ब्लग

‘म नास्तिक हैन पशुपतिनाथ !’

सञ्जय पन्थी |
भदौ ३०, २०७८ २१:१९ बजे

सोमबार, कतै ननिस्किएर निवास मै, लेख पढमा व्यस्त थिएँ । साँझको ५ बजेतिर श्रीमती (सपना) ले अहिले साँझमा पशुपततिनाथ जाउन, मलाई बत्ती बाल्नु छ भनिन् । तीजमा माइती गएपनि छुई भएकोले पञ्चमी गर्न नपाएको तथ्यबाट अवगत नै थिएँ । 

तर सोमबार पशुपति जाने न कुनै योजना थियो न तयारी नै । पञ्चमीमा बाल्ने गरी कातिएका बत्ती बाल्न नपाएको तर्क गरेपछि एक गान्धीवादी मनुवाले कुटीकी गृहमन्त्री सामु नाईनास्ती गर्ने कुनै गुञ्जायस थिएन । 


अझै आरती पनि हरौंला भने पछि, म सेकेन्जामा कस्सिनु बाहेक कुनै विकल्प थिएन ।

हवस्, भनेर सहमति जनाए । 

ढिलोगरी निस्कियौं, आरती हेर्ने गरी । हामी पशुपति परिसर प्रवेशसँगै बाहिरी पश्चिम गेट पुग्दा साँझ झमक्क (साढे ६ बजे) भएको थियो । गेट बन्द थियो । त्यत्तिकैमा एकजना भाईलाई सोध्यौं– ‘गेट बन्द भैसकेको हो ?’  

उनले भने, ‘अहिले त दिउँसो २ बजेसम्म मात्र खुल्छ ।’ त्यसो त कोभिड महामारीको अवस्था  र तथ्य बारे अवगत थियौं । गत साताबाट मन्दिर खुलेको समाचार पनि पढेका थियौं । खुलेपछि साथीभाईका परिवारका तस्विर र्सावजनिक भएको पनि देखेका थियौं । तर समयको पावन्दीमा ध्यान दिएका रहेनछौं । 

ती भाईको जवाफ पछि आर्यघाटतिरबाट भएपनि मन्दिरको प्रत्यक्ष दर्शन गर्ने गरी अघि बढ्यौं । त्यही बाटो ५० मिटर पर (तल) पुग्दा काठको ढोकाबाट मूल मन्दिर परिसरबाट केही मानिस बाहिरिएको देख्यौं । उनीहरु धार्मिक पर्यटक (भारतीय मूलका) जस्ता देखिन्थे । उनीहरुको मस्तकमा नसुकेको चन्दनको टिका थियो । उनीहरु बाहिरिने बित्तीकै त्यो ढोका बन्द गरेको पनि देखेको थिए । त्यहाँ उभिएर नजानिंदो गरी के रहेछ, अवस्था बुझ्न नजिकै बाटो किनारमा बसेर नियाली रहें । श्रीमतीले तल जाऊँ (आर्यघाट पारी) भन्दै थिइन । 

फेरी ढोकाबाट त्यस्तै अनुहार (भारतीय मूलका) र पहिरन सहितका मानिस फेरी बाहिरिए, ढोका फेरी बन्द गरियो । म अझै पनि त्यहीं बसिरहें । त्यसैगरी फेरी अर्को हूल बाहिरियो । मलाई कौतुहल भैरह्यो । मन्दिर प्रवेश २ बजे बाट बन्द भनिएको छ । मानिस एकपछि अर्को हूल बाहिरिएका छन । कस्तो अचम्म ? त्यतिञ्जेल १० मिनेट व्यतित भैसकेको थियो । 

