनमा उस्ताद थिए । चिनेका आफन्त सबैको उनीप्रतिको समान धारणा थियो ‘यो मान्छेको काम छैन, विग्रियो’ । जसले जे भनेपनि उनले कहिल्यै पनि आफूलाई सुधार्न मन गरेनन् । 

जहाँ जानुपर्दा पनि उनको पहिलो रोजाइ म नै हुन्थे । मलाई भने मनै नलाग्ने । तर पनि पिट्ने त्रास देखाएर उनले मलाई चाहेको ठाउँमा लगेरै छाड्थे । धेरै घटना छन् उनीसँग जोडिएका । एउटा घटना निकै हाँसो लाग्दो छ । त्यसपछि केटी भगाउने कुरा गरौला । 

म स्कुलबाट भर्खर फर्केर बासीभात खादै थिएँ । टुप्लुक्क आँगनमा आएर उनले भने ‘ओए तलाई आज एक ठाउँ लैजान्छु हिड है’ सायद म ७ कक्षामा पढ्थे । उनले भनेपछि नाई भन्नै नपाइने, हिटलरै थिए । जाडोको समय विस्तारै अध्यारो नजिकिँदै थियो । उनले तुलसीपुरबाट पूर्वतिर हिडाउँदै लगे । मलाई मन फिटिक्कै थिएन । तर पनि बाध्यता थियो । ढु‌गैढुँगाको बाटो अध्यारोमा हिड्दा खुट्टामा ठेस लागेर मर्नु बनाउँथ्यो । तर गर्ने के ? हातमा हतकडी लगाएर प्रहरीले हिडाएजस्तो म उनलाई पछ्याएर हिडिरहेको थिएँ ।

कालाखोला ओरालोमा गएर उनका पाइला रोकिए । त्यतिबेला त्यो ठाउँ देह व्यापारका कारण निकै चर्चित थियो । उनको चालामाला मलाई खासै ठीक लागेन । तर गर्ने के ? अँध्यारोमा उनलाई छोड्न चाहेर पनि म एक्लै फर्कन सक्दैनथेँ । उनले सरासर एउटा घरमा लगेर गए । त्यहाँको सम्वाद लगायतका कुराले मलाई निकै बोर बनाइरहेको थियो । ‘स्याना बाबुले पनि सक्छन् त ?’ अनुहारमा गाँजल र लिपिस्टिक लगाएकी महिलाले भन्दै थिइन् ।  

‘ऊ मसँग आएको मात्रै हो, साथी भएर’ अंकलले जवाफ दिए । मलाई तल पिढीँमा एक्लै छाडेर दुवै माथिल्लो तलामा गए । करिब आधा घण्टा पछि मात्रै माथि उक्लिएकी महिलाको चर्को आवाज सुनियो ‘साले खाते पैसा नभएर किन चढेको ?’ मैले महिलाको मुखबाट पहिलोपटक सुनिरहेको थिए त्यस्ता सुन्नै नसक्ने अनेक गालीहरू । ‘हैन पैसा ल्याएको हुँ कहाँ हराएको रहेछ’ मेरो सामुन्ने बाघजस्ता लाग्ने अंकल मुसो बनिरहेका थिए । अनुनय विनय गरिरहेका थिए । 

‘त ........ को छोरो पख तलाई साले’ गालीहरू आकासबाट पानी वर्षेजस्तो वर्षिरहेका थिए । ती सुन्दा आज अंकलको अन्तिम दिन हो जस्तो लागिरहेको थियो । कुनै अनिष्ट हुने महसुस गरेर म केही पर रुखको ओत लागेर लुकेँ । पिढीँमा आएर महिला कराउँन लागेपछि अरु घरबाट पनि मानिसहरू आउन थाले । धेरैजसो रक्सीले मातिएका  थिए । उनलाई रातभर बाँधेर राख्ने निर्णय गरिरहेको मैले डराउँदै सुनिरहेको थिए । मेरो डर अंकल थुनिएको भन्दा पनि रातको समयमा एक्लै कसरी घर जाने भन्ने थियो । 

