ब्लग

त्यो मेरो बालापनको दसैं !

दसैंमा खसीलाई मुसेखरीको घाँस र मकै, हामीलाई रमाइलो

विनाेद अधिकारी |
असोज १३, २०७९ १४:५८ बजे

करिब ५० वर्षअघिको सम्झना हो यो– अब दसैं कहिले आउँछ भनेर पात्रो हेर्नै पर्दैनथ्यो। दसैं आएको जानकारी पाउन मैले आफ्नै खालका सूचक बनाएको थिएँ। रातो र कमेरोमाटो ल्याउन आमा, भाउजू, दिदीहरूको लाम सुरु हुनु, बन पाखाका तितेपाती फुल्न थाल्नु, गाउँमा खसी बोकाको कुरा हुन थाल्नु मेरा मुख्य सूचक थिए।

दशैंमा धेरैको मुख्य चासो मासुमा हुने भएकाले फलानोले यति धार्नीको खसी ल्यायो, ढिस्कानोले उती धार्नीको ल्यायो भनेर चर्चा हुन्थ्यो। कसले पालेकोदेखि कसको जखमले वा कहाँबाट कसरी ल्यायोदेखि कति रुपैयाँको लगायतका विषयमा चर्चा सुरु हुन्थ्यो।


घटस्थापनाको अघिल्लो दिन हाफ छुट्टीमै स्कुलले १५ दिने बिदाको जानकारी गराएपछि अब १५ दिनसम्म स्कूल आउन नपर्ने खुशीयालीसँगै झोला बोकेर घरतिर कुलेलम ठोकिन्थ्यो। खुसियाली प्रकट गर्न बोकिराखेको झोला आकाशतिर हुत्याउँदै समात्दै गरेर रमाइथ्यो– बाटोमा। यस्तैयस्तै अनेक सूचक थिए, जसले भन्थ्यो– अब दसैं सुरु भयो।

नौरथा (नवरात्र) लागेपछि चिउरा कुट्न आलोपालो घरघरमा ढिकीहरू बज्दथे। दिनभरि लिपपोत, घाँसदाउरा आदि गर्नुपर्ने भएको हुनाले बिहान सबेरै अर्थात् रातको चौथो प्रहर सुरु हुने बेलादेखि नै चिउरा कुट्ने चलन हुन्थ्यो। उज्यालो हुन केही समय बाँकी रहँदै आँखा मिच्दै ढिकेरीमा पुगिन्थ्यो अनि भर्खर कुटेको मिठो चिउरा खाइन्थो र सुतिन्थ्यो। उठ्दा घाम उदाइसकेको हुन्थ्यो। सानै भएको हुनाले तोकिएका र नियमित कुनै काम थिएनन्, तैपनि बिहान बेलुका सानातिना घरायसी कामहरूमा सघाइन्थ्यो र दिउँसो प्राय: गाइवस्तुको गोठालो जानेसँग साथी लागिन्थ्यो। बेलुका दशैंका खसी बोकालाई घर वरिपरि चराइन्थ्यो र तिनलाई मुसेखरीको घाँस र मकै खुवाइन्थ्यो। यसोगर्दा खुब रमाइलो लाग्दथ्यो।

घटस्थापनाको भोलिपल्ट मात्रै जमरा राख्ने चलन थियो, पूजा चौको नजिकैको अलि अँध्यारो  कुनामा। शास्त्रीय मान्यता जे भए पनि दशै‌ंको टीका (टिको)मा नौ दिनको जमरा लगाउनुपर्छ र द्वितीयाको जुन (चन्द्रमा) हेरेर मात्र जमरा राख्नुपर्छ भन्ने लोक परम्पराको आधारमा त्यो दिन बेलुका जमरा राखिन्थ्यो। खासमा यव भनेको जौ र त्यसैका अङ्कुर अर्थात् आँकुरा भएकोले यवाङ्कुर र त्यसैको अपभ्रंशको रूपमा जमरा भनिएको हुनुपर्छ। जौको उत्पादन कम हुने र पर्याप्त जौ नपाउने भएर नै होला, त्यतिबेला जमरा राख्दा मकै मिसाइन्थ्यो। त्यही भएर हुनुपर्छ त्यसवेला एउटा गीत गाएको सुनिथ्यो– ‘धानको बिउ मकैको जमरा, तिमी फूल मै हुँला भँमरा’।