त्यो दृश्य देखेपछि श्रीमतीलाई भने, ‘त्यहाँ आग्रह गरौं न ! भित्र जान पाईन्छ की ?  मानिस निस्किरहेका छन् ।’ त्यतिन्जेल प्रवेश गर्ने थिएनन् । अनि म बाटो काटेर माथि उक्लिएर ढोका ढक्ढकाए । एकछिन पछि एक हतियारधारी सुरक्षाकर्मी निस्किए । मैले नम्रताका साथ दर्शनका लागि भित्र प्रवेश पाऊँ न भनें । उनले टर्राे स्वरमा भने ‘हुन्नँ, अनुमति नै छैन ।’ मैले फेरी अनुनय गरे । हामी दुई जना मात्र हौ, बत्ती बाल्न आएका थियौं भनें । सबै बन्द भएकोले तल (आर्यघाट तर्फ) झर्दा यहाँबाट केही मानिस निस्किएको देखेकोले हामी पनि पस्न पाउछौं की भनें । ती सुरक्षाकर्मीले पहिलेकै जवाफ दोहोर्‍याए । 

हामी पनि नहुने भएपछि किन जिद्दी गर्नु भनेर पेटीबाट तल झर्दै थियौं । यत्तिकैमा फेरि एक हूल धार्मिक पर्यटक जस्ता देखिने (महिला र पुरुष) त्यहींबाट भित्र पसाइए । त्यतिबेला ती सुरक्षाकर्मीले फोनमा कुरा गर्दै उनीहरुलाई पसाएका थिए । त्यही ढोकाबाट । 

उनीहरू पस्ने बित्तीकै फेरि ढोका उसैगरी बन्द गरियो । मलाई त्यो सबै देख्दा झनक्क रिस पनि उठ्यो । श्रीमतीले फर्किऊँ भन्दा पनि म फेरी उक्लिए । फेरि ढोका ढक्ढकाएँ । फेरि उनै सुरक्षाकर्मीे निस्किए र भने,  ‘हुन्न भनेपछि के खोजेको ?’  

उनको सभ्यता र शैली सभ्य थिएन । मर्यादा पालक भन्दा निर्देशक जस्तै । साँझको समय त्यसमाथि अझै उनी भित्र हामी बाहिर भएकोले उनको अरु पहिचान, नेमप्लेट र फुली देखिएको थिएन् । फेरि हामी पेटीमा झर्न नपाउदैं अर्कै हूल (धार्मिक पर्यटक) माथि उक्लियो ढोका खुल्यो उनीहरु पनि भित्र पसे । त्यो दृश्य र व्यवहारले हामीलाई अचम्भित तुल्यायो सँगै आक्रोशित पनि । 

त्यो व्यवहार सामु हामी निरिह र अनागरिक महशुष गरिरहेका छौं । त्यहाँ धर्मका नाममा धन्दा चलेको रहेछ भन्ने अनुमान लगाउँदै तल आर्यघाट तर्फ झर्‍यौं । तल आर्यघाटबाट पारि जाने पुलको दायाँ तर्फ मन्दिरमा श्रीमतिले आफुले कातेका, पंचमीमा बाल्न नपाएका कपास बत्ती बालिन । मन्दिरमा दक्षिणा पनि गरिन् । 

म मन्दिर किनारमा उभिरहें । त्यो सबै दृश्य र घटनाले मन विचलित भैरह्यो । पञ्चायतका बेला त क्रिश्चियन (नास्तिक) भनेर सोनिया गान्धीलाइ प्रवेश नदिइएको घटना न्यूसमिट होटल सञ्चालक परिवारका स्व. राजकृष्ण श्रेष्ठबाट सुनेको थिए । श्रेष्ठ दरबारका नजिक मात्र नभएर विश्वास पात्र व्यवासायी थिए । दुई महिना अघिमात्र कुपण्डोल डायमन मार्गमा अवस्थित निवासमा उनको निधन भयो । विगत एक दशकदेखि म बेलाबखत उनका अनुभव सुन्ने नाती समानको साथी भएको थिए । पञ्चायतकालीन समयमा राजीव गान्धीसँगै आएकी सोनियासँग पनि उनको भेट भएको तस्बीर उनको ‘लक्की म्यान’ पुस्तकमा छापिएको छ ।   

तर देशमा अहिले लोकतन्त्र अनि गणतन्त्र छ । भारतीयहरूले सहज प्रवेश पाउँदा नेपालमा नेपाली माथि यस्तो विभेद र दुर्व्यवहार ? 

