बैंक-वित्त

आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले

इकागज |
चैत १३, २०७९ सोमवार १४:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रु ५० हजार फिर्ता पाउन नसकेको छ महिना पूरा भयो । 

रानाले चार वर्षअघिदेखि यो सहकारीमा बचत गर्न थालेकी थिइन् । जम्मा गरेको बचतले पसलमा सामान थप्ने सोचले बचत गरेकी रानालाई अहिले त्यही पैसा पाए पनि व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने थियो । तर, आफैँले बचत गरेको थोरै रकम पनि उनले समयमा पाउन सकेकी छैनन् । 


आरक्ष सहकारीबाट बचत फिर्ता नपाउनेमा राना मात्र होइन बौद्ध, जोरपाटी क्षेत्रकै दर्जन पीडित छन् । बौद्धका राम श्रेष्ठले पनि आरक्ष सहकारीबाट रु आठ लाख बचत फिर्ता पाउनुपर्ने तर अझै पाउन सकेका छैनन् । 

 जोरपाटी क्षेत्रका अमृता श्रेष्ठ र बिना श्रेष्ठले पनि सहकारीबाट रु एक लाख हाराहारीमा रकम फिर्ता पाउन सकेका छैनन् । सहकारीले करिब पाँच वर्षअघि बौद्धमा सदस्य सेवा केन्द्र स्थापना गरेको थियो । सहकारीको मुख्य कार्यालय भने काठमाडौँ महानगरपालिका– १५ सीतापाइलामा छ ।

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि गत भदौदेखि नै कार्यालय बन्द रहेको बचतकर्ताको गुनासो छ । सहकारीको कार्यालयमा राखिएको फोनमा फोन उठ्दैन । कार्यालयमा तालाबन्दी भएको छ । सयौँ पीडितको दिनचर्या सधैं सहकारी धाउने हुन थालेको छ । बचत फिर्ता पाउँ भनी पीडितले महानगरपालिकाको सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।

 उजुरी दर्ता गराए पनि पैसा कहिले पाइन्छ भन्ने पीडितलाई पत्तो छैन । महानगरपालिका कार्य क्षेत्र भएका धेरै सहकारीले बचत फिर्ता गर्न नसकेको समाचार सार्वजनिक भएपछि स्थानीय स्तरमा सहकारी समिति पनि गठन गरिएको छ ।

महानगरपालिका–९ का अध्यक्ष रामजी भण्डारीले समिति संयोजकका रूपमा काम गरेका छन् । महानगर क्षेत्रका सहकारीको गतिविधि र अवस्था अध्ययन गरी सहकारी व्यवस्थापनका लागि कानुनी व्यवस्था गर्न लागिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । 

महानगर क्षेत्रका सहकारीमा बचत गरेका बचतकर्ताको पैसा फिर्ता गर्ने गरी समितिले स्थानीय सरकारका तर्फबाट कानुनी व्यवस्था गर्न लागेको उनले सुनाए । महानगरपालिकाले महानगर क्षेत्रका सहकारीमा बचत गरेको प्रमाणसहितको प्रतिलिपि बुझाएर सहयोग गर्न पनि बचतकर्तालाई आह्वान गरेको छ ।


Author

थप समाचार
x