मलाई सधैँ दुख दिने भएकाले उनले हल्का पिटाइ खाँदा मलाई पनि आनन्द आएका थियो तर पनि रातको समयमा के गर्ने ? भन्ने चिन्ता मनमा दौडिरहेको थियो । करिब एक घण्टासम्मको महागालीको वर्षपश्चात अंकलले सबैका सामुमा ज्यानको भिख माग्दै बिन्ती चढाए । ‘मेरो लुगा राख्नुहोस् बरु नाँगै जान्छु घर तर छाडिदिनुहोस् ।’

उनको विन्ती सही ठाउँमा लागेन । ‘बीस रुप्प्याको जस्तो लुगा कहाँ छ र ? यस्तो फाटेको के गर्ने ? हामीले रहरले यस्तो काम गरेको हो  ? काटीदिउँ तेरो.. ?’ अंकललको सबै प्रयास काम नलाग्ने भए । मलाई भने उनका लुगा सबै लगेर नाँगै बनाएर छाडिदिए हुन्थ्यो भन्ने लागेको थियो । रात छिप्पिँदै थियो । गाली र पिटाइ पनि बढ्दै थियो । करिब २ घण्टाको केरकार र यातना पश्चात उनले मलाई सम्झिए । 

‘ओए बसन्त बाबु कहाँ छौ ?’ जीन्दगीमा पहिलो पटक उनले यति मिठो तरिकाले बोलाएका थिए । कतै मसँग पैसा छ की भन्ने आस पलायो होला । तर मसँग कहाँ हुनु त्यत्रो पैसा । उनले मलाई बोलाएको सुनेर अरुले पनि मेरो खोजिनिती गर्न थाले । ‘यो रातीमा कहाँ गए होला र ? पक्कै पनि लुकेको होला’ सबैको ध्यान म तिर तानियो । म आफै फुत्त निस्किए ‘मेरो गल्ती छैन अंकलले आफै मलाई जाम भनेर ल्याउनु भएको’ मेरो आवाज हावाले हल्लाएको पात जस्तै थरथर गरिरहेको थियो । 
‘यसका नयाँ जुत्ता छन् भर्खर किनेको यही राख्नु अनि मलाई छाड्नु’ मेरा टल्केका जुत्ता उनका लागि विपत्तिबाट जोगाउने आधार बनेका थिए । ‘हुन्न मामाले ल्याउनु भा हो इन्डियाबाट थाहा पाए मार्नुहुन्छ’ जुत्तै जाने भएपछि यतिसम्म बोल्ने साहस आयो । म त्यस्तो इजलासमा थिए जहाँ मेरा कुरा सुन्ने मान्छे कोही पनि थिएन । लामो बहस र विवादलाई किनारा  लगाउँदै उनीहरूले निर्णय सुनाए । जुत्ता लगेर छाडिदिने ।

 मसँग हुँदैन भन्ने सामथ्र्य नै जुटेन । बोल्न पनि सकिनँ । उनीहरूले मेरा खुट्टामा चिटिक्क सुहाएका जुत्ता निकाले मोजा पनि छाडेनन् । यो घटनाले मलाई उनीप्रतिको वितृष्णा थप बढाएर लगेको थियो । जति बढेर गए पनि गर्नु के ? उनले सताउन कहिल्यै छाडेनन् ।  

साँझ साढे ४ बजे नै घरमा आइपुगेँ । उनी मलाई नै बाटो हेरेर बसेका रहेछन् । जसको अनुहार नदेखे हुन्थ्यो भन्ने लाग्थ्यो उसैको अनुहार फेरि हेर्नुपर्ने । मलाई घरमा देखेर खुसीले उनका ओठ तन्किए । ‘ल केटा हिड अब म चाउचाउ किन्दिन्छु खादै जालास्’ अनेक निराशाबीचमा चाउचाउ भन्ने शब्दले मन फुर्र भयो । ‘अंकल पहिला जस्तो त हुन्न नि! अघिल्लो पटक पनि हामी ठीक यसैबेला हिडेका थियौँ । म केही हच्किएको देखेर उनले सान्त्वना दिए ‘त्यस्तो होइन अन्टी भगाउन जाने हो’ । केटी भगाउने कुरा सुनेको थिएँ, तर कहिल्यै देखेको भने थिइनँ । कता–कता मनमा नयाँ कुरा देख्न पाइने भनेपछि खुसी उफ्रिएर आयो ।
      