त्यसो त म स्वयं गान्धीबारे अध्ययनरत भएकाले सोमबार साँझ उनै गान्धी पटक–पटक स्मरण भैरहे । कारण, मन्दिर प्रवेशमा विभेद र दुर्व्यवहार ! 

त्यति भएपछि पुल तरेर पारीपट्टी गयौं । किनकी श्रीमतिको आरती हेर्ने रहर थियो । मैले भारत यात्रा क्रममा काशी, हरिद्वार र द्वारका (गुजरात), सोमनाथ आदी स्थानको आरती देखेको भएपनि पशुपतिमा साँझको आरती देख्ने अवसर जुरेको थिएन । त्यसो त  ०६० सालदेखि  पूरै तीन वर्षसम्म साप्ताहिक (शनिवार)रूपमा  विहानीमा एक्लै पशुपति पुग्नु र पारि बसेर चिताका दृश्य हेर्नु र जीवनका रङ्ग पढ्नु तालिका बनेको थियो । कारण, जीवन पछिको समसान र दर्शनको स्वअध्ययन ।

देश द्वन्द्वको उत्कर्षमा थियो । मर्नु र मार्नु , सुराकी र हत्याराको, दोष र आरोपको जुहारी थियो । त्यसैलै त्यहाँ धेरै चिताको आगो, धुँवा र खरानी पढेको ठाउँ हो । त्यसका आफ्नै कथा–व्यथा छन् । त्यतिबेलै नेपालका धनाढ्य भनेर प्रचारित रसेन्द्र भट्टराईको चिता र खरानी पनि देखेको थिए । उनको मृत्युको रिपोर्टीङ कान्तिपुर दैनिकमा मैले नै गरेको थिएँ । एक विहानीमा मृगस्थली पुग्दा चित्र बनाइरहेका दिपेन्द्र राइको स्थल चित्रको रिपोर्टिङ गरेपछि उनलाई पशुपति विकास कोषले प्रवेश निषेध गरेको त्यतिबेला अनुभव पनि स्मरण भयो । 

तर यतिवेला श्रीमतीको इच्छामा सन्ध्याकालीन आरती हेर्न र बत्ती बाल्न त्यहाँ पुगेको थिएँ । वागमती पुल तरिरहँदा आरती भन्दा पहिला आर्यघाट बम्हनाल तर्फको पहिलो घाटमा शव चितामा राख्दै गरेको देखें । पारी पुग्यौं । पारी पुग्दा ब्रम्हनाल माथिको द्वारबाट माथि बन्द ढोकाबाट भित्र मन्दिर र उज्यालो चियाउनेको भीड देखियो । तीन शव लस्करै ब्रम्हनालको छेउमा सुताइएका थिए । किनारको चितामा राखएिको शवमा (अनुमानित ५० कटेका) एक अधवैशे पुरुषले दागबत्ती दिदैँ थिए । श्रीमती आरती नभए पछि पशुपतिको गजुर आउनेगरी सन्ध्याकालीन बत्तीको उज्यालोमा सेल्फी लिन मस्त रहिन् । तर म भने त्यहाँका शव र उनीहरुका आफन्तको विक्षिप्त अवस्थामा एकोहोरिएर नियालीरहेको थिएँ । मैले विगतका विहानी सम्झिए । कतिपय बिसर्न नसक्ने चित्कार पनि ! 

करिब १० मिनेटको समय व्यतीत भएपछि मैले श्रीमतीलाई भनें, ‘अब ढिला हुन्छ, जाउँ ।’  

बसाईका लागि बानेश्वर आफन्त कहाँ पुग्नु थियो । मलाई सुरक्षाकर्मीसँगको तिक्त संवाद र विभेदले हतास र निराश तुल्याएको थियो । फोटो खिच्ने मुड पनि बनेन । अन्तत श्रीमतीको आग्रहलाई अस्वीकार गरें । उनले सेल्फी लिइरहिन् । विभेद् र दुव्र्यवहारको भोग्नुपरेकोले पनि अघिपछि जस्तो जिकिर भएन । आर्यघाट र पशुपतिनाथको गजुर चिहाउने र तस्बिर लिनेहरुको संख्या बाक्लो थियो । हामी जुन बाटो त्यहाँ पुगेका थियौं त्यही बाटो फर्कियौं । 