जमरा राखेपछि बिहान बेलुका त्यसमा पानी हाल्ने काम मेरो हुन्थ्यो। अनि मलाई हरेक बिहान बेलुका बा, आमाले सम्झाउनु हुन्थ्यो – ‘जमरामा पानी हालिस् त ?” नउम्रिउञ्जेल अर्थात् आँकुरा नआउञ्जेल पानी हाल्न अल्छी नै लाग्ने भए पनि उम्रेपछि भने ध्यान त्यतै जान्थ्यो। कतैबाट घर फर्किएपछि र बिहान उठेपछि आँखा मिच्दै पहिला त्यही जमरा हेरुँहेरुँ लाग्दथ्यो। हामी केटाकेटीबीच कसका जमरा राम्रा भन्ने एक किसिमको होडबाजी पनि चल्दथ्यो।

दशैंमा परिवारका सबैका लागि अनिवार्य जस्तै नयाँ लुगा किनिन्थे। आफूलाई अरुको भन्दा पनि आफ्नो लुगा कस्तो होला वा छ भन्ने चासो बढी हुन्थ्यो। अहिलेजस्ता रेडिमेड कपडाको  चलन नै थिएन र त्यतिबेला! दमै बा/दाइले घरमै लुगा सिउने कल ल्याएर खरर लुगाहरू (भोटो, कमेज, सुरुवाल, पाइन्ट, हाफ पाइन्ट आदि)  सिइदिन्थे। टोपी भने प्राय: रेडिमेड नै हुन्थे।  लुगा कहिले तयार होलान् र लगाएर अरुलाई देखाउन पाइएला भन्ने उत्सुकताले मनमा कडै डेरा जमाएको हुन्थ्यो।

साँझमा तारा झरेझैं घरबाहिर लाहुर, पल्टन, नोकरी आदिमा रहेका मानिसहरू  एकपछि अर्को, अर्को गर्दै गाउँमा भित्रिन्थे। दशैंमा लिङ्गेपिङ, रोटेपिङ, जाँतेपिङहरू बनाइथ्यो। केटाकेटीका लागि प्राय: घरमै डोरे पिङ र पिर्केपिङ हुन्थे। न कुनै खेतालो न कुनै नगदी पैसा, गाउँघरका सबै मानिस जुट्थे र गाउँघरमै बाबियो, चोया, लिङ्गा, खाँबो जे–जे आवश्यक पर्दथे ती कुराहरू जम्मा गर्दथे। सबैमा एकता थियो, सद्भाव र मेलमिलाप थियो। सबै हाँसीखुशी जम्मा हुन्थे र बाटोघाटोको मर्मत सरसफाइ आदि काम पनि गर्दथे। मानौ दशैैं/टीका एउटा निमित्त पर्व मात्र हो र एकता, सद्भाव, हार्दिकता, मेलमिलाप आदि त्यसैसँग जोडिएका महापर्वहरू हुन्।

मान्छेसँगै रेडियो, टेपरेकर्डहरू पनि भित्रिन्थे गाउँमा र बिहानै सबैतिर भजनहरू गुञ्जिने गर्दथे– “सर्बे भवन्तु सुखिन: सर्वेसन्तु…, ओम् हरहर महादेव…, सर्ब मङ्गल माङ्गल्यम्… ” यस्तै यस्तै। त्यतिबेला मान्छेहरू यताउता हिँड्दा रेडियो बाकेरै हिँड्ने चलन थियो। प्राय: लाहुरेहरू भने टेपरेकर्डरका सौखिन हुन्थे। टेप रेकर्डरहरूमा पञ्चै बाजाका धुन, बुढापाकाका सिलोक, गीतहरू रेकर्ड गरेर सुनाएको औधी रमाइलो लाग्दथ्यो।