असारको महिना पानी परिरहेको थियो । हामी मकै लगाएको बारीमा कुरी रहेका थियौँ । कसैलाई शंका नहोस् भन्नका लागि हामी घरदेखि अलिक टाढा नै बसेका थियौँ । कुरेको आधा घण्टा हुँदा पनि अण्टी आइनन् । अंकल निकै छटपटाएका थिए । ‘दिउँसो स्कुलमा भेट्दा आठ बजे यही आउने कुरा थियो’ अंकल रन्थनिदै थिए । उनी मकैबारी छिचोलेर केही भित्रसम्म पुग्थे । त्यस्तो बेलामा एक्लै हुँदा मलाई निकै डर लाग्थ्यो । तर पनि उनी आशाको खबर लिएर आउने अपेक्षा हुन्थ्यो । अंकल दौड्दै आउथे मकै बारीमा । ‘अझै घरमा हल्ला भइरहेको छ सुतेका छैनन’ उनी सुस्केरा हाल्थे । 

एकातिर पानीले चुटेको थियो, अर्कातिर भोक उस्तै थियो अनि रातको समय सर्पको डर पनि उस्तै । ‘जीन्दगीमा कुमार नै बस्छु बरु तर भगाएर भने बिहे गर्दिनँ’ मनमनै बोल्थेँ । 

दस बजिसक्दा पनि घटनाले नयाँ मोड नै ल्याउन सकेन । आकाशबाट परेको पानीलेभन्दा पनि अंकल पसिनाले भिजेका थिए । ‘चुतिया रैछै ८ बजे आउँछु भनेको अहिलेसम्म आइन’ अहिलेको जस्तो मोबाइल भएको भए अंकललाई कति सजिलो हुन्थ्यो होला । घरी घरतिर जान्छन् घरि मकै बारीमा ओलपिन्छन् साँच्चै अंकलको आधा होस हवास नै सकिएका थियो । 

‘जाउँ अंकल साह्रै भोक लाग्यो , अण्टी  आउनुहुन्न’ ‘चुपलाग जाँ.. सब जानेको छस् तैले’ अंकलले मेरा सारा गुणहरू बिर्सिएर मन लाग्दो गाली गरे । मैले सुनिरहे । १० बाट घडीको सुई उकालो लागेपछि (दुबैसँग घडी थिएन केवल अनुमान मात्र) घरको बत्ती निभ्यो । हामी ३ सय मिटरको दुरीमा थियौ । ‘अब आउँछे’ अंकलले एउटा हात मुठी पारेर अर्को हातको हत्केलामा उत्साहित हुँदै मानिरहेका थिए ।

उनको आउने सपना बत्ती निभेको करिब २० मिनेटपछि मकै बारी छिचोल्दै कोही आए जस्तो देखियो । यसपटक अंकलसँगै म पनि निकै उत्साहित भए । उनी सुस्त कराए ‘लक्ष्मी हामी यता छौ है’ अंकलले यति मात्रै के भनेका थिए, उनलाई चारैतिरबाट केटाहरूले घेरेर मार्न थाले । म अलिक टाढा थिएँ । केटाहरूले घेरेपछि अध्यारोको वास्तै नगरी दौडिएँ । उनीहरूले म दौडिएको सायद पत्तै पाएनन् । साँझ मात्रै पर्दा पनि घरबाहिर शौचालय जाँदा साथी चाहिने म करिब ११ बजेको मध्यरातमा होसहवास गुमाएर दौडिरहेको थिएँ । 
 
संकटमा आफ्नै ज्यान प्यारो हुँदो रहेछ । मैले अंकललाई के भएको छ ? के गरिरहका छन् ? वास्तै गरिनँ । एकैपटक घरमा आएर सास फेरेँ । नयाँ जीवन पाए जस्तो भयो । 

बिहान उठ्दा मसँगै अँकल पनि सुतेका रहेछन् । उनको अनुहार सुन्निएको थियो । ठाउँठाउँमा रगत पनि बगेको रहेछ । ‘केटा लगाएर मारी यार वसन्ते, कहिले मैले जिस्काएको रहेछु त्यसैको बदला लिएको रे ! मा कस्सम अब माया लगाउदिन ।’ यति बोलेका अंकल केही दिनपछि सुनियो कसैलाई थाहै नदिएर इण्डिया(भारत) गए रे ।


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
x