ब्लग

चाइना जर्नल :

चिनियाँबाट सिकौं !

अजय अलौकिक |
कात्तिक ३, २०७७ १३:२७ बजे

परदेशी जीवन बडो उदेकलाग्दो हुन्छ । सायद सबै परदेशीलाई यस्तै लाग्दो हो र कर्मभूमि बनाएर अन्यत्र मुलुक गएका हरेक नेपाली भने नेपाल आमाको अवस्था देखेर चिन्तित हुन्छन् । परदेशीएपछि नेपाल आमालाई अझै माया गर्छन् या त्यो प्रेम अझै झांगिएर आउँछ । पछिल्लो समय विश्व कहर बनी फैलिएको (कोभिड-१९) को चपेटामा परेपछि परदेशीएका नेपालीलाई आफ्नोबाहेक घरदेशमा परिवारजनको स्वास्थ्य सुरक्षालाई लिएर धेरै चिन्तित बनाएको छ ।

देशको अवस्था देखेर पहिलो लकडाउनअघिदेखि नै चिन्तित भएको म पनि अब आमनेपालीले कोभिड-१९ को खोप नपाएसम्म ढुक्क हुने स्थिति देख्दिन । कहिले आमासँग, कहिले आफन्तजनसँग, कहिले साथीभाइ त कहिले अपरिचितसँग पनि परिचय थपेर कोरोना कहरको चर्चा परिचर्चा हुने गरेको छ ।


यसैबीच केही दिनअघि साथीले ‘विच्याट’मा चीनलाई जित्यो नि भनी दुःख मिश्रित व्यङ्ग्य पोखे । मैले कुरा बुझीहालें र भने, ‘आफू सुरक्षित रहने उपायहरू अवलम्बन गर्नै पर्छ, स्टे होम पनि म कसरी भनुँ, काम गर्नै पर्यो तर एकदम होसियारीपूर्वक है, स्टे सेफ । त्यही हो मेन्टली पनि स्ट्रङ हुनुपर्छ ।’ अरू के नै बोलुँ र ? विगत ७ महिनादेखि दुई पटक लकडाउन, निषेधाज्ञा भोगिसकेका छन्, आमनेपालीले ।

लकडाउन मात्र समाधान होइन । लकडाउनपछि त सङ्क्रमित र संक्रमितको सम्पर्कमा आएकाहरूलाई ट्रेसिङ गरी आइसोलेसन र क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिनुपर्ने थियो साथै विदेश र सीमा नाकाबाट भित्रेकालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखी सङ्क्रमण नदेखिएको अवस्थामा मात्र समुदायमा घुलमिल हुन दिएको भए लकडाउन रामवाण हुने थियो । यसैकारण केही सङ्क्रमित देखिनासाथ गरिएको लकडाउन र स्थिति भयावह बन्दै गएपछिको लकडाउन र निषेधाज्ञाको प्रभाव शुन्य रह्यो । उल्टै वर्तमान अवस्थामा दैनिक हजारभन्दा बढीको संख्यामा सङ्क्रमित थपिरहेका छन् । यदी लकडाउन मात्र गरेर हुने भएको भए त आज यसरी सङ्क्रमितको संख्याले (१ लाख २९ हजार ३ सय ४) लाख नाघ्ने थिएन । हतारमा गरिएको मात्र लकडाउन र पटक पटकको बन्दाबन्दी, निषेधाज्ञाले देश नाजुक आर्थिक अवस्थाबाट गुज्रिनु परेको छ । ज्यालादार श्रमिक तथा न्यून आय वर्गीय जीवनमरणको दोसाँधमा परेका छन् भने केही गर्छु भनी व्यवसायमा लागेकाहरूमा पनि थेग्न नसकिने गरी आर्थिक बोझ बढेको छ । लर्तरो तालको लकडाउनले गर्दा रोगले, भोकले, सबैथरिले आमनेपालीलाई थिचेको छ, अहिले ।

