ब्लग

महिनावारीलाई पापका रूपमा अर्थ्याउनु चाहिँ पाप हो

सरिता दाहाल |
भदौ १६, २०७९ बिहीबार १५:३६ बजे

ठ्याक्कै भुलेँ, अन्दाज गर्दा जीवनमा मुस्किलले पाँचवटा जति पञ्चमी नुहाएको छु । आमा दिदीहरूको सिको गर्दै तीजमा व्रत पनि बसेँ । पञ्चमी नुहाएँ । ऋषि पञ्चमीको पूजा पनि लगाएँ । जब बुझ्दै आएँ, आमा दिदीहरूको नजरमा अबुझ बन्दै गएँ । अर्थात् उहाँहरूलाई पछ्याउन सकिनँ । उहाँहरू र मेरो बाटो नै फरक भयो । तर, पानी नै नपिएर कठोर व्रत बस्ने उहाँहरू पछिल्लो समय केही लचिलो हुनुभएको छ । परिवर्तन धेरै बाँकी छ ।

उहाँहरू महिनावारी हुँदाको वर्षभरिको पाप पखाल्नुपर्छ भन्नुहुन्छ । म कुनै पनि हालतमा महिनावारीलाई पापको रूपमा स्वीकार्न सक्दिनँ । महिनावारी नारीका लागि उत्सव हो । यो दिनलाई उत्सवका रूपमा पो मनाइनु पर्छ भन्छु म । धेरै आमा, दिदीबहिनी र छोरीहरू आज खोलामा लामबद्ध भएर पञ्चमी नुहाउँदै हुनुहुन्छ । म हेटौंडामा छु । बिहानैबाट झरी परिरहेको छ यहाँ । सोचिरहेको छु, आमा, दिदीबहिनी र छोरीहरू कसरी नुहाउँदै छन् होला धमिलो खोलामा । पूजा सामग्रीलाई झरीबाट जोगाउने कत्रो तनाव होला, म अनुभूति गर्न सक्छु । स–साना नानीबाबुलाई खोला किनारका ढुङ्गामाथि बसाएर नुहाउन बसेका आमा, दिदीबहिनीहरूलाई बच्चा खोलामा पर्ला भन्ने डर कति हुन्छ, त्यो पनि आभास छ ममा ।


जति हतार–हतार नुहाएर पनि कम्तीमा एक घण्टा पानीमा चोपलिनुपर्ने बाध्यता । त्यसमाथि आजको धमिलो पानीमा चोपलिनुपर्दाको दिगमिग कसरी सहनु । नुहाइसक्दा पुजामा बस्ने हतार । भोकाएका बच्चालाई खुवाउन नभ्याउँदा पिरलिएको आमाको मन । भोक लाग्दा खाना छाडेर पञ्चमी पूजामा बसेका किशोरीहरूको छटपट सबै देखेको छु ।

हरेक वर्ष तीजलगत्तै पर्ने भाद्र शुक्ल पञ्चमीको दिन विशेष गरी हिन्दु महिलाहरूले पूजाआजा गरी मनाउँछन् । महिनावारी भएका बेला जानीनजानी ‘छाइछुइ’ भएको रहेछ भने ‘पाप’ लाग्छ र यस्तो ‘पाप पखाल्न’ रजस्वला सुरु भएका किशोरीदेखि महिलाहरूले यो दिन सप्तऋषि आदिको पूजा लगाउनुपर्ने धारणा छ ।

आजकै दिन दतिवन, माटोलगायतले ३ सय ६५ पटक नुहाएपछि वर्षैभरिको पापबाट माथि उठिन्छ भन्ने विश्वासको कुनै आधार देख्दिनँ म । र त आमाहरूको नजरमा अबुझ हुँदै आएको छु । यसको औचित्य के छ ? अभियन्ताहरूबाट वैज्ञानिक ढङ्गले विश्लेषण जरुरी छ । यस्ता विश्लेषण केही हदसम्म सुरु भइसकेको छ । महिनावारीलाई पाप ठानेर ‘चोखिने र चोख्याउने’ मान्यताका साथ पूजाआजा गर्नु र गराउनु गलत अभ्यास हो । जीवविज्ञानको आधारमा महिनावारी हुनु शारीरिक प्रक्रिया मात्रै हो । यसबारे गलत धारणाकै कारण महिनावारीलाई मर्यादीत बनाउन सकिएको छैन । महिनावारीलाई पापको रूपमा मौन रहेर स्वीकार गर्ने परीपाटी नै गलत छ ।