फेरि त्यहाँ आउँदा त्यही शैलीमा काठको आधा कप्टेरो ढोका खोलेर मानिसका झुण्ड पशुपतिनाथ मन्दिर परिसरमा भित्र पस्दै थिए । त्यहाँको व्यवहार र दृश्यले मलाई पहुँच र पैसाको व्यपार भएको अनुमान भैसकेको थियो । भित्र उनै बर्दी र हतियार सहितका जवान भएपनि ढोका बाहिर भने मास्क लगाएका पशुपति विकास कोषका एक कर्मचारी उभिएका थिए । श्रीमतीले नमान्दा पनि ती कर्मचारीलाई भर्खरै आइपुगे जसरी भित्र पस्न दिन आग्रह गरें । यसपटक भने त्यहाँको नियत प्रस्ट हुनु थियो । कर्मचारीले पनि नाटक गरे, हातको इशाराले भित्र भन्नु पर्छ भन्दै थिए । नबुझे जसरी सोधें–  ‘के भन्नु भयो ?’ तर उनी बोलेनन् । पहिलो पटकमा भएको डबल र फसलले त्यहाँ मौन निरीक्षण शुरु भएको बुझें मैले  । तलपट्टी भित्र जाने प्रतिक्षामा रहेका दुई महिला आपसमा हिन्दी भाषामा कुरा गर्दै थिए । 

भनसुनविना पुगेकाले मलाई फेरि पनि भित्र पस्न नदिए पछि, म आफ्नो शंका प्रमाणित गर्न लागे !  म पिढींबाट तल ओर्लिएर छेवैमा रहेको कालो कुकुरसँग तर्किदैं ती महिलासँगै नजिकिदैं आफस् पनि दर्शनका लागि बाहिरबाट आएको जसरी प्रस्तुत भएँ । 

४०–४५ को उमेरका लाग्ने ती मध्ये एकले सोधिन्, ‘आप कहाँ से हो ?’ मैले ‘बहार से’ भनें । त्यसो त मेरो हिन्दी लवज राम्रो छ भन्ने दाबी गर्छु किनकी पछिल्ला ७ र्वष त मैले गुजरात अहमदबादमा रहेर अध्धयन गर्दै आएको छु । मैले पनि उनलाई सोधें, ‘आप कहाँ से ?’   

उनले भनिन्, ‘हम यहीं (भोटहिटी) के है ।’ तर मैले भोटहिटी थाह नपाए जस्तो गरी ‘अन्दर जाने के लिए क्या करना पडेगा ?’  भनेर सोधें । माथिबाट ढोका चियाएर ती सुरक्षाकर्मी र पशुपति विकास कोषका मानिसले नियालिरहेको सुइको मैले पाइरहेको थिए । 

उनीहरुले ‘हम भी जाने के लिए आए हैं’भने । मैले, आपका शुभनाम ?  एउटीले, सोनु भनिन् । मैले फेरी दोहराएर, ‘सोनु (सरनेम) क्या ?’  अर्की अकमकाइन् । सोनु भन्नेले ‘क्या करेगें जानकर’  भनिन् । ‘डायरी लिखने के लिए,’ मैंले जवाफ दिएँ ।

उनले तत्काल अग्रवाल भनिन् । पंजाबी कुडी (केटी) को जस्तै पहिरनमा रहेकी मेरी श्रीमतीले त्यस पटकको प्रयास भने पक्कै लेख्न हुनुपर्छ भन्ने सुइको पाएकी थिइन् । 

तर पनि उनी झिँजिए जस्तो गरी ‘भयो अब जाऊँ’ भन्दै थिईन् । त्यत्तिकैमा सादा पोशाकका सुरक्षाकर्मी त्यही काठ कै ढोकाबाट बाहिर निस्किए, उनले मेरो पहिलो आग्रहका बखत केही मानिसभित्र पसाइरहँदा पनि मलाई दखेका थिए । त्यसपटक उनी निस्किरहँदा मैंले भनिदिएँ ‘हामी पनि त यही देशका नागरिक हौं नि ! सर !’ फेरि थपें, ‘मन्दिर प्रवेशमा पनि कस्तो विभेद हो ?’ उनले भित्र ढोकातिर ईशारा गर्दै बाहिर उनी सडक तिर लम्किए । 