शुभकामना आदानप्रदानका कुनै औपचारिक कार्यक्रमहरू कहाँ हुनु त्यतिबेला। घर घरमा भेटघाट, सञ्चो बिसञ्चो, चाडबाड अनि दु:ख सुख, ऋण, धन आदिका एक आपसका न्याना भलाकुसरीहरू आँफैमा हार्दिक शुभकामना र शुभभावनाका पवित्र प्रस्तुति बन्थे।

जात र परम्परा अनुसार पशुबलिहरू फरक हुन्थे: बोको, भेडो, केरा, कुभिण्डो आदि। बलि कसैले अष्टमी र कसैले नवमीमा दिन्थे। बलि दिने दिन बिहानैदेखि आँगनको एउटा कुनामा ढुङ्गाको चुलो बनाइ ठूलो भाँडोमा पानी तताइन्थ्यो। बलि दिने ठाउँमा लिपपोत गरी पूmल अक्षता, जमरा र कुभिन्डो वा घिरौंलाका चिचिला राखिन्थे। पशुबलि गर्ने बेलामा पहिला तिनै चिचिलाहरूको बलि हुन्थ्यो। अनि बलिदिने बोको, भेडो जे हुन्थ्यो त्यसलाई तेहेर्‍याएपछि मार हान्नेहरूले खुँडा, कट्टी वा तरबारले झ्याम्म मार हान्थे। आ–आफ्नो मन– म अलि परबाट मात्रै त्यो दृश्य हेरिरहेको हुन्थें।

दशैंको बेला अघिपछि जस्तो मासु अड्कलेर दिन वा खान पर्थेन। मासुका प्रकार भने सामान्य हुन्थे: भुटुवा, भित्री मासु, झोल मासु, यस्तै यस्तै। खानेबेला बा आमाले भन्नुहुन्थो– एकैचोटि धेरै नखा है– पेट लाग्ला ! मासु खान रमाइलो भए पनि केही दिन त आफूले माया गरेको अनि खरीको घाँस र मकै खुवाएको त्यही बोका/खसीको न्यास्रो लागिरहन्थ्यो।

घरमा रोजै दुहुना गाई, भैसी हुन्थे अनि भदाला (कराइ) भरि दूध। दसैंका केही दिन ठेकोमा मात्र हुन्थ्यो दूधको बास र भोलिपल्ट नौनीका डल्ला निस्कन्थे घरमा। दूधभातमा गडेको जिब्रो यसो कुनैबेला त मन त्यसैमा लोभिन्थ्यो तर बा आमा भन्नुहुन्थ्यो– मासु खाएको बेला दूघ खान हुँदैन।

केही थाहा थिएन निधारमा टीका(टिको) र टाउकोमा जमरा लगाएर के हुने हो ? ‘आयु द्रोण सुते…, जयन्ती मङ्गला काली…’ को अर्थ के हो ? बस् आफूलाई यति थाहा थियो– टीका लाउने दिनमा नयाँ लुगा लगाउन र अरुलाई देखाउन पाइन्छ। अनि घर–घरै टिका थाप्दै हिँड्न, केरा, काँक्रो, च्युरा, रोटी आदि प्रसादहरू खान पाइन्छ र कतै केही दक्षिणा पनि पाइन्छ।

दशमी अर्थात् टीकाको दिन बिहान आफ्नो रुटिङ् हुन्थ्यो– फूलेको पाती बटुलेर ल्याउने । सदा झैं पूजाका लागि फूल टिप्ने र जमरा चुँडेर ल्याउने। टीकाको दिन नयाँ लुगा लगाउन पाउँदा औधी रमाइन्थ्यो। दिन सुरु भएको केहीबेर पछि (सायद टीकाको साइतका बेला) पूजाकोठाका टीकाकोे थाली अगाडि राखेर बा लप्टनको घरमा कतिखेर बारुदे बन्दुक ड्याम्म पड्केला भनेर पर्खिनुहुन्थ्यो।

