ब्लग

कोरोना कालमा अभिभावक शिक्षक कसरी बन्ने ?

अन्जु भट्टराई |
कात्तिक १, २०७७ ७:० बजे

कोरोनाले गर्दा अहिले लाखौँ विद्यार्थीहरु घरभित्रै छन् । पहिला सिकाइको लागि विद्यार्थीहरुलाई स्कुल पठाइन्थ्यो । शिक्षकबाट उनीहरुले धेरै कुरा सिक्थे । बालबालिकाहरु अहिले स्कुल जान पाएका छैनन् । साथीभाइहरुसँग भेट्न पाएका छैनन् । कक्षा कोठामा बसेर पढ्न पाएका छैनन् । उनीहरु घरमा भएकाले अभिभावकलाई चुनौती थपिएको छ । यो बेला अभिभावक नै शिक्षक बन्नुपरेको छ । अभिभावक नै साथी बन्नुपरेको छ ।

विद्यार्थीहरुको उमेर भनेको अत्याधिक ऊर्जावान उमेर हो । घरै बसे पनि उनीहरु केही न केही गर्न रुचाउँछन् । यस्तो बेलामा उनीहरुलाई सामाजिक, आर्थिक, मनोवैज्ञानिक साथ र सल्लाह दिनुपर्छ । उनीहरुलाई एकदमै ‘केयर’ गर्नुपर्छ । अहिले धेरै अभिभावकहरु रोजगारी गुमाएको कारणले तनाबमा छन् । यस्तो अवस्थामा बच्चाहरुलाई ‘केयर’ गरिरहेका हुँदैनन् । तर, जस्तोसुकै महामारी आएपनि अभिभावकले सबैभन्दा पहिलो प्राथमिकता बालबालिकाको शिक्षा, खानपान र सुरक्षालाई ध्यान दिनुपर्छ ।


महामारीको बेलामा लामो समय घरभित्रै बस्दा भावनात्मक रुपले बालबालिकाहरु कमजोर भएका हुन्छन् । जतिबेला पनि मोबाइल, कम्प्युटर आदि (आइटी) मा बस्दा-बस्दा भावनात्मक र सामाजिक पक्षहरुसँग छुट्दै गइरहेका हुन्छन् । यतातिर पनि अभिभावकको ध्यान जानु जरुरी छ । 

हिजोको जस्तो कमाइ आज नहुन सक्छ । यस्तो बेलामा हामी सबैले धैर्यतापूर्वक आफ्नो जिन्दगी चलाउने कोसिस गर्नुपर्छ । रिसले रिस बढ्छ । तनावले तनाव । अभिभावकले बालबालिकालाई केही सिकाउन पहिला आफूले आफूलाई व्यवस्थापन गर्नुपर्छ । आफ्नो तालिका बनाउनुपर्छ । कुन समय बच्चालाई दिने, कुन समय मोबाइल चलाउने, कुन समय घरको काम गर्ने भनेर छुट्याउनुपर्छ ।

उमेरअनुसार बालबालिकाहरुको आनीबानी फरक–फरक हुन्छ । अभिभावकले आफ्नो बच्चालाई उमरेअनुसार चिनेर त्यहीअनुसारको व्यवहार गर्नुपर्छ । किशोर/किशोरीहरुले गर्ने व्यवहारलाई हामीले धैर्यतापूर्वक अवलोकन गर्नुपर्छ । आदेश दिनु हुँदैन । सल्लाह गर्नुपर्छ । १२ वर्षभन्दा मुनिका बच्चाहरुले अभिभावक वा आफूभन्दा ठूलाबाट माया र प्रशंसा गरुन् भने चाहन्छन् । उनीहरुलाई पनि त्यहीअनुसार व्यवहार गर्नुपर्छ । महामारीको बेलामा लामो समय घरभित्रै बस्दा भावनात्मक रुपले बालबालिकाहरु कमजोर भएका हुन्छन् । जतिबेला पनि मोबाइल, कम्प्युटर आदि (आइटी) मा बस्दा-बस्दा भावनात्मक र सामाजिक पक्षहरुसँग छुट्दै गइरहेका हुन्छन् । यतातिर पनि अभिभावकको ध्यान जानु जरुरी छ । 

अभिभावकले शिक्षकसँग सहकार्य गरेर कसरी सिकाउन सकिन्छ भनेर सल्लाह लिन सक्छन् । पढाई मात्र नभएर दैनिक जीवनमा काम लाग्ने कुराहरु पनि सिकाउन पाइन्छ ।  घरायसी कामहरुमा उनीहरुलाई संलग्न गराउन सकिन्छ । गार्डेनिङ, लुगा धुने, पट्याउने, खाना पकाउने जस्ता कुराहरुमा लगाउन सकिन्छ । उनीहरुलाई यस्ता कुरा गराउँदा ‘तिमी यो गर’ भनेर आदेश दिने होइन ‘हामी गरौँ न’ भनेर सँगै काम गराउने गर्नुपर्छ ।
 
अभिभावक शिक्षक बन्दा धेरै फाइदाहरु छन् । आफ्ना छोराछोरीको नराम्रो व्यवहार चिनेर परिवर्तन गर्न सकिन्छ । उनीहरुको इच्छा चाहनालाई बुझ्न सकिन्छ । तर, त्यसका लागि उनीहरुसँग कुराकानी गर्नुपर्छ । उनीहरुको क्रियाकलापमा सघाउनुपर्छ  । यो बेला बच्चालाई चिन्ने, उनीहरुको कमजोर र बलियो पक्षको बारेमा थाहा पाउने उपयुक्त अवसर हो ।  तर, २४ सै घण्टा बच्चा बच्चा भन्दा पनि उनीहरुलाई दिक्क लाग्न सक्छ । त्यसैले, उनीहरुलाई उनीहरुको समय पनि दिनुपर्छ ।