त्यसो त, गत अगस्त १७ तारिखमा म, पशुपति मन्दिर बन्द रहेको अवस्थामा बिहानी  सत्रमा यात्रा गर्न पशुपति मृगस्थलीसम्म पुगेको थिए । संयोग फर्किएर, त्यही पश्चिम गेट नजिक आईपुग्दा ५ जना नेपाली सहयोगी सहित भाजपा नेता डा. दिनेश उपाध्याय भेटिएका थिए । उनले फोनमा मन्दिर दर्शनमा गरिएको मनाहीको तिक्ताको अनुभव व्यक्त गरिरहेका थिए । पूर्व परिचित मात्र नभएर निकट समवन्ध भएकोले टक्क अडिएर उनलाई  नमस्ते गरें । उनले पनि टाउको निहुराएर फर्काए । उनका सहयोगी नेपाली भएपनि मैले पहिलो पटक देखेको थिएँ । उनीहरूले मलाई चियाएर हेर्दै थिए । उनको फोनको संवादले मैंले बुझिहालें, उनलाई सहयोगीले भित्र दर्शन गराउछौं भनेर ल्याएका रहेछन् । तर बन्दको समय र त्यहाँ ड्युटी खटाउने सुरक्षा अधिकारीसँग राम्ररी संवाद नभएकोले भित्र पस्‍न मनाही भएको रहेछ । 

तर मलाई, यस्तो बन्दमा अनावश्यक पहुँच देखाउने काम गरेर किन ठूलो देशको पहुँच देखाएका होलान् भन्ने लाग्यो । मलाई आफ्नो देशका सुरक्षाकर्मीको व्यवहार प्रति सम्मान जाग्यो । 

नियम त सबैलाई समान नै हो । ‘ठूलो हुँ’ भन्नेलाई राम्रै सवक सिकाएछन्, भन्ने अनुभुती भएको थियो । उनले पनि त्यस बखत कुनै पहुँचवालासँग संवाद गरेको सजिलै बुझिन्थ्यो । तर पनि नबुझे जस्तो गरेर उभिरहे । उनले फोन बिसाएपछि भेटलाई अनौपचारिक बनाउदै हिन्दी भाषा मै सोधें ‘बसाई कति छ डा.साब ?’ उनले एक साता भने । अनि बसाई कहाँ छ भन्ने प्रश्नमा उनले  यल्लो प्यागोडा होटल, कान्तिपथ भने । 

मैंले उनलाई भेट्न आउने वाचा गरेर बिदा भएर त्यहाँबाट निस्किए । त्यसो त उनीसँग मेरो नेपालको नम्बर पनि रहेछ । दुईदिन पछि नयाँ नम्बरबाट कल आयो, रिसिभ गरे । एक जना महिलाले डा. दिनेश उपाध्यायसँग कुरा गर्नुस् भनिन् । मैंले बुझिहाले, अस्ति पशुपतिमा सँगै रहेका सहयोगी मध्येकी हनुपर्छ भन्ने । 

उनले सञ्जय म यहीँ होटलमा छु, कहिले आउछौं (हिन्दीमा) भनेर सोध । भोलिपल्ट साँझ ६ बजे भेट्ने तय भयो । तर त्यसदिन फेरि अन्यत्र जमघटमा भएकोले आज बाहिर भएकाले असुविधा जनाएर  त्यसको भोलिपल्ट  साढे दुई बजे भेट्ने निधो भयो । म भोलिपल्ट यथासमयमा त्यहाँ पुगें । 

उनी कुनै कार्यक्रमबाट फर्किएका रहेछन् । नेपाली कांग्रेसका पूर्व सासंद रामचन्द्र अधिकारी लगायतका अन्य पनि साथै थिए । उपाध्यायले परिचय गराए । उनले एकछिन  अर्काै लबीमा बस्न अरुसँग अनुमति लिए । म र उनी अर्को लबीमा बस्यौं, उनको नेपाल आगमनको सन्दर्भ जान्न चाहेँ । तर उनले मात्र पशुपति दर्शन भएको बताए । म पत्रकार पनि भएकोले उनको भेटबारे जिज्ञासा गरिरहे ।