देशविदेशमा रहेका सबै नेपालीको पीडा बनेको छ । २०७६ चैत्र ५ गते पहिलो लकडाउन गरिएको नेपाल ७ महिनापछि पनि जुर्मुराउन सकेको छैन । कहिले तङ्ग्रिने हो ? यता चीनले करिब ४ महिनामा नै कोभिड-१९ लाई नियन्त्रणमा लिइसकेको थियो । मैले त्यो पुरानो स्कुले साथीसँग बीसौं वर्षपछिको विच्याट संवादमा चीनमा देखिएको कोरोना सङ्क्रमितको संख्या विशेषत चीनको हुपै प्रान्त र अझ विशेष हुपैको सदरमुकाम उहानमा मात्रै भएको र अरू शहर प्रान्तमा त्यहाँ जसरी लकडाउन पनि नभएको केही बताइन । लाग्छ, धेरैलाई चिनियाँहरूले खोप लगाइसकेका छन् अनि हामीले पनि लगाइसकेका छौं । त्यो सोचाइ सरासर गलत हो, हाल खोपको तेस्रो चरणको परीक्षण जारी छ र भर्खरै सुन्नमा आएको चीनको चच्याङ प्रान्तमा विशेष परिस्थितिमा खोप लगाउन सुविधा दिइएको छ । साथै चीनले चीनसँगै विश्वका लागि यसको खोप यसै वर्षान्त या अर्को वर्षको पहिलो महिनामा उपलब्ध हुनसक्ने बताइसकेको छ । हामी आशा गरौं, चाँडोभन्दा चाँडो यो खोप सर्वसाधारण नेपालीले पनि पाउने छन् ।

के यो अचम्मलाग्दो छैन । यत्रो विशाल देश र विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनले कोभिड-१९ माथि विजय हासिल गरिसकेको छ । हुन त धेरैको विचार यस्तो पनि पाएँ कि चीन प्रविधि सम्पन्न छ, उसले सक्यो नेपालसँग छैन ।

त्यो आशा भयो । अब म वास्तविकता बताउन चाहन्छु । कसरी चीन र चिनियाँले यस कोरोनाभाइरसलाई नियन्त्रणमा लिन सफल भए? त्यसअघि म यहाँ चीनको पछिल्लो तथ्याङ्क नै प्रस्तुत गर्न चाहन्छु । हालसम्म चीनभरि कोरोनाबाट सङ्क्रमित ८५,६५९ जना मध्ये ८० हजार बढी कोरोनामुक्त भइसकेका छन् । हेर्नुस् है, १.४ अर्ब जनसंख्या भएको विशाल चीनमा मात्र ८५,६५९ सङ्क्रमित भएका थिए । हङकङ र मकाउसमेतलाई जोड्दा यो संख्या ९१ हजार पुग्छ । यता राजधानी बेइजिङमा जनवरीपछि जुन महिनामा देखिएको दोस्रो लहर र आजको दिनसम्म जम्मा ९३७ जना सङ्क्रमित भएकोमा ९२७ जना मुक्त भइसकेका छन् र मात्र ९ जनाको यस रोगका कारण मृत्यु भएको छ । साथै यो पनि बताउँ कि बेइजिङको जनसंख्या दुई करोड पन्ध्र लाखभन्दा बढी छ । तीन करोडको हाराहारीमा छ नेपालको जनसंख्या तपाइँ जानकार नै हुनुहुन्छ। यसै गरी सबैभन्दा धेरै ६८,१३९ जना हुपै प्रान्तमा कोरोनाबाट सङ्क्रमित भएका थिए र सबैभन्दा पहिले यो रोग देखिएको भनिएको यसै प्रान्तको सदरमुकाम उहान शहरमा सङ्क्रमित ५०,३४० मध्ये ३,८६९ को मृत्यु भएको थियो भने बाँकी सबै हाल सङ्क्रमणबाट मुक्त भइसकेका छन् । बेइजिङ, उहानसँगै सबै शहर र प्रान्तमा चीनले कोभिड-१९ लाई नियन्त्रणमा लिइसकेको छ ।

के यो अचम्मलाग्दो छैन । यत्रो विशाल देश र विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनले कोभिड-१९ माथि विजय हासिल गरिसकेको छ । हुन त धेरैको विचार यस्तो पनि पाएँ कि चीन प्रविधि सम्पन्न छ, उसले सक्यो नेपालसँग छैन । हो, यो शतप्रतिशत सही कुरा हो । चीनले प्रविधिमा धेरै फड्को मारिसकेको छ र कोभिडको अवस्थामा पनि कन्ट्याक्ट ट्रेसिङदेखि उपचारमा प्रविधिको सहयोग अतुलनीय छ । उता नेपालले पहिलो शङ्कास्पद केसको परीक्षणका लागि हङकङ पठाउनु परेको सर्वविदितै छ । साथै मास्कदेखि उपचार सामग्रीको आयात र नवप्रविधिसँगै दक्ष जनशक्तिको अभाव छ नै ।

