ब्लग

कुम्भकर्ण उठ्ला तर त्रिवि उठ्ने छाँट छैन

कबिन श्रेष्ठ |
असार १५, २०७८ मगलवार १७:१६ बजे

अब त परीक्षाको रुटिन पनि आयो । स्नातक पहिलो वर्षको परीक्षा हुने पक्कापक्की भयो । तर, यसका लागि हामीले दुई वर्ष कुर्नुपर्‍यो । यो कुराईमा हामीले जुन खालको मानसिक पीडा भोग्नुपर्‍यो, त्यो पीडा कसले बुझ्ने ? केही साथीहरूले त अब नपढ्ने भनेर कलेज नै छाडे । यो दुई वर्ष त्रिभुवन विश्वविद्यालय हाम्रो लागि कुम्भकर्ण जस्तै निदायो । बरु कुम्भकर्ण पनि आफ्नो दाइ रावणका लागि बिउँझिएको थियो । तर, त्रिभुवन विश्वविद्यालय हाम्रो भविष्यलाई दाउमा राखेर निदायो । बल्ल परीक्षा हुने भएको छ । तर, अहिले हामी विद्यार्थीहरूको मानसिक स्थिति कस्तो छ कसैलाई मतलब छैन । अब हामीले दुई वर्ष अगाडि पढेको कोर्सबाट कसरी राम्रो अंक ल्याउने ?

त्यसमाथि पुनः तेस्रो लहर आउने हल्लीखल्ली छ । कोरोनाको भन्दा अहिले हामीलाई तेस्रो लहरले फेरि परीक्षा रोकिने हो कि भन्ने डर छ । शैक्षिक संस्थामै गएर परीक्षा दिनुपर्ने भनिएको छ । तर, कोरोना भएका विद्यार्थीलाई सरकारले के व्यवस्था गरेको छ ? उनीहरूलाई आइसोलेसनमा राखेर परीक्षा दिने व्यवस्था छ कि छैन ? छैन भने उनीहरूलाई आइसोलेसनमा राखेर परीक्षा दिने वातावरण हुनुपर्छ । अनि कोरोना अझै सकिसकेको छैन । शैक्षिक संस्थामा गएर परीक्षा दिँदा कोरोना लाग्यो भने के गर्ने ? अहिले अनलाइनको जमाना हो भनिन्छ । सबैकुरा अनलाइनबाटै हुन थालिसक्यो । तर, परीक्षा भने अनलाइन हुन सकेन । गाउँघरमा अनलाइनको पहुँच भएन, भनिन्छ । बिजुली भएको ठाउँमा अनलाइन पुर्‍याउने पहल कतैबाट भएन । तर, अब जुन तरिकाले परीक्षा लिने भनिएको छ, त्यो नरोकियोस् । 


चार वर्षको कोर्ष पूरा हुन ६ वर्ष लाग्ने भइसक्यो । मास्टर्स पढ्ने बेलासम्म त बूढो भइने भैयो । जागिर खाने त अब टाढाको कुरा । पहिलो लहर कम भएको बेलामा हाम्रो परीक्षा लिएको भए यो अवस्था हुँदैन्थ्यो । तर, हामी यस्तो देशका नागरिक पर्‍यो जहाँ हामीजस्ता युवापुस्तालाई पुरै बेवास्ता गरिन्छ । जसकारण हामी धेरै पछि परिसक्यो ।

१२ कक्षासम्मको परीक्षा रोकिएन । उनीहरू अहिले ब्याचलर्स पढ्ने भइसके । उनीहरूलाई ‘इन्टरनल इभ्यालुएसन’ गरेर भए पनि उकालियो । तर, स्नातक तहमा कोरोनाको बहानाबाजी चल्यो । हामी जहाँको त्यही अड्कियौँ । अहिले हाम्रो कलेजमा दुईवटा ब्याचलर्स पहिलो वर्ष छन् । नयाँ र पुरानो । हामी भने यसैमा अड्किनुपरेको छ । तेस्रो लहर आए पनि हाम्रो परीक्षा नरोकियोस् । अनलाइनबाटै भएपनि होस् । ‘इन्टरनल इभ्यालुएसन’ गरेर भए पनि हाम्रा परीक्षा लिनुपर्छ । विद्यार्थीको मनोबल बढाउनुपर्छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस् । 
ख्वप कलेज, भक्तपुर 


Author

थप समाचार
x