बैंक-वित्त

कर्पोरेट ट्याक्स

वाणिज्य बैंकहरूले तिरे १४ अर्ब ११ करोड आयकर

सबैभन्दा बढी बुझाउने एनआईसी एसिया र ग्लोबल आईएमई

इकागज |
माघ १४, २०७८ शुक्रबार १७:१८ बजे

ग्राफिक्स : यमन मानन्धर

काठमाडौँ– वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०७८–७९ को अर्धवार्षिक अवधिमा १४ अर्ब ११ करोड रुपैयाँ आयकर तिरेका छन् । बैंक तथा वित्तीय संस्था सबैभन्दा बढी संस्थागत आयकर (कर्पोरेट ट्याक्स) तिर्ने वर्गीकरणमा पर्छन् । व्यापारिक फर्मलाई २५ प्रतिशत संस्थागत आयकर लाग्छ भने बैंक तथा वित्तीय संस्थालाई ३० प्रतिशत आयकर तोकिएको छ । 

आयकर दाखिला गर्दा वर्षभरीको आयकर अनुमान गरी त्यसको ४० प्रतिशत पुस समान्तमा, ३० प्रतिशत चैतमा र बाँकी ३० प्रतिशत असार मसान्तमा बुझाउनुपर्ने प्रावधान छ । 


सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत वर्ष पुस मसान्तमा १३ अर्ब २६ करोड रुपैयाँ आयकर तिरेका थिए, यो वर्ष गत वर्षको ६ महिनाको भन्दा ८५ करोड ४१ लाख रुपैयाँ बढी आयकर तिरेका छन् । 

सबैभन्दा बढी आयकर तिर्नेमा एनआईसी एसिया बैंकले १ अर्ब २ करोड रुपैयाँ र ग्लोबल आईएमई बैंकले १ अर्ब १ करोड रुपैयाँ आयकर तिरेका छन् । 

बढी आयकर तिर्ने पहिलो पाँच बैंकमा नबिल बैंकले ९३ करोड ५१ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ८२ करोड २६ लाख रुपैयाँ र प्राइम बैंकले ७३ करोड ११ लाख रुपैयाँ आयकर तिरेका छन् । 

कम कर तिर्ने पाँच बैंकहरूमा सिभिल, एनबी, नेपाल बैंक, बैंक अफ काठमाण्डू र सेञ्चुरी बैंक रहेका छन् । सिभिल बैंकले गत वर्षको सोही अवधिको तुलनामा तिर्ने आयकर भने उल्लेख्य बढाएको छ । सिभिलले गत वर्ष पुस मसान्तमा ७ करोड ३३ लाख रुपैयाँ आयकर तिरेकोमा यो वर्ष २२ करोड ८२ लाख रुपैयाँ आयकर तिरेको छ । गत वर्षको तुलनामा नाफा घटेका केही बैंकले तिर्ने आयकर घटेको छ भने अधिकांशको बढेको छ । 

नेपाल बैंकको नाफा यस वर्ष उल्लेख्य घटेकाले बैंकले तिर्ने आयकरमा उल्लेख्य कमी आएको छ । नेपाल बैंकले गत वर्ष पुस मसान्तमा ७२ करोड ५२ लाख रुपैयाँ आयकर तिरेकोमा यो वर्ष २६ करोड ८८ लाख रुपैयाँमात्र आयकर बुझाएको छ । 
 


Author

थप समाचार
x