महिनावारी जहाँबाट मानवको जीवन सुरु हुन्छ, यो कसरी पाप हो ? अभियन्ता राधा पौडेल भन्छिन्, ‘मर्यादित महिनावारी एकदमै बृहत् अवधारणा हो । यसले महिनावारीमा विभेद हुनु भनेको मानव अधिकारको हनन हुनु हो । महिनावारी विभेदलाई महिला हिंसाभित्र राख्नुपर्छ । महिनावारीको विषय महिलासँग मात्रै जोडिएको हुँदैन । यो सामाजिक, आर्थिक, राजनीतिक र वातावरणीय पक्षसँग पनि जोडिएको हुन्छ । तर, यस विषयमा बिरलै छलफल हुन्छन् । यसको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव छ । नेपालमा भइरहेको बलात्कार र हिंसाको मूल जरो महिनावारी विभेद हो ।’

महिनावारी हुँदैमा पूजाआजामा सहभागी हुन नपाउनु ऊमाथिको अमर्यादित व्यवहार हो । अन्य समय सरह सबै काममा सहभागी हुन पाउनु महिलाको अधिकार हो । हो, सरसफाइ आवश्यक छ । आराम र पौष्टिक आहारको आवश्यक छ । तर, यी पाटोमा चासो दिइँदैन ।

सञ्चारिका समूह नेपाल निवर्तमान अध्यक्ष पत्रकार नितु पण्डित भन्छिन्, ‘महिनावारी पाप होइन । शरीरको नियमित प्रक्रिया हो । जुन महिलाहरूसँग मात्र छ, महिला हुनुमा गर्व गरौँ ।’

सिन्धुलीकी पत्रकार विमला पाण्डे पनि महिनावारी र ऋषि पञ्चमीबारे गलत धारणा हाबी रहेको बताउँछिन् । भन्छिन्, ‘महिनावारी पाप होइन गौरव हो, आत्मसम्मानपूर्वक महिलालाई मातृत्वको अनुभूति गर्न नदिन पापका रूपमा महिनावारीलाई लिइयो । यदि पुरुष महिनावारी हुन्थे भने पाप पखाल्ने दिनका रूपमा हैन गौरवको पर्वका रूपमा पञ्चमी पूजालाई लिइन्थ्यो । महिनावारी हुनु पाप होइन । प्रकृतिले दिएको वरदान हो ।’ पञ्चमी पूजालाई गौरवको पर्वका रूपमा मनाउन उनको आग्रह छ ।

यस्तै धारणा लेखक सीमा आभासको पनि छ । रजस्वला भइसकेका स्त्रीले रजस्वलालाई पूजा गर्ने दिनको रूपमा मनाउनुपर्ने उनी बताउँछिन् । ‘यदि पञ्चमीको कथा गतिलो हुने हो भने यो दिन उत्सबको दिन हुने थियो,’ उनले भनिन् ‘तर, पञ्चमीको कथामा ‘ब्रम्हघातिनी’, ‘कुकुर्नी’, ‘धोविनी’ हुनेछ भनेकै कारण यो पर्व गौरव बन्न सकेन ।’ पञ्चमीलाई लक्षित महिनावारीको महत्वबारे चर्चा गरिएको एउटा गतिलो कथाको आवश्यकता रहेको उनी बताउँछिन् । ‘महिनावारीको महत्वबारे कथा सुन्ने दिनको रूपमा यस दिनलाई मनाउन पाए कति मजा आउँथ्यो होला,’ आभासले भनिन् ।

चितवनकी पत्रकार प्रतिमा सिलवाल पनि महिनावारीको सवालमा अविश्वास अचम्मले गढेर बसेको टिप्पणी गर्छिन् । ‘महिला सन्तान जन्माउन योग्य रहेको अभुतपूर्व जनाउ दिने प्राकृतिक प्रक्रिया  महिनावारीलाई ‘पाप’ ठान्ने अविश्वास आजको पुस्तामा पनि पाउँदा उदेक लाग्छ,’ उनले भनिन्, ‘महिनावारी विभेद कानुनले अपराध मानिसकेको छ । म पनि यसलाई अविश्वास र अपराध ठान्छु, त्यसैले, ऋषिपञ्चमी मान्दिनँ ।’

