ब्लग

दसैँ र बढ्दो विकृति

प्रलब पराजुली |
असोज १७, २०७९ सोमबार १५:१७ बजे

दसैँ वा बडा दसैँ नेपालीहरूको प्रमुख चाड हो। हिन्दू धर्मलम्बीहरूले आश्विन/कार्तिक महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमीसम्म देवीहरूको पुजा/आराधना गरी दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा मनाउने गर्छन्। घटस्थापनाका दिनदेखि नवमीसम्म प्रत्येक दिन फरक देवीहरूको पूजा/आराधना हुन्छ। पहिलो दिनदेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको पूजा गरी नवदुर्गाको पूजा सकिन्छ ।

रामले रावण माथि विजय हासिल गरेको, असत्य माथि सत्यको जीतको खुसियालीमा नव दुर्गाको प्रसाद स्वरुप आफू भन्दा मान्यजनहरूको हातबाट टिका र जमरा लगाएर विजय दशमी मनाईने गरिन्छ। घटस्थापनाका दिनबाट सुरु भएको दसैँ पूर्णिामाको दिन विधिपुर्वक यसको अन्त्य गरिन्छ। दसैँको दिन आफूभन्दा मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने,नयाँ कपडा किन्ने मीठो मीठो खानेकुरा बनाउने/खाने,घर र घर  अगाडिको वातावरण सरसफाइ गर्ने जस्ता काम उत्साहका साथ गरिन्छ।


बडा दसैँमा आफन्तजनहरूसँग भेटघाट गर्ने र सँगै बसेर रमाइलो गर्ने गरिन्छ। बडादशैँमा आफ्नो देशभन्दा बाहिर रहेका मानिसहरू पनि दसैँको लागि बिदा लिएर मनाउनको लागि आउने गर्दछन्। काठमाडौंमा बसोबास गर्दै आएका मानिसहरू पनि दसैँमा आफ्नो घर जानेको भिडभाड निकै धेरै हुन्छ।

पहिले दसैँमा आफ्नु घर रङ्ग लगाउने,गाउँघरमा लिङ्गे पिङ हाल्ने, आफूसँग जे छ त्यही कुरामा रमाउने, परिवारहरू भेटघाट गर्ने, मीठो मीठो कुरा खाने गरिन्थ्यो तर, अहिले विगतको तुलनामा दसैँमा विकृति पनि उत्तिकै बढ्दो क्रममा छ। अहिले दसैँ एक अर्काको देखासेखीमा मनाउने गरिन्छ। कस्ले कस्तो लुगा लगायो ? कस्तो खानेकुरा खायो? कसरी अरु भन्दा राम्रो देखिने? भन्दै आफूसँग पैसा नहुँदा पनि ऋण लिएर दसैँ मनाउने गरिन्छ। दसैँको नाममा विकृति दिन दिनै बढ्दो क्रममा छ। पहिले गाउँ घरमा दसैँको बेला हालिने लिङ्गे पिङ, रोटे पिङ अहिले कतै कतै मात्र देखिन थालेको छ । पारिवारिक भेटघाटको नाउँमा जुवा,तासको विकृति बढ्दो छ। घरगाउँमा रात भरि दसैँकै नाममा  रक्सी पिउँदै जुवा,तास खेलिने गरिन्छ।

 

यता दसैँको बेला व्यवसायीहरूले सर्वसाधारण जनतालाई म्याद गुज्रिएका सामानहरू बिक्री गर्दै आएका छन् । सहरबाट दसैँ मनाउन घर फर्किनेहरू पनि लुटिँदै आएका छन् । घर फर्कँदा टिकट नपाउदा यात्रुले महँगो शुल्क तिर्नु परेको छ। दसैँकै बेला घर फर्कदा अव्यवस्थित बाटो र चालकको लापरवाहीको कारण कयौंको लागि दसैँ दशा साबित हुँदै आएको छ । यो विषयमा सरकार आफ्नो दायित्वबाट पन्छिँदै आएको छ। सरकारले यो विषय देखे नदेखेको जस्तो गर्दै आएको छ। चाडवाडको बेला सरकार आफ्नु दायित्वबाट पन्छिँदा नागरिकहरूले सास्ती भोग्दै आएका छन्।

दसैँको नाउँमा विकृति फैलिदै छ। दसैँलाई मनाउँदा हामीले हाम्रो संस्कृति र रीतिरिवाजको समेत ख्याल गर्नुपर्छ। दसैँलाई सकारात्मक तरिकाले मनाउन आफूसँग जे छ त्यसमै खुशी हुँदै मनाउनु पर्छ ।

 


Author

थप समाचार
x