नेपालका वरिष्ठ नेताहरूसँग भेट र कुरा भएको बताए पनि उनले के कुरा भयो भन्ने बारे बताउन चाहेनन् । मैले आफ्नो व्यक्तिगत तहको सम्बन्धका कारण जिकिर गरिन । उनले नवनियुक्त प्रधामन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेको प्रसङ्ग खोलेपछि मैंले सोधें, ‘के कुराकानी भयो ?’

प्रमसँगको कुरा त जानकारी गराउनु न म पत्रकार पनि त हो भनेपछि उनले समाचार नबनाउने शर्तमा भेट सुनाए । अन्त्यमा उनले ‘अस्ति पशुपतिनाथमा त्यहाँका सुरक्षाकर्मीले गरेको बत्तमिज व्यवहार पनि जानकारी गराएँ’ भने  । त्यस क्रममलाई उनले थप केही स्पष्ट पार्दै भने– ‘मन्दिर बन्द छ, जान पाईदैन भन्नुलाई मैले अन्यथा लिएको थिएन । तर त्यहाँ काठको ढोकाबाट कसैलाइ प्रवेश गराएको देखिरहेको थिए । तर पनि आग्रह गर्दा दुव्र्यवहार गरिएकोप्रति चित्त दुखाइ थियो । 
त्यतिबेला त्यस्तो सामान्य कुरा पनि प्रमलाई सुनाएर उनले आफू ठूलो देशको नागरिक भएकोले पहुँच देखाए भन्ने पनिलाग्यो । भेटपछि बाहिरिए तर उक्त भेट र उनीसँग भएका कुरालाई समाचार वा लेख बनाएर अहिलेसम्म पस्किएको छैन किनकी उनले सामान्य कुरालाई मुद्दा बनाए भन्ने लागेको थियो । 

तर त्यही घटनामा त्यतिबेला सम्मान जागेका सुरक्षाकर्मीसँग सोमबार आफूले अनाहक भोग्नु परेपछि  सुरक्षाकर्मीका व्यवहारमा ठीक विपरित दया जाग्यो । साथै उनै उपाध्याय स्मरण हुनपुगे । पश्चिम ढोकामा त्यति भएपछि अलिक वर आएर प्रहरीको एक सय नम्बरमा कल गरे । कल साँझ भएकोले पनि होला ढिलो रिसिभ, भयो । एक सामान्य नागरिक भएको जानकारी सहित र पुशपति पश्चिम ढोकामा रहेका सुरक्षाकर्मीको व्यहार यस्तो रह्यो भनेर जानकारी गराए । उताबाट सभ्य र नम्र स्वरमा सोधियो, ‘तपाईले ठ्याक्कै के भन्न खोज्नु भएको हो ? 

मैले फेरि विनम्र भएर मन्दिर अपरान्ह २ पछि प्रवेश बन्द रहेछ तरपनि यसरी गतिविधि भएको छ भनेर जानकारी गराए । नागरिकप्रति सुरक्षाकर्मीबाट यस्तो विभेद् गरिएको छ भनेर अवगत गराए । यही देशको नागरिक भएकोले जानकारी गराउन मात्र चाहेको पनि सुनाए । 

उक्त विभेदको घटनाले मलाई गान्धीले ७ जुन १८९१ मा दक्षिण अफ्रिकाको रेल यात्रा क्रममा भोगेको  दुर्व्यवहार स्मरण गरायो । त्यत्तिकैमा झट्ट त्यही क्षेत्रका प्रदेशसभा सासंद नरोत्तम बैद्यजीलाई सम्झिए । केही महिना अघि उनी प्रदेशसभा बैठकमा केपी ओली प्रम भएका बेला भावावेशमा आएर गान्धी हत्या गर्ने गोड्से जस्तै बनेर केपी ओलीलाई ठेगान लागाउन तयार छु भन्ने अभिव्यक्तिका कारण विवादमा आएका थिए । तर पर्सिपल्ट त्यही प्रदेश सभा बैठमा बोल्दा गल्ती भएको स्वीकार्दै क्षमा पनि मागेका थिए । उनीसँग केही बर्ष अघि परिचय भएपनि  नम्बर थिएन । साथी शंकर तिवारीसँग तत्काल (साँझ ७ वजे) मागे । 