अचम्मै त के छ भने समाज परिवर्तनका लागि अघि देखिएका नेतृत्व तहका महिलासमेत महिनावारीलाई पापको रूपमा स्वीकार्दै पञ्चमी नुहाउन खोलामा गए । महिनावारी हुँदा पाप होइन भन्दै बेवास्ता गरे पनि समाजको अघि नुहाउँदिन भन्न नसकेर सहभागी भएको एक नेतृले बताइन् ।

‘म महिनावारी खासै बार्दिनँ, तर समाजका मान्छेहरूको भावनामा चोट पुग्ला भनेर सहभागी भएँ,’ उनले भनिन्, ‘समाजमा चेतना फैलाउनै बाँकी छ । तपाईंले नुहाएको गलत छ, म नुहाउँदिनँ भन्दा भोलि उहाँहरूले मेरो कुरा सुन्नुहुन्न । उहाँहरूलाई बिस्तारै बुझाउनु जरुरी छ । उहाँहरूकै समाजमा भिजेर मात्रै यस्तो कुरा बुझाउन सम्भव हुन्छ ।’ तर, उहाँको तर्कमा पनि खासै दम देखिनँ मैले ।

आफूले नबार्दा, केही नभएको उदाहरण दिएर पनि हामीले समाजमा परिर्वतन ल्याउन सक्छौँ । धर्म संस्कृति भनेको आत्मसन्तुष्टिको कुरा हो । व्यक्ति जो जेमा खुसी हुन्छ, सन्तुष्टि प्राप्त गर्छ, त्यसलाई चाँडो छाड्न मनले मान्दैन पनि । बस् गलत अभ्यासलाई यो कारण गलत हो भनेर बुझाउनु जरुरी छ । यसको लागि गलत यो हो भन्नुसँगै सही यो हो भन्नु पनि जरुरी छ । त्यसैले महिनावारीको गलत धारणालाई हटाउन सही धारणाको व्यापक चर्चा र बहस जरुरी छ । वैज्ञानिक र जैविक कोणले महिनावारी कुनै पनि हालतमा पाप हैन । हरेक जैविक प्राणी प्रजननका लागि तयार हुँदा परिपक्वताको यो खुड्किलाहरूमा आइपुग्छन, र प्रजनन समयभर यो रहन्छ । जस्तो कि महिलाको प्रजनन क्षमता रहदाभर महिला हर महिना महिनावारी हुन्छिन् यो कुन नौलो कुरा हो र ?

यसबारे विद्यालय तथा क्याक्पस तहमा पनि बुझाइलाई फराकिलो बनाइनु पर्छ । महिनावारीलाई घरदेखि विद्यालय र कार्यलय तहसम्म मर्यादीत बनाइनु पर्छ । यसबारे परिवारमा खुलेर बहस हुनु जरुरी छ । महिनावारीकै कारण महिलाले आफूलाई कमजोर, पापीनीको रुपमा स्वीकार्न बाध्य पारीदा उ माथिको कार्यदक्षतामा समेत ह्रास आउँछ । महिनावारी महिलाको मात्रै सवाल हैन, यो स्वास्थ्य र सरसफाईको मात्रै सवाल पनि हैन । यो विभेदको चरण हो । परिवारदेखि सिनेमाको पर्दाहरूमा समेत मर्यादीत महिनावारी बारे बहस जरुरी छ । महिनावारीमा हुने छुवाछूतलाई पाप ठान्नु नै महिनावारी विभेद हो । यही सोचका कारण समाजमा विभिन्न प्रकारको विभेद उत्पन्न हुन्छ ।

‘महिनावारी शुद्ध हो’ भनेर स्कुल, कार्यालय, मन्दिरहरूको भित्तामा लेखिनु पर्छ । यसैलाई हामीले कार्यान्वनमा ल्याउन सक्नु पर्छ । यो भलै चुनौतीपूर्ण र आज को आजै लागु हुन सक्दिैन, तर हामी जटिल यात्रामा छौ भने, हतार गरेर काम बन्नेवाला पनि छैन । मर्यादीत महिनावारी बहुमुखी सवाल हो । यसलाई मर्यादासँग जोडेर अघि बढाउनु पर्छ । नारीवाद, विकासवाद र मानवअधिकारवादमा मर्यादीत महिनावारीको सवाल जोडिनु अनिवार्य छ, बुझाउनु जरुरी छ कि महिनावारीको रगत अशुद्ध हैन, हुँदै हैन ।


Author

थप समाचार
x