ब्लग

मेरो जिमेलमा मात्रै पचासभन्दा बढी पुस्तकका पाण्डुलिपि थुप्रेका छन्

सुबिन भट्टराई |
मंसिर २९, २०७७ सोमवार २१:५ बजे

जो आफ्नो पहिलो किताब लेख्दै हुनुहुन्छ, उहाँहरुका लागि । 

मलाई सामाजिक सञ्‍जालमा दिनहुँजसो एक किसिमका मेसेज आइरहन्छन् । पहिलो किताब लेखेँ, लेख्दै छु, लेखिसकेँ वा छाप्‍ने सोचमा छु, के गरौँ ? 


मेरो जिमेलमा मात्रै पचासभन्दा बढी पुस्तकका पाण्डुलिपि आएर थुप्रेका छन् । मलाई आफ्नो पाण्डुलिपिको प्रतिक्रिया दिन लायक सम्झिनुलाई (यद्यपि म त्यसको लायक छैन) मैले यहाँहरुको मप्रतिको प्रेम र विश्वासका रुपमा लिएको छु । 

तर यहाँहरुका सबै पाण्डुलिपि पढ्ने मन हुँदाहुँदै पनि लेखनलाई नै पूर्णकालीन पेसा बनाएकाले मसित यहाँहरुको पाण्डुलिपि पढ्ने फुर्सद र समय हुँदैन ।  तर पुस्तक प्रकाशन गर्नु छ । पाण्डुलिपि कसले हेरिदिने ? पुस्तक कसले छापिदिने ? यो सोचमा धेरै अल्मलिनुभएको छ भने म यहाँहरुलाई केही बताउन चाहन्छु । यहाँहरुले पढ्नुभएका धेरै पुस्तकमा अगाडि, पछाडि कतै न कतै प्रकाशकको नाउँ, ठेगाना, इमेल वा फोन नम्बर लेखिएको हुन्छ । त्यही हो, सम्पर्क सूत्र । 

जसरी लेखकलाई राम्रो प्रकाशक चाहिएको हुन्छ, उसैगरी प्रकाशकलाई पनि राम्रो लेखकको खोजी सधैँ हुन्छ । यहाँहरुले प्रकाशकको ठेगाना, इमेल वा फोनमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ । आफ्नो लेखाइमा दम छ जस्तो लाग्छ भने नआत्तिनुस् । ढिलो चाँडोको कुरा मात्रै हो । पहिलो किताबमा अलिकति संघर्ष, अलिकति रिजेक्सन अलिकति तनाव हुन्छ नै । ती संघर्षका भोलि छुट्टै कथा बन्छन् । होइन, आफ्नो लेखाइको स्तरमै अल्मलिनु भएको छ भने पाण्डुलिपि थन्क्याउनुस् । अझै प्रशस्त पढ्नुस् । पुनर्लेखन गर्नुस् । र, राम्रो तयारीसाथ आउनुस् । 

हिजो म आफैँ पनि यो क्षेत्रमा नयाँ थिएँ । आफ्नो पहिलो पुस्तक आफ्नै लगानीले छापेको थिएँ । पुस्तक बिक्री नभएर झोलामा बोकी बोकी हिँडेँ । सित्तैमा पनि बाँडेँ । समीक्षाका लागि अनेक ढोका, झ्याल, फाटक ढक्ढक्याएँ । कैयौँ नउठ्ने कलहरु गरेँ । जान हुने ठाउँ पनि गएँ । जान नहुने, गर्न नहुने काम पनि गरेँ । तिनका पनि छुट्टै मजा होलान् । 

र, अबका नवलेखकहरुलाई पनि यही भन्छु, लेख्न मजा आउँछ भने लेख्‍न चाहिँ कहिल्यै नछाड्नुस् । कसैले पाण्डुलिपि पढिदेओस्, नपढिदेओस् । कसैले तपाईंको नमस्ते फर्काओस् नफर्कओस् । कसैले तपाईंको क्षमता चिनोस् कि नचिनोस् । आफ्नो लेखाइ चिन्नुस् । आफैँलाई चिन्नुस् । तपाईं आफ्नो भविष्य आफैँ बनाउन सक्नुहुन्छ । 

सबैलाई मेरो सधैँ सधैँ शुभकामना ।

(सभर लभ, प्रिय सुफी जस्ता लोकप्रिय आख्यानका लेखक सुबिनको सामाजिक सञ्‍जालबाट ।)
 


Author

थप समाचार
x