त्यसमाथि सरकार आन्तरिक कलहमा अल्झिरह्यो भने विपक्ष पार्टी पनि जनतासम्म पुग्न सकेन । यसबाहेक उच्च घराना, व्यवसायी तथा विभिन्न संघसंस्थाहरू पनि संयुक्त रूपमा देशभर नै कोरोनाविरूद्ध अभियान चलाउन असमर्थ नै रहे । यसरी सरकार, विभिन्न राजनीतिक पार्टी तथा विभिन्न संघसंस्था असफल भएको अवस्था र प्रविधिमा पनि पछि परेको देशका हरेक नागरिक निराश नै भएछन् । यता ‘जनतालाई पहिलो प्राथमिकता’ नारालाई आत्मसाथ गरेको चीनको नेतृत्वमा कुनै कमी कमजोरी हुने सवालै उठ्दैन । १ करोड उहानबासीको निशुल्क न्यूक्लिक परीक्षण गर्‍यो । रंगशालादेखि विभिन्न ठाउँमा बिरामीको उपचारका लागि अस्थायी अस्पतालको निर्माण गर्यो । दश र चौध दिनमा क्रमशः दुई वटा अस्पताल तयार गर्‍यो । क्वारेन्टाइनमा रहेका शहरबासीलाई अत्यावश्यक दैनिक सामग्रीहरू घरघरमा पुर्याउन हजारौंको संख्यामा स्वयमसेवक परिचालन गर्यो । पूरै देशबाट स्वस्थ्यकर्मीहरू उहान पुगे । हरेक क्षेत्रले सक्दो सहयोग गरेको थियो । यो कुनै अद्भुत दृश्य या चामत्कारिक घटना होइन । आमचिनियाँ सबै एकजुट भएर सरकारको निर्देशन र आफ्नो ज्यानको सुरक्षा र सहयोग चाहेकालाई दिल खोलेर मद्दत गरेका थिए ।

सरकारले जनताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान त चलाएकै थियो । जनता पनि यति अनुशासित देखिए । जनताको साथ नभए कोरोनामाथि यति चाँडो विजय पाउन सम्भव थिएन । जनवरी २५ मा चिनियाँहरूको नयाँ वर्ष आरम्भ हुँदै थियो सबै वसन्त चाड मनाउने तरखरमा थिए । कतिपय जन्मस्थल फर्किसकेका थिए, कतिपय फर्किने तयारीमा थिए । यो चाडको विशेषताहरू हाम्रो दशैँसँग एकदम मिल्छ । वर्षभरि परिवार र जन्मभूमिबाट टाढा भएकाहरू सपरिवारसँगै बसेर भोज खाने र ठूलाबाट आशिर्वादसँगै होङपाउ अर्थात् दक्षिणा लिने चलन छ । यो चाडको अघिपछि गरी चालिस दिनसम्म बजार तथा यातायातमा भिडभाड देखिन्छ र वातावरण पर्वमय हुन्छ भने मुख्य रूपमा पूर्वसन्ध्यादेखि केही दिन पर्यटकीय स्थल तथा मेलास्थलबाहेक सबै ठाउँ सुनसान नै हुने गर्छ । ठ्याक्कै अष्टमीपछिको काठमाण्डु जस्तो । यो चाडमा कम्तीमा पनि पाँच दिन विदा हुन्छ ।

साधारणतया चिनियाँहरूले पूर्वसन्ध्या छुसीदेखि पन्ध्रौं दिन वन स्याउचेसम्म मनाउँछन् । केही दिन घर र आफन्तजन्सँग वसन्त चाड मनाएर रमाइलो मेलामा जाने गर्छन्, आन्तरिक पर्यटनमा जान्छन् । पछिल्लो समय आन्तरिक मात्रै होइन विदेश भ्रमणमा समेत जाने गरेका छन्, चिनियाँहरू । यसरी वर्षदिनमा आउने चाड पारिवारिक मिलनको चाड कोरोना भाइरसको सङ्कमण फैलिएसँगै आमचिनियाँ आवश्यक कामबाहेक घरबाट निक्लेनन् । वास्तवमा १४/१५ दिनसम्म घरबाट बाहिर नै निस्केनन् । योसँगै रिमोट वर्क र अनलाइन स्कुलिङ सुरू गरियो ।