बन्दुक पड्केपछि सुरु हुन्थ्यो टिकाको मेलो। थालीबाट बाले केही अक्षता, जमरा छुट्याउनुहुन्थ्यो– कुलका देवी देवतालाई। त्यसैगरी अलिकति अक्षता र जमरा दुनामा छुट्याएर राख्नुहुन्थ्यो– त्यो चाहिँ राजाका लागि रे! त्यसपछि उमेर अनुसार हजुरआमा, बा, आमा, दाजु आदिबाट क्रमश: टीका लगाउन सुरु हुन्थ्यो र आशीर्वाद दिइन्थ्यो– ‘आयुद्रोण सुते…, जयन्ती मङ्गला काली…, आयुवृद्धि यसो वृद्धि ……., नवदुर्गाले आशीर्वाद दिउन्, देवी देवता दाइना हउन्, ज्ञानी हुनु, आँटे ताकेका कुरा पूरा हुन्, ठूलो ठूलो मान्छे भएस्, मान सम्मान पाएस्’ आदि  इत्यादि। टीका थापेपछि मान्यजनलाई ढोग गरिन्थ्यो, नगद दक्षिणा दिने खासै चलन थिएन। कसै–कसैले नाता, साइनो अनुसार रोटी, केरा आदिको सगुन पनि दिने गर्दथे।

घर–घरमा टीका थाप्न जाने आउने क्रम सुरु हुन्थ्यो। हामी केटाकेटीहरू छिमेकी बा–आमा, काका–काकीहरूकोमा टीका थाप्दै जान्थ्यौं। दिदी बहिनीहरूले टीका र आशीर्वाद सँगै दुईचार पैसा दक्षिणा पनि पाउँथे। हामी केटाहरूलाई दक्षिणा पाउन प्राय: मामाघर नै पुग्नुपर्दथ्यो। प्रसाद खान, खान नसकेको प्रसाद बटुलेर धेरै बनाउन रमाइलो लाग्दथ्यो। प्रसाद भनेका केरा, काँक्रो, च्युरा, रोटी आदि नै मुख्य हुन्थे।

अघिल्ला वर्षको सम्झनाले कुन कुन घरमा के के प्रसाद दिइन्छ वा पाइन्छ भन्ने कुरा पहिले नै अड्कल हुन्थ्यो। निधारमा टीका र शिरमा जमरा स्युरँदै घर घरमा पुग्दा र पिङ् खेल्दा, रमाइलो हुथ्यो। आफ्नो आफ्नो परम्परा अनुसार कसै कसैकोमा कोजाग्रत पूर्णिमासम्म नै टीका हुने भए पनि हाम्रो टीका दशमीको दिन मात्रै हुन्थ्यो। त्यसैले हामी टिका थाप्न कहिले जुनेली रातको उज्यालोमा अबेरसम्म मामाघर पुग्दथ्यौं, अनि कहिले आफन्तहरू राती अबेरसम्म हाम्रो घरमा आउनुहुथ्यो।

अहिले अर्थात् त्यो बेलाको हिसाबमा करिब ५० वर्षपछि संस्कृति उही, परम्परा उही भएर पनि दशैको रूप रङ्ग फेरिएको छ, दशैं मनाउने शैली फेरिएको छ। समयचक्र हो– सायद उसको आफ्नै गति छ, लय छ, फेरिँदै जान पाउनु मानौं उसको अधिकार हो। म त्यसलाई न पहिले छेक्न सक्थें न अहिले नै छेक्न सक्छु। त्यस अर्थमा पनि म अहिले न कसैलाई केही भन्न सक्छु न त समयको चालप्रति मेरो केही गुनासो छ। मात्र, यतिखेर उही आकाशको अर्को क्षितिज (कोण) मुनि अनि उही धर्तीको अर्को पल्ला (ठाउँ) माथि आफ्नै धुनमा आँफैभित्र हराइरहेको हुन्छु, अनि केबल सम्झिरहेको हुन्छु –त्यो मेरो बालाबेलाको दशैं ! - आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
ad
x