शंकरले म्यासेज गरिदिएलगत्तै उनै बैद्यजीलाई कल गरे । त्यहाँको अवस्था अवगत गराउन । तर दुई पटक कल गर्दा पनि रिसिभ भएन । 

त्यहाँबाट फर्किदै थिएँ । पशुपतिमा विभेदले गर्दा दर्शन नपाए पनि बाटोमा पर्ने बत्तीसपुतलीको राम मन्दिर दर्शन गर्ने इच्छा भयो । राममन्दिर माथि पुगेर बाहिरबाटै दर्शन गरे । त्यहाँ पुग्दा ‘निर्बलका, बल राम’ भन्ने उनै  गान्धीको उद्गार स्मरण भैरह्यो । पशुपतिमा भएको घटना मनमा बिझाइरह्यो । राम मन्दिर दर्शन गरेर फर्किंदा, मलाई एक्कासी म कति ‘आस्तिक’ रहेछु भन्ने अनुभूति भयो । किनभने पशुपति दर्शनमा विभेद भएपछि फेरि पनि राम मन्दिर दर्शन गर्न पूर्व योजनाविना नै इच्छा जागृत भएको थियो । त्यहीबाट पशुपतिनाथलाई स्मरण गर्दै अन्तर मनले भन्यो,  ‘म नास्तिक हैन पशुपतिनाथ !’  

तर ती सबै कुरा भावनात्मक र अन्तरमनका संवेग थिए । अरु प्रसंगमा कुरा गर्दै फर्कियौं । तर पनि उक्त घटनालाई विर्सिन सकिन । मन हलुङ्गो बनाउनका लागि भन्न सक्ने अरु स्थान पनि थिएन । पछि कुनै प्रसंगमा यो प्रवृत्तिलाई भने कुनै लेख लेख्दा उजागर गर्छु भन्ने लागेको थियो । गन्तव्य निवास पुग्ने बित्तिकै  मोबाइल बज्यो । कल रहेछ, इञ्जिनियर ज्योत्सना उपाध्याय (नेपाल) पुल्चोक इन्जिनियरिङ्ग कलेजकी प्राध्यापक । थप परिचय दिनुपर्दा उहाँ  पूर्वप्रम माधव नेपालकी भाउजू हुनुहुन्छ । उहाँले कुन प्रसङ्गमा फोन गर्नु भएको थियो भन्ने नै नसोधी उहाँलाई भर्खर पशुपतिबाट फर्किएको जानकारी गराए । किनकी मैले एक दशकदेखि उहाँलाई एक असल अभिभावक मानेको छु । उहाँले साँझमा पशुपति भनेकोले आत्तिदैं किन भनेर सोध्नुभयो । 

मैंले सविस्तार । उहाँले पर्सि पूर्णिमा हो, साँझमा पशुपति पुग्न सुझाउनु भयो । अनि मैले मन्दिर प्रवेशमा भोगेको विभेद घटना वृतान्त सुनाए । सुनेपछि उहाँले पनि आफ्नो पनि त्यस्तै तिक्त अनुभव सुनाउनुभयो ।  