अर्को कुरा, यो शहरमा फेरि पनि कोभिड-१९ देखिनुको कारण पहिले सङ्क्रमितको उपचार गरिएको अस्पतालको सिटी स्क्यान कक्ष पूर्ण रूपमा डिसइन्फेक्टेड, किटाणुशोधन नभएकोले त्यहाँबाट सङ्क्रमण फैलिएको अनुसन्धानले देखाएको छ ।

हाल पनि कतै सङ्क्रमित पत्ता लागिसाथ युद्धस्तरमा काम हुने गरेको छ । पछिल्लो समयमा त विदेशबाट फर्केका या आएकामा मात्र सङ्क्रमण देखिएको छ । साथै आगन्तुकलाई १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम लागू भएबाट समुदायमा भाइरस विस्तार हुन पाएको छैन । ५७ दिनसम्म घरेलु सङ्क्रमण नदेखिएको चीनमा हालै मात्र शानतोङ प्रान्तको छिङताउ शहरमा केही व्यक्ति (६ जना) मा देखिएको थियो । त्यस लगत्तै त्यहाँका ९० लाख जनताको ५ दिनभित्र न्यूक्लिक एसिड टेस्ट गरेको थियो । यो कुरा दिवास्वपन जस्तै लाग्छ । हो, चीनले पाँच दिनभित्र नब्बे लाख जनताको परीक्षण गरेको छ, त्यो पनि निःशुल्क । यसरी चीनले चिनियाँ जनताको साथमा भाइरसलाई नियन्त्रण लिन सफल भएको छ ।

अर्को कुरा, यो शहरमा फेरि पनि कोभिड-१९ देखिनुको कारण पहिले सङ्क्रमितको उपचार गरिएको अस्पतालको सिटी स्क्यान कक्ष पूर्ण रूपमा डिसइन्फेक्टेड, किटाणुशोधन नभएकोले त्यहाँबाट सङ्क्रमण फैलिएको अनुसन्धानले देखाएको छ । यो अवस्थालाई मनन गर्ने हो भने नेपालको अवस्था निकै नै दयनीय छ । हरेक दिन सङ्क्रमितको संख्या हजारभन्दा माथी छ, त्यसमाथि चाडको लहर सुरू भएको छ । कहिले र कसरी कोभिड मुक्त होला, नेपाल ।

प्रविधि छैन, स्रोतसाधन सिमित छ, दक्ष जनशक्ति छैन भन्ने कुराको ज्ञात छ नै । तपाईँ सरकारले केही गरेको छैन भनी रहनु भएको छ । अब बाँकी रह्यो, मात्र तपाईँ । अब तपाईँले ध्यान पुर्याउनु पर्छ । यो कोरोना खेलाचीँ होइन । यसरी भाइरसलाई पकडमा लिइसकेको चीन अझै पनि सशंकित र सतर्क छ । त्यसकारण सबै देशबासीलाई अनुरोध छ, महान चाड दशैँमा जमघट नगरौं । तपाईँ जहाँ हुनुहुन्छ, त्यहीँ मनाउनुहोस् । सतर्क र सचेत रहँदै सावधानी अपनाउनुहोस् ।

यता चिनियाँले भाइरस फैलिरहेको अवस्थामा वसन्त चाड मनाएका थिएनन् तर सबै पूर्ववत्स्थिति निकट भएपछि हालै अक्टुबरको पहिलो साता धुमधामका साथ राष्ट्रिय दिवससँगै मध्यशरद पर्व मनाएका छन् । यसबाट पनि सिकौं । वर्तमान अवस्थामा कोभिडको सङ्क्रमणलाई निस्तेज पार्न घरमै बसौं, अतिआवश्यक भए मात्र सावधानीका उपायहरू अवलम्बन गरी बाहिर निस्कनु होला । स्टे सेफ, स्टे होम, स्टे व्हिएर यू आर एण्ड किप सेफ्टी मिजर्स । यस पटकको दशैँ, तिहारको यही शुभकामना । मानव जातिले कोभिड-१९ कोरोनारूपी राक्षसलाई परास्त गर्न सफल होस्, यही बडादशैँको शुभकामना । साथै तपाइँको यस पटक कोरोना महामारीबीच मितव्ययी र बिना जमघट चाड मनाउने कदमले सारा नेपालीले चैते दशैँ धुमधामले मनाउन पाउने छन् कि, आशा गरौं ।
 


Author

थप समाचार
ad
x