अभिभावक आफूले भनेकै समयमा बच्चाले पढोस् भन्ने चाहन्छन् । तर, उनीहरुको मुड के छ ? त्यसमा ध्यान हुँदैन । उनीहरुलाई छनोटको सुविधा दिदैनन् । त्यसले पनि धेरै बालबालिकाहरु घरमा बसेर सिक्न सकिरहेका छैनन् । बालबालिकालाई अभिभावकले आफ्नो अनुकुलभन्दा पनि उनीहरुको अनुकुललाई ध्यानमा राखेर तालिका बनाइदिनुपर्छ ।

कहिलेकाहीं अभिभावकले बालबालिकाबाट चाहिनेभन्दा बढी आशा राखेको हुन्छ । उनीहरु आफ्नो बच्चाले सबै क्षेत्रमा पहिलो होस् भन्ने चाहन्छन् । तर, उनीहरुको चाहनाको कदर गर्दैनन् । फस्ट भएको बेलामा ‘थ्यांक यू’ भन्छन् । फेल भएको बेलामा गाली गर्छन् । गल्ती गरेको वा हारेको बेलामा बालकालिकालाई सबैभन्दा धेरै साथ चाहिन्छ । गल्तीबाट कसरी सिक्ने भनेर सिकाउने मान्छे चाहिन्छ । त्यसैले, अभिभावकसँग एकदमै धेरै  धैर्यता चाहिन्छ । घरमा एक किसिमको संस्कारको विकास गर्नुपर्छ । बालबालिकाको मनोवैज्ञानिक आवश्यकताहरुमा ध्यान दिनुपर्छ । हामीले विशेष तीनवटा कुरामा ध्यान दिनुपर्छ । त्यो हो- माया, प्रशंसा र सुझाव । हामीमध्ये धेरैको एकैचोटि सुझाव दिने बानी हुन्छ । तर, त्यसो कहिल्यै गर्नुहुँदैन । हामीले पहिला मायाले केही कुरा भनेर प्रशंसा गरेपछि मात्रै सुझाव दिनुपर्छ । 

अहिले धेरै विद्यार्थीहरुले ग्याजेटमा समय बिताइरहेका छन् । त्यसको विकल्पमा अभिभावकले घरमै बसेर बालबालिकाहरुलाई उनीहरुको उमेर समूहअनुसार किताब पढाउने, घरभित्रै खेल्ने गेमहरुमा खेलाउने गर्न सक्छन् । किताव पढ्न नसक्ने खालका बालबालिकालाई अभिभावक आफैले पढेर सुनाइदिन सक्छन् । नेपाली र अंग्रजीका शव्दहरु दिएर त्यसका अर्थहरु खोज्न लगाउन सक्छन् । उनीहरुको रुचिको क्षेत्रमा कुनै सीप सिकाउन सक्छन् । 
 
धेरै अभिभावकहरु समय हुँदैन भन्छन् । तर, फेसबुकमा लामो समय बिताएको उनीहरुलाई पत्तै हुँदैन । त्यसैले  ‘समय छैन’ भन्ने कुरालाई सबैभन्दा पहिला दिमागबाट हटाउनुपर्छ । त्यस्तै, अभिभावक आफूले भनेकै समयमा बच्चाले पढोस् भन्ने चाहन्छन् । तर, उनीहरुको मुड के छ ? त्यसमा ध्यान हुँदैन । उनीहरुलाई छनोटको सुविधा दिदैनन् । त्यसले पनि धेरै बालबालिकाहरु घरमा बसेर सिक्न सकिरहेका छैनन् । बालबालिकालाई अभिभावकले आफ्नो अनुकुलभन्दा पनि उनीहरुको अनुकुललाई ध्यानमा राखेर तालिका बनाइदिनुपर्छ । त्यस्तै, बालबालिकाले सोधेको हरेक प्रश्नको जवाफ दिनुपर्छ भन्ने छैन । उनीहरुलाई ‘हामी मिलेर खोजौँ न’ भन्ने हो । उनीहरुले सोध्ने वित्तिकै उनीहरुको प्रश्नको जवाफ दिन थालियो भने उनीहरुको सिर्जनात्मकता हराउँछ । सोधखोज (रिसर्च) गर्ने बानी हराउँछ । हामी उनीहरुको उत्तर बन्ने होइन । उत्तरको खोजीको साधन वा स्रोत बन्ने हो । अभिभावकले पढाउने होइन । पढ्ने वातावरण बनाइदिने, पढ्न उत्प्रेरित गर्ने र संस्कार सिकाउने हो । 

घरमा केही निर्णय लिंदा बालबालिकालाई सहभागी गराउनुपर्छ । उनीहरुका पनि विचार राख्नुपर्छ । यसले उनीहरुको आत्मविश्वास बढ्छ । निडर हुन्छन्  । उनीहरुले गल्ती गरेको बेलामा मात्र ‘सरी’ भन्न लगाउने होइन । आफूले गल्ती गर्दा पनि ‘सरी’ भन्ने बानी बसाल्नुपर्छ । असल छोराछोरी खोज्ने अभिभावकले आफू पनि असल अभिभावक बन्नुपर्छ । असल शिक्षक बन्नुपर्छ । असल साथी बन्नुपर्छ । 
(अक्षरा स्कुल, प्रिन्सिपल भट्टराईसँगको कुराकानीमा आधारित)


 


Author

थप समाचार
ad
x