तर एक दशक अघिकै साउने सोमबारको दिन निराहार व्रत लिएकाले पशुपतिनाथ मन्दिर दक्षिण ढोकाको लाइनबाट भित्र पुगेपनि आफ्नो पूजा नगरिदिएको तिक्त अनुभव सुनाउनु भयो । उहाँ कै शब्दमा, ‘ढोकसम्म पुगेर पनि भित्रबाट पूजारीले आफूले पुरयाएको फूल–प्रसाद,भेटीको थाली १० मिनेटसम्म पनि लिइदिएनन् । लाईनमा अघिपछि दक्षिण भारतीय दर्शनार्थी थिए । उनीहरु किस्तीमा भारु सयांैका नोट राखेर दर्शन गर्न लामबद्ध थिए । मैंले नेपाली दश रुपैयाँको नोटसहित फूल र प्रसाद राखेकोले त्यसो गरेको भन्ने बुझें । भित्र रहेका भट्टले सुन्ने गरी पशुपतिनाथ तिमी पनि यति पक्षपाती ! धन पैसा हेरर पुजिने ! सुन्ने बित्तिकै भट्टले हातमा झट्कारेर फल, प्रसाद र भेटी सहितको थाली झारिदिए । फेरि कराएर कस्तो पक्षपात भगवानको मन्दिरमा पनि भनेर थाली उठाएर फर्किए ।’

उहाँले थप सुनाए अनुसार बाहिर पट्टि आएर, मन्दिरतिर फर्किएर, हे पशुपनिाथ तिमी सच्चा हौं भने यस्तो व्यवहार गर्नेहरुको अफाप होस भन्नुभएछ । अब उप्रान्त तिम्रा नाममा व्रत राखेपनि मन्दिरको भित्र पूजा गर्न आउने छैन भनेर भन्नुभएछ । त्यहाँबाट फर्किएर घरमा आएर व्रत तोड्नुभयो रे ! ‘त्यसपछि साउनको व्रत राखेर पशुपति अहिलेसम्म पुगेकी छैन,’ उहाँले भन्नुभयो, ‘भगवान प्रति अनास्था र अनादार नहोस, तर त्यहाँ द्रव्य हेरर भित्रैबाट पक्षपात हुन्छ भन्ने कुरामा म आफै भुक्तभोगी छु ।’ 

उपाध्यायको भोगाई र  भारतीय नेता डा. उपाध्यायको भोगाइसँगै स्वयं मेरो सोमबारको साँझको भोगाई पशुपतिनाथ मन्दिर पुग्दा हुने र भोगिदै आएका प्रतिनिधी घटना मात्र हुन भन्ने लाग्यो । 

लेखन पेशाको भएकोले उपाध्यायको अनुभुति सुन्दै गर्दा तत्काल केही लेखौं भन्ने लाग्यो । मैले ‘स–परिचय, यो घटना उर्तान सक्छु ?’ भनेर अनुमति मागे । उहाँले  अनुमति दिएकाले यो प्रसंग उल्लेख गरेको हुँ । साँझको खानापछि अन्य लेखपढका कामलाई थाती राखेर यो आलेख तयार गर्न लागे । लैख्दालेख्दै अनेक भावना तरंगित भैरहे ।

देशको अवस्था, शासनशैली, सुरक्षा,न्याय प्राणाली, सुरक्षाकर्मी,कर्मचारी, प्रशासनको नैतिक जिम्मेवारी, नागरिकको कर्तव्य आदी–आदी । तर अन्त्यमा आराध्यदेव पशुपतिनाथ परिसरमा यस्तो व्यवहारबाट पीडित र प्रातडीत हुने सयौं, हजारांै नभएर लाखौ रहेछन् भन्ने लागिरह्यो । गान्धीले भनेका छन्, ‘राजनीतिमा धर्म भएन भने, चाप्लुसी वा क्रुर शासकको उदय हुन्छ । अर्थमा धर्म भएन भने आसुरी  प्रवृती जन्मिने खतरा हुन्छ । विज्ञानमा धर्म भएन भने हिंसा वा प्रलयको भय रहनेछ ।’ 
तर उनले नभनेको आस्था भएको धर्ममा विभेद र धन्दा भए के हुन्छ, होला ?  जवाफ पनि स्वयंमा प्रस्फटित हुनपुग्यो, ‘धर्मान्तर !’ 

आज नेपालमा भैरहको धर्मान्तरको एउटा कारण, निरिह जनप्रति धर्म र राजनीतिका ठेकदारहरूबाट भैरहेका यस्तै, विभेद र दुर्व्यवहार त हैन ? 

अन्तमा फेरि पनि सभक्ति भन्छु, ‘म नास्तिक होइन पशुपतिनाथ !’


Author

थप समाचार
ad
x